केजरीवालमाथि हानियो थप्पड, भारतमा बढ्यो थप्पड संस्कृति

काठमाडाै । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री तथा आमआदमी पार्टीका संयोजक अरविन्द केजरीवाललाई थप्पड हानिएको छ । शनिवार भएको एक सडक प्रदर्शनका क्रममा एक व्यक्तिले उनलाई थप्पड हानेका हुन् ।

पश्चिम दिल्लीको मोतीनगर इलाकामा आमआदमी पार्टीका उम्मेदवार बलबरि सिंह जाखडका साथमा प्रचार प्रसार गरिरहेका केजरीवालमाथि यस्तो आक्रमण भएको हो ।

केजरीवाल चुनाव प्रचारप्रसारका लागि सडकमा एउटा खुल्ला जीपमा सवार भएका थिए । त्यहीबेला टीशर्ट लगाएका एक व्यक्तिले जीपको वोनटमा चढेर उनलाई थप्पड हानेका हुन् । केजरीवालमाथि भएको आक्रमणलाई भारतको केन्द्रीय सरकारको नेतृत्व गरिरहेको पार्टी भाजपासँग जोडेर व्यापक विरोध भएको छ ।

आम आदमी पार्टीले केजरीवालमाथि भएको यो आक्रमणलाई भारतीय जनता पार्टीको षडयन्त्र भएको आरोप लगाएको छ । आफ्नो ट्वीटरमा लेख्दै आम आदमी पार्टीले भनेको छ, “यो अरविन्द केजरीवालमाथिको हमला होइन । यो दिल्ली र जनमतमाथिकै हमला हो । दिल्लीका मानिस विजेपीलाई १२ मे मा यसको मुखतोडेर जवाफ दिनेछन् ।” मे १२ मा दिल्लीमा लोकसभाको चुनावका लागि मतदान हुँदैछ ।

केजरीवाल सरकारका एक मन्त्री मनीष सिसोदियाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाका अध्यक्ष अमित शाह केजरीवाललाई हत्या गराउन चाहेको आरोप लगाएका छन् ।

त्यसैगरी आम आदमी पार्टीका नेता संजय सिंहले एक भिडियो सन्देश जारी गर्दै केन्द्र सरकारमाथि मुख्यमन्त्री केजरीवालको सुरक्षामा लापरवाही गरेको आरोप लगाएका छन् । उनले मोदी सरकार केजरीलाई हत्या गराउन चाहेको आरोप लगाएका छन् । उनले मोदी सरकार केजरीवालमाथि कसैले गोली चलाएको हेर्न पर्खेर बसेको आरोप लगाएका छन् ।

केजरीवालमाथि भएको आक्रमणको भारतको अन्य राज्यका मुख्यमन्त्रीहरुले पनि विरोध जनाएका छन् । आन्ध्रप्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुले समेत विरोध गरेका छन् । उनले यो घटना भाजपाको निराशा र हारको संकेत भएको दावी गरेका छन् ।

त्यसैगरी पश्चिम बंगालकी मुख्यमन्त्री तथा तृणमूल कांग्रेसकी प्रमुख ममता बनर्जीले पनि यसको कडा विरोध गरेकी छन् । उनले यो राजनीतिक गुण्डागर्दी र राजनीतिक बदला भएको बताएकी छन् । उनले भाजपाले विपक्षी नेताहरुलाई निन्दा गर्ने, उनीहरुमाथि हमला गर्ने गरेर चुनाव हार्न लागेको संकेत गरेको बताएकी छन् ।

लोकसभा निर्वाचन २०१९ मा आम आदमी पार्टीका पूर्वी दिल्लीका उम्मेदवार आतिशीले विजेपी कि कुन हद तक गिर्न सक्छ भन्ने कुराको यो संकेत भएको बताएका छन् । उनले २०१५ को चुनाव पहिले पनि केजरीवालमाथि भाजपाले यस्तो हर्कत गरेको आरोप लगाएका छन् । साथै उनले २०१५ मा आपले ७० वटा सिटमध्ये ६७ वटा सिट जितेको उल्लेख गर्दै अहिले पनि लोकसभाका सातवटा सिटमध्ये सात वटामै आम आदमी पार्टीले जित्न लागेपछि भाजपा आत्तिएर यस्तो प्रचारमा उत्रिएको आरोप लगाएका छन् ।

केजरीवालमाथि गरिएको आक्रमण लगत्तै आम आदमी पार्टीका कार्यकर्ता र समर्थकले आक्रमणकारीलाई पकडेर दिल्ली पुलिसलाई बुझाएका छन् ।

केजरीवालमाथि यसअघि पनि भएको थियो पटक पटक आक्रमण

केजरीवालमाथि भएको यो आक्रमण पहिलो होइन । यसअघि पनि उनीमाथि कहिले खुर्सानी फ्याक्ने, जुता उचालेर हान्ने र थप्पड हान्ने कार्य भएका थिए ।

नोभेम्वर २०१८ मा एक युवकले आफ्नाे समस्यालाई लिएर मुख्यमन्त्री केजरीवाललाई भेटन गएका थिए र भेटेपछि उनीमाथि खुर्सानीको धुलो फ्याकेका थिए । यस दौरान केजरीवालको चस्मा समेत फुटेको थियो ।

त्यस्तै २०१४ मा लोकसभाको चुनावका बेला एक अटो चालकले उनलाई थप्पड मारेका थिए । ती अटो चालक माला पहिराउनका लागि आएका थिए र त्यही बेला उनले थप्पड मारेका थिए ।

फेब्रुअरी २०१६ पंजावका लुधियानामा केजरीवालको कारमाथि फलामको रड र अन्डा फ्याकेर आक्रमण गरिएको थियो । त्यसबेला उनको कारको शिशाहरु फुटेका थिए ।

दिल्लीको छत्रसाल स्टेडियममा भएको एक सभाका क्रममा एक महिलाले उनीमाथि मसी फ्याकेर आक्रमण गरेकी थिइन । दिल्ली सचिवालयमा अप्रिल २०१६ मा एक संवाददाता सम्मेलनका दौरान उनीतर्फ जुता उठाएर विरोध गरिएको थियो ।

केही समय पहिले गुजरातमा कांग्रेसका युवा नेता हार्दिक पट्टेलमाथि पनि भाषण गरिरहेका बेला एक व्यक्तिले मञ्चमै चढेर चडकन हानेका थिए । त्यसको केही समय अघि भारतीय जनता पार्टीका प्रवक्तालाई जुत्ता फ्याँकेर आक्रमण गरिएको थियो । भारतमा पछिल्लो समय नेताहरुलाइ चड्कन हान्ने र आक्रमण गर्ने संस्कार बढेको छ ।

Loading...