निर्मला हत्या प्रकरणमा फरार रहेका पूर्वएसपी विष्टले गरे अदालतसामु आत्मसमर्पण

कञ्चनपुर । निर्मला पन्त बलात्कारपछि हत्याकाण्डको प्रमाण नष्ट गरेको अभियोग लागेका पूर्वएसपी डिल्लीराज विष्टले अदालत समक्ष आत्मसमर्पण गरेका छन्।

कञ्चनपुरको भिमदत्त नगरपालिकाकी निर्मला त्यही नगरको उल्टाखाम भन्ने ठाउँमा मृतअवस्थामा भेटिएपछि भएको अनुसन्धानका क्रममा प्रमाण नष्ट भएको थियो।

विष्ट त्यतिबेला कञ्चनपुरका प्रहरी प्रमुख थिए। नेपाल प्रहरीले उनी लगायत ८ जनालाई प्रमाण नष्ट गरेको अभियोग लगाउँदै अदालतमा मुद्दा दायर गरेको थियो। मुद्दा लगेपछि उनी फरार थिए। आज भने उनी जिल्ला अदालत कञ्चनपुरमा बयानका लागि उपस्थित भएका छन्।

‘उहाँ आज उपस्थित हुने निवेदन लिएर आउनुभएको छ। एकछिनमा बयान सुरू हुन्छ,’ जिल्ला अदालत कञ्चनपुरका श्रेष्तेदार हरिकृष्ण अवस्थीले भने। केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक अङ्गुर जिसी भने हालसम्म फरार रहेको जिल्ला अदालतले जनाएको छ।

न्यायाधीश राजेन्द्र आचार्यको इजलासमा उनको थुनछेक बयान हुनेछ। बयान सकिए बहस सुरू हुनेछ। बहस पनि सकियो भने उनलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने कि धरौटी वा तारेखमा छोड्ने निर्णय अदालतले गर्ने छ। आज बयान र बहस सकिए आज नभए भोलिसम्ममा उनलाई थुनामा पठाउने वा तारेखमा छोड्ने निर्णय हुन सक्ने श्रेष्तेदार अवस्थीले जानकारी दिए।

निर्मला पन्त हत्या प्रकरणका अन्य छ जना आरोपी भने धरौटीमा छुटेका छन्। गत फागुन ३० गते जिल्ला अदालत कञ्चनपुरका न्यायधीश राजेन्द्रकुमार आचार्यको एकल इजलासले तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टरद्वय एकेन्द्र खड्का र जगदीशप्रसाद भट्ट, सईद्वय हरिसिंह धामी, रामसिंह धामी तथा जवान चाँदनी साउदलाई धरौटीमा छाड्ने आदेश दिएको हो।

यसैबीच निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणले नयाँ मोड लिएको छ । आमा दुर्गादेवीले यसअघि प्रमाण नपुगेर छुटेका दिलिपसिंह बिस्टलाई फेरि पक्राउ गर्न आग्रह गरेकी छन् । विष्टले नै आफ्नी छोरीको हत्या गरेको दुर्गादेवीको शंका छ ।

न्यायनिसाफका लागि प्रहरीसँग मुठभेडसमेत गर्दै र आन्दोलनमा दर्बिलो साथ दिँदै आएका स्थानीय मानवअधिकारकर्मीहरुको समेत दूर्गादेवीले आलोचना गर्न थालेकी छिन् । साथै, अनुसन्धानमा लापरवाही गरेको आरोप लागेका एसपी डिल्लीराज विष्टको पक्षमा दूर्गादेवी उभिएकी छिन् ।

सुरुवातमा उनले विष्ट निर्दोष रहेको बताउने गरेकी थिइन् । तर, विष्टले हिरासतमा परेका बेला प्रहरीलाई दिएको साविति वयानको भिडियो हेरेपछि आफू यस्तो निष्कर्षमा पुगेको दूर्गादेवीको तर्क छ ।

उनले बयानको भिडियो आफूलाई कसैले नदेखाएको र केही दिन अगाडि मात्रै भिडियो हेरेको बताएकी छन् । साथै, उनले भिडियोमा विष्टले बताएका घटना विवरण सबै सत्य रहेको दाबी गरेकी छन् । दुर्गादेवी विष्टका विरुद्ध किटानी जाहेरी दिने सोचमा उनी पुगेकी छन् ।

‘दिलिपसिंह बिष्टले प्रहरीसँग अपराध स्वीकारेको सुनेकी थिएँ, तर प्रहरीले दबाव दिएर कबुल गर्न लगायो होला भन्ने लागेको थियो,’ निर्मलाकी आमा दुर्गादेवीले भनिन्, ‘वयानको भिडियो मलाई कसैले देखाएका थिएनन् । केही दिन अगाडि मात्रै भिडियो हेरेँ । भिडियोमा उसले बताएका घटना विवरण सबै सत्य छन् । कसैले सिकाएर वा धम्क्याएर बोल्न लगाएको जस्तो पटक्कै लागेन । उसैले मेरी छोरीको हत्या गरेको जस्तो लाग्न थाल्यो ।’

Loading...