ज्ञानद्वारा संचालित परियोजनाको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

ग्लोबल एक्सन नेपाल (ज्ञान) ले शंखरापुर नगरपालिकामा संचालन गरेको परियोजनाको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । शिक्षा तथा बालसंरक्षणमा सामुदायिक सहभागिता (सिपिइसिपि) परियोजनाको शुक्रवार सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

करीव साढे ३ करोडको लागतमा सन् २०१६ देखि संचालित उक्त परियोजना शंखरापुर नगरपालिकामा बालमैत्री शिक्षाको विकाश गर्दै इसीडी र आधारभूत शिक्षालाई गुणस्तरीय गर्नतर्फ लक्षित रहेको र त्यसको लागि ४ वटा वडाका १४ विद्यालय, २ सामुदाायिक अध्ययन केन्द्रमा विविध गतिविधि मार्फत योगदान गरिएको परियोजना प्रमुख विनोद भट्टले बताए । भौतिक संरचना निर्माणदेखि, शिक्षक तालीम र सिकाइ सुधारका पक्षमा परियोजनाले गरेको कार्य समेटेर उक्त अवसरमा परियोजनाले सार्वजनिक गरेको कार्यप्रगति विवरण र समग्र प्रगतिप्रति सरोकारवालाहरुले आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

सरोकारवाला विद्यालयका प्रअ तथा शिक्षकहरु, बालक्लबका सदस्यहरु, अभिभावकहरु, सामुदाायिक अध्ययन केन्द्रका प्रतिनिधि र शिक्षा सरोकारवालाहरुको उल्लेख्य उपस्थितिमा संचालित परियोजनाको सामाजिक परिक्षण कार्यक्रममा सरोकारवालाहरुले परियोजनाको खुलेर प्रशंसा गरेका थिए । ” सरकारले विद्यालयमा गर्नुपर्ने काम गैरसरकारी सस्थाले गरिदिदा सिकाइमा सकारात्मक परिवर्तन आएको छ ।” बैरमहादेव आधारभुत विद्यालयका प्रअ राघव झाले बताए । त्यसैगरी बालज्योति विद्यालयका प्रअ सिताराम ढुंगानाले आफ्नो लामो शिक्षण जीवनमा परियोजनाले ठुलो परिवर्तन ल्याएको दावी गरे । ”परियोजना आउनु पहिले हामी कहिल्यै परीक्षाका कापी विद्यार्थीलाई देखाउदैन थियौ , अहिले हामी विद्यार्थीलाई बोलाइबोलाइ उसका गल्ती सच्याउन उत्प्रेरित गर्छौ ।” उनले भने ।

कार्यक्रममा नवीनग्रामका शिक्षक मेघनाथ दंगालले परियोजनाका कारण इ-क्लास गर्न सकिएको जानकारी गराएका थिए भने विद्यार्थी प्रतिनिधि आरती दंगालले दीवा खाजाको व्यवस्थाले भोको पेट पढ्नुपर्ने अवस्था अन्त्य भएकोमा खुशी व्यक्त गरेकी थिइन् । परियोजनाले टिफिन बक्स बाडेर दीवा खाजाको महत्व बताइदिएको उनको भनाइ थियो । परियोजनाले खेल सामाग्री उपलब्ध गरादिएकोमा पनि उनले खुशी व्यक्त गरिन् । अर्का बाल्चरी बालक्लबका विद्यार्थी प्रतिनिधि सुवोध आचार्यले परियोजनाले बालक्लब गठन गरेपछि आफूहरुले धेरै कुरा सिक्न, सिकाउन र सिकाइप्रति जागरुक गराउन सफल भएको जिकिर गर्दै भित्ते पत्रिका प्रकाशन, सरसफाई, विभिन्न प्रतियोगिताको आयोजना आदि मार्फत सक्रियता बढाइएको बताए ।

उक्त अवसरमा नाङ्ग्लेभारे सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष चेतनाथ दंगाल र जनकल्याण सामुदायिक अध्ययन केन्द्रका गोविन्द ओझाले झोलामा रहेको सामुदायिक अध्ययन केन्द्रलाई भवन बनाइदिएर गतिशील गराइदिएको भन्दै प्ररियोजनाप्रति आभार प्रकट गरेका थिए । अधिकांस बक्ताहरुले शैक्षिक गतिविधिमा सरकारी निकायले निरास बनाउने गरेकोमा ज्ञानले उत्साहित गराएको प्रति सन्तोष व्यक्त गर्नुकासाथै परियोजनाबाट प्राप्त उपलब्धिहरुको निरन्तरताको प्रतिबद्धता समेत प्रकट गरेका थिए भने केहि बक्ताहरुले भने परियोजनाबाट प्राप्त उपलब्धिहरुको कार्यन्वयनमा कडा हुनुपर्नेमा जोड दिए । सिकाइ उपलब्धि हासिल गर्न परियोजनाले प्रयास गरेको भएता पनि शिक्षकको तत्परता बेगर कार्यान्वन हुन नसक्ने जिकिर गर्दै चागुबोट आधारभुत विद्यालयका अभिभावक नवराज गेलालले अझै पनि विद्यालयका प्रअ र शिक्षकहरु नै आफ्ना छोराछोरी निजी विद्यालयमा पढाइरहेकाप्रति गुनासो गरेका थिए । केहि वक्ताहरुले परियोजनालाई प्रभावकारी मोनिटरिङ्ग र पृष्ठपोषणका लागि सुझाव दिएका थिए ।

परियोजनालाई प्रभावकारी मोनिटरिङ्ग र पृष्ठपोषणका लागि सुझाव दिइएको भएता पनि परियोजनाबारे नकारात्मक कुरा नआउनु यसको सफलता भएको भन्दै कार्यक्रममा ज्ञानका बोर्ड मेम्बर सुवर्ण कर्माचार्यले सन्तोष व्यक्त गरेका थिए । शंकरापुर नगरपालिकाको जहरसिंह पौवास्थित जनकल्याण सामुदायिक अध्ययन केन्द्रको सभाहलमा संचालित परियोजनाको सामाजिक परिक्षण कार्यक्रम संचालन स्वतन्त्र सहजकर्ता शिक्षा पत्रकार संजीप शुभचिन्तक र सामाजिक सेवा विज्ञ बुद्धिमान तामाङ्गले गरेका थिए ।

परियोजनाले सामाजिक परिक्षण कार्यक्रममा सहभागी हुनु अघि शुक्रवार बिहान परियोजना सल्लाहकार समितिको सभा समेत सम्पन्न गरेको थियो । शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ, उपमेयर शुक्रलक्ष्मी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत प्रमोद सिंखडा, शिक्षाका उपसचिव बौद्धराज निरौला, वडा अध्यक्षहरु लगायतको उपस्थितिमा परियोजनाको नियमित कार्यक्रम अन्तर्गत नगरस्तरीय सल्लाहकार समितिको बैठक बसेको परियोजना प्रमुख विनोद भट्टले बताए ।

Loading...