महाश्वेता देवीको यो ‘ओविच्युअरी’ मैले लेख्नु नपरेको भए हुन्थ्यो । लेखिका महाश्वेता देवीले कोलकातामा यही जुलाई २८ मा अन्तिम सास फेरिन् । तर, ती सक्रियतावादी महिला ‘सधैँ बाँच्न’ चाहन्थिन् । हामीले जतिपटक मृत्युको कुरा गथ्र्यौं,उनी भन्थिन्, ‘म सधैँ बाँच्न चाहन्छु ।’
उनी आफ्ना साहित्यिक सिर्जनाको आफैँ मूल्यांकन गर्थिन् । कसैले प्रशंसा गर्यो भने उनी मन पराउँदिनथिन् । उनी अन्यायविरुद्ध लड्न बाँचिरहन चाहन्थिन् । उनलाई आक्रोशित नपार्ने सायदै कुनै अन्यायपूर्ण घटना थिए होलान् । उनको सक्रियतावाद कुनै विचारधाराद्वारा प्रेरित थिएन, बरु अन्तस्करणबाट प्रस्फूटित थियो । उनका विश्लेषण आवाजविहीन र सिमन्तीकृतप्रतिको प्रेमभावबाट सिर्जित हुन्थे ।
सन् १९२६ को जनवरीमा जन्मिएकी महाश्वेताले गुरुदेव शान्ति निकेतनमा पढेकी थिइन् । उनी विद्यालयको सुसंस्कृत वातावरण एवं स्वतन्त्रता आन्दोलनको उत्साह दुवैले लैस थिइन् । उनका श्रीमान् बिजोन भट्टाचार्य कटिबद्ध कम्युनिस्ट थिए।
आँधीमय समयमा उनी एकपछि अर्को संघर्षमा सामेल भइन् । तर, उनका खासगरी चारवटा विशेषता भने कहिल्यै हराएनन् । पहिलो, उनमा रहेको हास्यरस, जुन फुटकर टिप्पणीका क्रममा बाहिर आउँथ्यो । त्यसैगरी, उनमा गाउँले युवतीमा जस्तो निर्दोषपना थियो । अनि, उनी यति छिटो रिसाउँथिन् कि त्यो अनुमान लगाउनै गाह्रो हुन्थ्यो । ख्यातीप्राप्त व्यक्तिहरूलाई पनि उनी सजिलै हप्काउन सक्थिन् । र अन्त्यमा, उनमा खुर्सिदका गीतप्रति असाधारण प्रेम थियो ।
उनी एकाएक ‘मेरे बचपन की साथी, मुझे भुल न जाना’ जस्ता गीत शिरदेखि पुछारसम्म गाउँथिन् । मित्रवत् कुराकानी चलिरहँदा उनी कतिखेर सन्किने हुन् र साथमा रहेको व्यक्तिलाई तिमी झुटका पुलिन्दा हौ भन्दिने हुन्, त्यो पत्तो पाउनै सकिन्नथ्यो ।
उल्लेख गरिरहन परोइन, उनी बीसौँ शताब्दीकी एकजना सर्वोत्कृष्ट लेखिका थिइन् । उनको प्रसिद्धि भारतबाहिरका देशमा पनि फैलिएको छ । गायत्री स्पिभाकले उनका कथाहरू अंग्रेजीमा अनुवाद गरेपछि उनी झनै स्थापित भइन् । सम्पूर्ण संकलित रचना इटालेली, जर्मन, फ्रान्सेली र अन्य थुप्रै भाषामा अनुवाद हुने भारतीय सर्जकमा टेगोरपछि उनी नै हुन् । गोविन्द निहलानी र कल्पना लाज्मीजस्ता भारतीय सिनेमाका हस्तीहरूले उनका कृतिमा आधारित प्रसिद्ध सिनेमा निर्माण गरेका छन् ।
मैले उनलाई भेट्दा उनी ७२ वर्षकी भइसकेकी थिइन् । त्यतिवेला उनी भारत र भारतबाहिर निकै प्रसिद्ध भइसकेकी थिइन् । उनी म्यागासेसे, जननपिठ र पद्मश्रीजस्ता पुरस्कारबाट पुरस्कृत भइसकेकी थिइन् । तर, जब हामी नजिक हुँदै गयौँ, हामीलाई उनको जीवन कति कष्टकर थियो भन्ने थाहा भयो । उदाहरणका लागि ७५ वर्षको उमेरमा पनि महाश्वेता देवीको आफ्नै घर थिएन । उनी बालिगन्ज स्टेसननजिकै भाडाको फ्ल्याटमा बस्थिन् । उनको फ्ल्याटमा पुग्न निकै अग्लो भर्याङ चढ्नुपथ्र्यो ।
महाश्वेताको विवाह सुखद रहेन । प्रतिभाशाली कविसमेत रहेका छोरासितको सम्बन्ध पनि सोचेजस्तो रहेन । उनी एक्ली र धेरैले बुझ्न नसकेकी महिला थिइन् । तर, उनले कहिल्यै यसमा हीनताबोध गरिनन् । उनले विगततिर फर्केर पनि हेरिनन् । उनी यथार्थवादी थिइन् भित्रैसम्म ।
लेखक र कलाकार कालजयी हुन्छन् । महाश्वेताका रचनाले आउने कैयौँ शताब्दीसम्म पनि पाठक पाउनेछन् । तथापि, उनमा रहेको त्यो हास्यरस, त्यो गीतपारख, अनि त्यो निर्दोषपना, जसले उनका महान् साहित्यिक रचनाको सिर्जनामा सघाएका थिए, ती उनको निधनसँगै आज हामीसित रहेनन् । महाश्वेता देवीको निधनले भारतलाई अपुरणीय क्षति भएको छ ।
(लेखक युनिभर्सिटी अफ बरुडाका अंग्रेजीका पूर्वप्राध्यापक हुन्) द वायर डट इनबाट