बानेश्वरस्थित संसद भवनमा विप्लवको प्रवेश, तालीदेखि हासोको फोहोरासम्म

काठमाडौं । बानेश्वरस्थित संसद भवनमा विप्लवको विषयले प्रवेश पाएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आह्वान गरेको बन्दका कारण प्रदेश नम्बर २ को प्रदेश सभा स्थगित भएपनि संघीय प्रतिनिधिसभा बैठकमा भनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेश बस्नेतले ट्राफिक जामका कारण आफू आउन ढिला भएको बताएका छन ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै भक्तपुर-२ बाट निर्वाचित सांसद बस्नेतले आफूलाइ विप्लवको बन्दको दिन पनि कोटेश्वरको जामले नछोडेको बताउँदै बिप्लवको बन्द जनताले अस्वीकृत गरिदिएको जिकिर गरे ।

‘म आज दस मिनेट ढिला आएँ, कोटेश्वरको जाम अन्य दिनभन्दा बढी थियो’, बस्नेतले भने ।

बस्नेतले उक्त कुरा बताइरहँदा सत्तापक्षका सांसदले ताली बजाएर सही थापे पछि प्रतिपक्षका सांसद पार्वती डिसी चौधरीले आफू पनि भक्तपुर बालकोट बस्ने गरेको तर पाँच मिनेटमै बालकोटबाट बानेश्वरस्थित संसद भवन आइपुगेको बताउँदै बस्नेतप्रति व्यङ्ग्य गरेकी थिइन् ।

त्यसैगरी अर्की कांग्रेस सांसद रंगमती शाहीले आफू वनस्थलीबाट बानेश्वर आइपुग्न १ घण्टा लाग्नेमा आज २० मिनेटमा आइपुगेको भन्दै, वनस्थली रुटका सबै गाडी कोटेश्वर गएका रहेछन् र पो जाम नभएको रहेछ भनेर सांसद बस्नेतमाथि व्यङ्ग्य गरेकी थिइन् ।’ शाहीको व्यङ्ग्य सुनेपछि संसदमा हाँसोको फोहोरा नै फैलिएको थियो ।

Loading...