काभ्रेको काफ्लेडाँडाबाट विप्लवका चार नेता पक्राउ

काठमाडौं, ६ चैत । मंगलबार राती काभ्रेको काफ्लेडाँडाबाट प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेपाल कम्युनिस्ट पार्टीका चार जना कार्यकर्तालाई पक्राउ गरेको छ ।

गएराती काभ्रेको रोशी गाउँपालिका अन्तर्गत काफ्लेडाँडामा गोली चलेको खबर आएको थियो । दुबै पक्षबीच गोली हानाहान भएको भन्ने समाचार आए पनि त्यसबारे केही थाहा नभएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । तर, सो ठाउँबाट चार जना नेता कार्यकर्ता भने पक्राउ परेको भने बुझिएको छ । पक्राउ पर्नेमा झापाका शिव धिताल, दाङका नृपबहादुर विक, भोजपुरका डिकेन्द्र राई र सिन्धुपाल्चोकका विशाल तामाङ रहेको बताइएको छ । प्रहरीले उनीहरु हतियारसहित रहेको दावी गरे पनि उनीहरुको साथबाट कुनै हतियार फेला नपरेको बताइएको छ । उनीहरुलाई काठमाडौंबाट महानगरीय अपराध अनुसन्धान महाशाखा महाशाखाका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौर नेतृत्वको टोलीले पक्राउ गरेको बताइएको छ । पक्राउ परेका चारै जनालाइ जिल्ला प्रहरी कार्यालय काठमाडाैकाे टेकुस्थित हिरासतमा राखिएकाे बुझिएकाे छ । 

काफ्लेडाँडामा नेकपाका कार्यकर्ताहरु रहेको सूचनाका आधारमा प्रहरीको विशेष टोली त्यहाँ पुगेर सर्च अभियान चलाएको बुझिएको छ । सोही क्रममा चार जना पक्राउ परेका हुन् । प्रहरीले पक्राउ परेकाहरु नेकपाले गठन गरेको विशेष टीमका कमाण्डरहरु रहेको दावी गरेको छ ।

सरकारले फागुन २८ गते नेकपामाथि प्रतिबन्ध लगाएर देशभर सो पार्टीका नेताकार्यकर्तामाथि विशेष निगरानी राख्न सर्कुलर जारी गरेको छ । यसक्रममा पाटीका पोलिटब्यूरो सदस्य मोेहन कार्की जिवन्तसहित करिव तीन दर्जन बढी नेता कार्यकर्ता पक्राउ परिसकेका छन् ।

Loading...