आज मेरा दुश्मनहरूको पनि शान भयो
जब आफ्नै सपनाहरूको अवसान भयो ।।
मलाई शंका त त्यो बेलादेखी लागेको हो
जब सर्पबाटै गरूडहरूको बखान भयो । ।
घाँटी रेटिसकेर आज उस्ले मलाई भन्यो
सरी ! मित्र म बाट गल्ति अन्जान भयो ।।
अचेल छोरी आँगनमै जान पनि डराउछिन
जब घरछेउमै बलत्कारीको सम्मान भयो ।।
म सत्यलाई जहिल्यै सत्य हुनुपर्छ भन्छु
तर जसरी नि जित्नैपर्ने तिम्रो अडान भयो ।।
आज मेरा दुश्मनहरूको पनि शान भयो
जब आफ्नै सपनाहरूको अवसान भयो ।।
।।।।।।।।।।।।।।।।।।।।।
यो जिन्दगी कठिन कठिन छ
बिताउन रात दिन कठिन छ ।।
खोई कति सकिएला पर्खिन
यहाँ त हरेक छिन कठिन छ ।।
लाग्छ लोप हुँ डाईनोसर झै
हुनु अस्तित्व हिन कठिन छ ।।
क्षितिज हेर्छु र फिस्स हाँस्छु
सक्दैन गर्न एकिन कठिन छ ।।
मन उड्छ चन्चल हुँदै गगनमा
खोज्छु राख्न अधिन कठिन छ ।।
यो जिन्दगी कठिन कठिन छ
हुनु अस्तित्व हिन कठिन छ ।।
।।।।।।।।।।।
आफु जन्मि हुर्किएको गाँउ सम्झि गजल लेखे
स्वर्गभन्दा पनि सुन्दर ठाँउ सम्झि गजल लेखे ।।
सधैसधै याद आउने अतित अनि वालापनको
स्मृति भई बल्झिरहने घाउ सम्झि गजल लेखे ।।
काले आइजा खेलौ भन्थ्यो स्कुलपछि धनेले नि
साथी भाईले बोलाउने नाँउ सम्झि गजल लेखे ।।
बाउआमाको आँखा छल्दै करेसामा निस्किएर
जुत्ता नलाई दौडिएको पाउ सम्झि गजल लेखे ।।
एकरूप्पेको मिठाई पनि बाँडि खान्थ्यौ सबैजना
कति सस्तो जमाना त्यो भाउ सम्झि गजल लेखे ।।
घरको चामल चोरेर नि बेच्ने गर्थ्यौ पसलमा गई
चामलसंग बिस्कुट साट्ने साहु सम्झि गजल लेखे ।।
हात समाउदै र डोर्याउदै अर्ती दिंदै सत्कर्मको
ज्ञान र विवेक सिकाउने बाउ सम्झि गजल लेखे ।।
जिद्दी छस तँ चकचके छस राउटेलाई लैजा भन्छु
भन्दै आमाले हप्काएको हाँउ सम्झि गजल लेखे ।।
डाँडा वेसी खोला खोल्सा अनि आफ्नै रनवनमा
गोठालो भई डुलिएको ठाँउ सम्झि गजल लेखे ।।
याद आयो वालापनको साथि अनि आफन्तको
म जन्मेको धुलो माटो गाँउ सम्झि गजल लेखे ।।
।।।।।।।।
जब शरीरबाट आफ्नै मन हरायो
त्यही मनसंगै आफ्नोपन हरायो ।।
आकाश छुन दौडिए क्षितिजतिर
म हुर्केको आफ्नै आँगन हरायो ।।
छुट्याउन नसक्दा काग र कोईली
चोर र साधुको उदाहरण हरायो ।।
बोली उही छ बोल्ने पनि उहीँ छ
हिजो उसले बोलेको वचन हरायो ।।
जब शरीरबाट आफ्नै मन हरायो
त्यही मनसंगै आफ्नोपन हरायो ।।