बार बर्दियामा सिकल सेल एनिमिया रोगको उपचार गर्न नमूना अस्पताल बन्ने

बर्दिया । बारबर्दिया नगरपालिकामा नेपालमै पहिलो सिकल सेल एनिमिया अस्पताल बन्ने भएको छ । सिकल सेलमा बारबर्दिया मोडल नामक एक वर्षे लामो अभियानपछि उक्त नगरपालिकाले देशमै पहिलो अस्पताल यहाँ स्थापना गर्ने घोषणा गरेको हो ।

आइतबार बारबर्दिया नगरपालिकाले बारबरर्दियामा सिकलसेल पहिचान, नियन्त्रण र रोकथाम सम्बन्धी अभियान घोषणा समारोह आयोजना गरी यस्तो घोषणा गरेको हो । स्वास्थ्यमन्त्री उपेन्द्र यादवको प्र्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा नगरपालिकाले यो रोग नियन्त्रणका लागि विभिन्न कार्यक्रमको घोषणा समेत गरेको छ । जसमा समुदायमा आधारित सिकलसेल परिक्षण, समुदयमा आधारित सिकलसेल काउन्सिलिङ, नगरपालिका भित्रका विद्यालयहरुमा सिकल्सेल पाठ्यक्रम र पाठ्यपुस्तकको पठनपाठन लागू, सिकलसेल स्वस्थ्य बालकार्ड लागू, स्थानिय प्राथमिक स्वास्थ्य केन्द्रमै सिकलसेल निसुल्क उपचारको व्यवस्था लगायतका कार्यक्रम रहेका छन् ।

बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारु कविरले यो कार्यक्रम अब देशभर विस्तार हुने पनि बताएका छन् । आफ्नो नगरपालिकाले निकै ठूलो तयारीका साथ यो अभियान लागु गरेको जानकारी दिँदै उनले अब बर्दियाकै अन्य स्थानीय निकायले पनि यही मोडल लागु गर्ने बताए । उनको नगरपालिकाले राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदसँगको समन्वयमा एक वर्ष अघि नगरवासी सबैको घरमै गएर रक्त परिक्षण गर्ने अभियान सुरु गरेको थियो । करिव २५ हजार नगरवासीको रगत परिक्षण गरेर त्यसको रिपोर्ट तयार गरिएको छ । त्यसैगरी नगरपालिकाले हालका लागि कक्षा ९ र १० को स्थानीय पाठ्यक्रममा सिकल सेल एनिमिया सम्बन्धि छुट्टै पाठ्यसामाग्री बनाएर पठनपाठन समेत सुरु गरेको छ ।

समारोहमा स्वास्थ्यमन्त्री यादवले कक्षा १० मा पढाई हुने सिकल सेल पुस्तकको विमोचन पनि गरे । साथै मन्त्री यादवले सिकल सेल एनिमिया बृतचित्रको पनि विमेचन गरे । त्यस्तै उनले सिकल सेल स्वास्थ्य बालकार्डको उद्घाटन गरे । समारोहमा एक वर्ष लगाएर गरिएको रगत परीक्षणको प्रतिवेदन पनि मन्त्रीलाई हस्तान्तरण गरिएको थियो ।

समारोहमा सिकलसेल रोगी निष्ठा दहितले यो रोगका कारण र त्यसले आफ्नो पढाईमा पारेको असरका बारेमा पीडा सुनाएकी थिइन ।

बारबर्दिया नगरपालिकाले २०७५ चैत ९ गतेदेखि यो अभियान सुरु गरेको थियाे । एक वर्ष लगाएर यस नगरपालिकाभित्र बसोवास गर्ने २४ हजार भन्दा बढीको रगत परिक्षण गरिएको छ । यो अभियान अन्तर्गत नगरपालिकाभित्र रहेका १ वर्षदेखि २९ वर्ष उमेर समूहका व्यक्तिहरुको रगत परिक्षा गरिएको थियो । रगत परिक्षणपछि अब दोस्रो चरणमा सामुदायिक काउन्सिलिङ अभियान पनि चलाउने नगरप्रमुख थारुले जानकारी दिए । नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट विज्ञ टोली नै लगेर घरघरमा पठाइएको उनले बताए ।

यसभन्दा अघि लामो समयसम्म थारु समुदायका मात्र यो रोग लाग्ने थाहा भइसकेको थिएन । अहिले पनि मानिसहरु उपचारका लागि कहिले नेपालगञ्ज, काठमाडौं, भारतको लखनउ, दिल्ली धाउनुपर्ने अवस्था छ । त्यति ठाउँमा जाँदा पनि सुरु सुरुमा रोग नै पत्ता लाग्ने गरेको थिएन । लामो समय उपचार गर्दा पनि रोग पत्ता नलागेका कारण थारु समुदायका सिकल सेल एनिमियाबाट पीडित व्यक्तिहरुले लाखौ रकम खर्च गर्नुपर्ने अवस्था थियो । अहिले नगरपालिकाले घरघरमै विज्ञहरुको टोली लगिदिएपछि नगरवासीहरु निकै खुसी भएका छन् ।

नेपालका तराईका २० जिल्लामा थारु समुदायको बसोवास रहेको छ । राष्ट्रिय जनगणना अनुसार नेपालमा थारु समुदायको जनसंख्या १८ लाख जति छ । कुनै बेला यस क्षेत्रमा मलेरियाको ठूलो प्रभाव रहेको थियो । मलेरियासँग लडेर ४०/५० पुस्तादेखि निरन्तर बसोबास गरेका थारु समुदायको जीनमा मलेरियासँग लड्दा लड्दै नयाँ परिवर्तन आएको र जीनमा आएको नयाँ परिवर्तनले ‘सिकल सेल एनिमिया’ हुन पुगेको विज्ञहरुको भनाई छ । सिकल सेल एनिमिया भएका विरामीबाट उनीहरुका सन्तानहरुमा वंशाणुगत रुपमा सर्दै जाँदा यो अवस्था आएको हो । यदि आमा र बुवा दुबै जनालाई सिकल सेल एनिमिया रोग लागेको खण्डमा बच्चामा यो रोग हुने पक्का हुन्छ ।

विज्ञहरुका अनुसार यो वंशाणुगत रुपमा सर्ने रक्तअल्पता सम्बन्धी रोग हो । स्वस्थ मानिसको शरिरमा हुने रक्तकोष गोलो हुन्छ तर सिकल सेल एनिमियाका विरामीहरुको रक्तकोष हसिया आकारको हुन्छ । रक्तकोषको आयु सामान्यतया १२० दिन हुन्छ । तर, गोलो हुनुपर्ने रक्तकोष हसिया आकारको हुने र त्यो रगतमा दौडन नसक्ने हुँदा त्यस्ता विरामीका रक्तकोषहरु २०-२२ दिनमै मर्छन । अनि शरीरका अंगहरुमा अक्सिजन र न्यूट्रेसन पुग्दैन र त्यहाँको तन्तु मर्छ । त्यसपछि मांसपेसी, जोनी र छाती दुख्ने समस्या देखिन थाल्छ ।

सिकल सेल एनिमिया रोगका रोगीहरुमा देखिने प्रमुख समस्या भनेको शरिरमा रगतको कमी हुनु हो । साथै कुनै सामान्य संक्रमण हुँदा पनि अन्य विरामीको तुलनामा बढी असर देखिने गर्दछ । समयमै उपचार नपाए विरामीकाृ मृत्युसम्म हुनसक्छ । यो रोगका कारण थारु समुदायमा थुप्रैको कलिलो उमेरमै मृत्यु भएको छ । बाँचुन्जेल उपचार गरिरहनुपर्ने अवस्था पनि छ । जसले गर्दा सिकल सेल एनिमिया रोग थारु समुदायका लागि खतरा बनेको छ ।

Loading...