७० वर्ष पुरानो सपना
हुलाकी राजमार्ग भएर जाने बारा जिल्लाबाट निर्वाचित भएर आएपछि संसद्, संसदीय समिति र अन्य ठाउँमा निरन्तर रूपमा राजमार्गबारे आवाज उठाउँदै आएको छु । तर, यत्रो चासो र चिन्ता व्यक्त गर्दा पनि अपेक्षित परिणाम प्राप्त भइरहको छैन । हुलाकी राजमार्ग ७० ( विसं २००२–२००५) वर्षपहिले पद्मशमशेरको पालामा थालनी भएको हो । हुलाकी राजमार्ग निर्माण हुने भनेर सुरु भएको सात दशक पूरा हुँदा पनि आयोजना पूरा भएको छैन । यस आयोजना निर्माणको प्रयत्नमा एउटा सिंगो पुस्ताले जीवन समाप्त गरिसकेको छ । मेरो उमेर ६० वर्ष पुगेको छैन । जब कि यो योजना नै सुरु भएको ७० वर्ष पुगिसकेको छ । मेरा बाउपुस्ताले सुरु गरेको काम मेरो पुस्ता उत्तरार्धमा पुग्दासमेत पूरा गर्न नसक्दा यो जीवनमा नै सबभन्दा थकथकी लाग्ने घाउ बनेको छ । यो आयोजनाले धेरैवटा शासन व्यवस्था र नेतृत्वलाई पाएको छ, तर आयोजना सम्पन्न भएको खबर अझै यस क्षेत्रका मधेसी जनताले प्राप्त गर्न सकेका छैनन् । यो राजमार्गले शासन व्यवस्थामा हुने परिवर्तनपिच्छे धेरैवटा नाम पाएको छ । तर, यहा“का जनताले खोजेको हुलाकी राजमार्ग सम्पन्न हुने खबर अझै पाएका छैनन् । योभन्दा पीडादायी अवस्था के हुन सक्छ ?
सम्पूर्ण मधेस जोड्ने कडी
हुलाकी राजमार्गको कुल लम्बाइ एक हजार सात सय ९२ किलोमिटर छ । यसले तराईको पूर्वी भेगदेखि पश्चिमसम्मलाई छुन्छ । यो राजमार्ग सम्पूर्ण मधेस–तराईलाई जोड्ने कडी बन्नेवाला थियो र अझै पनि छ । तर, त्यस्तो बनाउन सकिएको छैन । यो आयोजना थालनी भएपछि नेपाल सरकारले अन्य क्षेत्रमा ठुल्ठूला आयोजना सम्पन्न गरेको छ । तर, यो आयोजना अझै सम्पन्न भएन । मधेसी जनताले यही संशय पालेका छन् कि राज्यले हामीलाई फरक व्यवहार त गरिरहेको छैन ? नत्र किन अन्य क्षेत्रमा भटाभट सडक निर्माण हुन्छ र हाम्रो क्षेत्रमा सुरु भएको सडक आधा शताब्दी पार गर्दा पनि सम्पन्न हुँदैन ?
पछिल्लोपटक तराईमा मधेसी मोर्चाले आन्दोलन गर्दासमेत हुलाकी सडक एजेन्डा बन्न पुग्यो । दुई सय ५० वर्षभन्दा पहिलेदेखि शासन गरेको राजतन्त्र हटेपछि त यो सडक बन्नुपर्ने हो । तर, त्यसपछिको प्रजातन्त्रकाल र गणतन्त्रमा समेत यस राजमार्गलाई नेतृत्वले पर्याप्त ध्यान दिन सकेको छैन ।
बजेट छ, काम छैन
तराईबाट निर्वाचित भएर आउने अधिकांश सासंदको माग हुलाकी राजमार्ग बन्नुपर्ने रहँदै आएको छ । यसरी वर्षौंदेखि भइरहेको जबर्जस्तीको दबाबले हरेक बजेटमा हुलाकी राजमार्ग पर्ने गरेको छ । राष्ट्रपतिले संसद्मा गर्ने सरकारको नीति तथा कार्यक्रमसम्बन्धी सम्बोधनमा मात्र होइन, हरेक वर्षको बजेटमा पनि हुलाकी राजमार्ग पर्छ । तर, काम फिटिक्कै हुँदैन, भइरहेको छैन ।
पहाड (काठमाडौं) र तराईलाई जोड्ने काम निर्माण हुन गइरहेको फास्ट ट्र्याकले गर्छ । त्यसको निकास भनेको हुलाकी राजमार्ग हो । यसले सम्पूर्ण तराईलाई जोड्छ । यसको दीर्घकालीन महत्व छ भने मधेसका जनतामा देखिएको असन्तुष्टि समाधान गर्ने उपायका रूपमा पनि हुलाकी राजमार्ग रहेको छ । यो सम्पूर्ण नेपाली जनताले बुझेका छन् । तर, हाम्रो नेतृत्वले अझै बुझेको छैन ।
मधेसी जनताको मुटु
वास्तवमा हुलाकी राजमार्ग मधेसी जनताको मुटु हो । अहिले मुटु त छ तर त्यहाँ रक्तसञ्चार भइरहेको छैन । यसलाई रक्त सञ्चार हुने बाटोमा लानुको विकल्प हामी कसैसँग पनि छैन । नेपालमा धेरैजसो सरकारले हुलाकी राजमार्ग निर्माणलाई भारत वा चीनतिर देखाएर पन्छिने गरेका छन् । यो नेपालको आयोजना हो र यसलाई अन्य देशबाट सहयोग नआए पनि आन्तरिक स्रोत प्रयोग गरेर पूरा गर्ने दायित्व लिनु अनिवार्य छ । हो, आन्तरिक स्रोतले नभ्याएको वा नपुगेको अवस्थामा छिमेकीसँग सहयोग मागेर वा ऋण लिएर निर्माण गर्नु अन्यथा होइन । तर, छिमेकीसँग नै भर परेर बस्नु जनताप्रति अन्याय हो । त्यो मधेसी जनताले भोगिरहेका छन् । ठूलो सम्भावना बोकेको राजमार्ग भएकाले यसलाई नेपाल सरकारले पनि निर्माण गर्दा हुन्छ । नेपाली प्राविधिक, नेपाली कामदार र नेपाली स्रोत बनाउनुजस्तो उत्तम कार्य अरू हुनै सक्दैन ।
बन्ने आशा भए पनि विश्वास छैन
केही ठाँउमा सडक निर्माणका लागि टेन्डर भएको र कतिपय स्थानका लागि टेन्डर हुने क्रममा छ । यसले केही मात्रामा भए पनि हुलाकी राजमार्ग बन्ला कि भन्ने आशा पलाएको छ । तर, यत्रो अवधिसम्म नबनेको सडक के बन्ला र भन्ने भावना पनि उत्तिकै प्रबल भएर आउँछ । नेपालमा जो प्रधानमन्त्री भए पनि केहीलाई छाडेर अधिकांशले भारत भ्रमण गर्ने गरेका छन् । ०४६ सालपछि त यो नियमितजस्तो भएको छ । यस्ता हरेक भ्रमणमा हुलाकी सडकको विषय उठ्ने गरेको छ । बहुदलीय काल सुरु हुँदाका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईदेखि अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसम्मले गरेका द्विपक्षीय भेटको एउटा एजेन्डा हुलाकी सडक बनेको छ । तर, त्यो भेटघाट र विषय उठान त्यत्तिकै सेलाउने गरेको छ । पछिल्ला केही वर्षमा भने हुलाकी सडक निर्माण हुनुपर्छ भन्ने स्वर प्रबल बन्दै गएको छ । यसले मधेसी जनताको घाउमा मलम लगाउन सक्ला कि भन्ने आशा गर्न भने सकिन्छ । नत्र सम्झौता गर्ने तर कार्यान्वयन नहुने शृंखला लामो भइसकेको छ ।
देशलाई एकतामा उन्ने धागो
यो आयोजना नबन्नुको कारण अन्य केही हुँदै होइन । नेपाल आफैँले बनाएको भए उहिल्यै बनिसक्ने थियो । अरूमाथि भर पर्नाले यो अवस्था आयो । मधेसी जनताले दुःख पाए । देशलाई एकतामा उन्ने धागो बन्ने आयोजना अहिले जनताबीच विभाजन गराउने कारक त बन्दै छैन ?
हुलाकी सडक बन्यो भने यसले पु¥याउने आर्थिक, सामाजिक र सांस्कृतिक फाइदा त छ“दै छ । यसले देशलाई एकतामा बाँध्न पनि महत्वपूर्ण भूमिका खेल्छ । यसकारण पनि हुलाकी सडक अविलम्ब बन्नैपर्छ । हुलाकी राजमार्ग बन्नु भनेको मधेसी जनताको लामो सपनाले सार्थकता प्राप्त गर्नु हो । अहिलेसम्म त्यस क्षेत्रका जनताले भोगेको दुःख र राज्यप्रति देखाउँदै आएको संशयको अन्त्य हुनु हो । किनकि यो सपना पूरा गर्न अहिलेको पुस्ताले मात्र पसिना बगाएको छैन । हजुरबा पुस्ताले समेत लगानी गरेको ऋण बाँकी छ । त्यसबाट पनि मुक्त हुनु हो । तर, अहिलेको अवस्था के छ भने कुनै पनि मधेसीले यो राजमार्ग बन्ला भन्ने विश्वास नै गर्न सकेको छैन । आफ्ना हजुरबाको पालादेखि नबनेको सडक अब झन् बन्दैन भन्ने उसको सोचाइ छ । यसकारण कसैले पनि यो सडक बन्छ भनेर मधेस गयो भने त्यहाँका जनताको आक्रोशको तारो हुनुपर्छ ।
सरकारका कमजोरी
यो आयोजना अहिलेसम्म नबन्नुमा हाम्रा सरकार नै दोषी छन् । हुलाकी राजमार्गप्रति सरकार उदासीन रहेकै हुन् । यो वा त्यो सरकार भनेर भन्न आवश्यक छैन । तर, सरकारकै उदासीनताले यो आयोजना सम्पन्न नभएको पक्कै हो । त्यस्तो उदासीनताको एउटा कारण स्रोतको अभाव हो भने अर्को कारण सरकारको नेतृत्व गर्ने व्यक्तिको नियत हो । विशेषगरी हुलाकी राजमार्ग र मधेसमा सञ्चालन भइरहेका राष्ट्रिय आयोजना कुनै सरकारको प्राथमिकतामा समेत पर्न सकेन ।
सरकारले केही वर्षअघि थालनी गरेको केरुङ–रसुवागढी सडक केही वर्षमा पूरा हुने अवस्थामा छ । मध्यपहाडी राजमार्गमा पनि राम्रो प्रगति देखियो विगतमा । यसविपरीत हुलाकी राजमार्ग निर्माणमा भने केही हुनै सकेन । यसले गर्दा यहा“का जनता र प्रतिनिधित्व गर्ने पार्टीमा समेत हुलाकी राजमार्ग एजेन्डा बनेर आयो । सहजै आयोजना बनेको भए यस्तो अवस्था सिर्जना हुने नै थिएन । यसरी उत्पन्न भएको ‘मधेसमा एक्लिएको र फरक व्यवहार भइरहेको’ भन्ने जुन सोचको विकास भइरहेको छ, त्यसलाई यो आयोजनाले समाप्त पार्नेछ ।
हुलाकी राजमार्ग नबन्दा किसानले उत्पादन गरेको आफ्नो फसल बजारसम्म पु¥याउन पाएको छैन । आफ्नै जिल्लाको सदरमुकाममा पुग्न एक दिन लाग्ने गरेको छ । तराईका नागरिक बिदेसिएका छन् । उनीहरूलाई रोक्न सकिएको छैन । यो राजमार्ग बन्ने हो भने स्थानीय युवाले आफ्नो माटोमा उत्पादन गरेर स्वरोजगार बन्न सक्छन् । मलेसिया र खाडी देशमा जाने क्रमलाई न्यूनीकरण गर्न सकिन्छ । यो सडकले तराईको अर्थतन्त्रलाई ठूलो टेवा पु¥याउनेछ । यो नै अहिलेको आर्थिक विकास गर्न सक्ने सबभन्दा आवश्यक र ठूलो पूर्वाधार हो । यसले कलकारखाना खोल्न र व्यवस्थित सहरीकरणमा समेत टेवा पु¥याउनेछ ।
(यादव कांग्रेस सांसद हुन्)