नेपालभित्र गन्तव्य विस्तार नगरेसम्म बाह्य पर्यटक आकर्षित गर्न सकिँदैन भन्ने मान्यता राख्ने युवा व्यवसायीको टोलीले अहिले बोर्डमा निजी क्षेत्रबाट प्रतिनिधित्व गरिरहेको छ । तीमध्ये नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्र सापकोटा एक हुन् । टे«किङसँगै आतिथ्य सेवामा पनि सक्रिय सापकोटा आउटडोर हिमालयन टे«क्सका सञ्चालक हुन् । सरकारले ०७३ लाई घुमफिर वर्षका रूपमा मनाउने घोषणा गर्दै आन्तरिक पर्यटन प्रवद्र्धनको योजना बनाएको छ । तर, यो प्रभावकारी भने भएको छैन । यसै सन्दर्भमा गन्तव्य विस्तारका उपायलाई उनले यसरी विस्तार गरेः
१. सर्वप्रथम आफ्नै देश घुमौँ
हामीले निकै लामो समयदेखि पर्यटन प्रवद्र्धनका सिलसिलामा केही सीमित गन्तव्यलाई बजारीकरणको माध्यम बनाइरहेका छौँ । उदाहरणका लागि विश्वको सर्वोच्च शिखर सगरमाथादेखि पोखरा, चितवन, लुम्बिनीजस्ता गन्तव्यको व्यापक प्रचार–प्रसार भएको छ । तर, यसबाहेक पनि नेपालभित्र यस्ता धेरै गन्तव्य छन्, जसले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सक्ने क्षमता राख्छन् । नेपालका धेरैजसो पर्यटकीय गन्तव्यको प्रचार अहिले पनि विदेशी पुगेपछि मात्र हुने गरेको छ । गन्तव्य विस्तारको यो उल्टो फर्मुला हो । किनकि, आन्तरिक गन्तव्य विस्तार गर्न सर्वप्रथम नेपालीले आफ्नो मुलुक घुम्नुपर्छ । सगरमाथा आधार शिविरबारे हाम्रा अगाडि विदेशीले बयान गरेको सुहाउँदैन । त्यसैले नेपालीले सर्वप्रथम नेपाल घुमौँ ।
२. धार्मिक तीर्थस्थललाई माध्यम बनाऔँ
नेपालबाट तीर्थयात्राका लागि हजारौँ मानिस भारतका तीर्थस्थलसम्म पुग्ने गर्छन् । नेपालभित्र पनि यस्ता तीर्थस्थल छन्, जसले लामो इतिहास बोकेका छन् । यी तीर्थस्थलको महत्वलाई बढावा दिने गरी प्रचार–प्रसार गरौँ । वास्तवमा भगवान् बराबर हुन् भने तीर्थस्थलको महत्व पनि बराबर हुन्छ । नेपालभित्रका सबै गन्तव्यमा आन्तरिक पर्यटक घुम्न सुरु गरौँ भने यी तीर्थस्थललाई हिन्दु धर्मावलम्बीका आकर्षणका केन्द्र बनाऔँ । गन्तव्य विस्तारको यो एक वैज्ञानिक उपाय हो । यसबाट तीर्थस्थल आसपास होटेल तथा अन्य पूर्वाधारको विकास हुन थाल्छ । यातायातको साधन र बाटाघाटोको माग बढ्छ । अन्ततः यसले मुलुकलाई एक गन्तव्यका रूपमा रूपान्तरण गर्न सहयोग पुर्याउँछ ।
३. नयाँ गन्तव्य घुम्न प्रेरित गरौँ
अनौपचारिक तथ्यांकअनुसार अहिले वार्षिक ६० हजार नेपाली आउटवाउन्ड टुरिजमका लागि बाहिरिने गर्छन् । यसको यकिन तथ्यांक नभएका कारण यो संख्या अझ बढ्न सक्छ । यी नेपालीको मुख्य गन्तव्य थाइल्यान्ड, मलेसिया, सिंगापुर, हङकङ तथा भारतका विभिन्न सहर हुने गरेका छन् । मान्छेको खर्च गर्ने क्षमता बढेपछि घुमफिरका लागि बाहिरिनु स्वाभाविक हो । मानिसको यो रुचिलाई नकारात्मक रूपमा लिन मिलेन । तर, उनीहरूको भ्रमणको योजनालाई नेपालभित्रका नयाँ गन्तव्यतर्फ डाइभर्ट भने गर्न सकिन्छ । अहिले नेपालको मध्य तथा सुदूरपश्चिमका आकर्षक गन्तव्यसम्म पुग्दा लाग्ने समय र खर्चको हिसाब गर्दा विदेश गएर आउन सस्तो पर्न थालिसकेको छ । यसबाट मुलुकको गन्तव्य प्रवद्र्धनमा कति कमजोर रहेछौँ भन्ने प्रस्ट पार्छ । त्यसकारण बिदा मिलाएर प्याकेजमा नेपालबाट विदेशतर्फ घुम्न निस्कने नेपालीलाई यहाँका नयाँ गन्तव्यतर्फ आकर्षित गर्नुपर्छ ।
४. पूर्वाधार विकास गरौँ
हवाई सञ्जालको विस्तार पर्यटन विकासको अनिवार्य सर्त हो । अर्कातर्फ खास–खास गन्तव्यसम्म पर्यटक पुग्न र त्यसले प्रचार–प्रसार पाउन त्यहाँसम्म पुग्ने बाटोघाटको आवश्यकता पर्छ । नेपालका प्रत्येक गाउँ पर्यटकीय दृष्टिकोणबाट हेर्नलायक छन् । तर, यी गाउँसम्म पुगेका पर्यटकलाई आवश्यक पर्ने पूर्वाधार पुगेको छ या छैन भन्ने सन्दर्भले पर्यटनको दिगो विकासमा महत्व राख्छ । उदाहरणका लागि आज खप्तड, रारा, पाथीभराजस्ता स्थान आकर्षक पर्यटकीय गन्तव्य हुन् भन्ने प्रचार–प्रसार व्यापक भएको छ । मानिस यी गन्तव्यसम्म पुग्न र हेर्न चाहन्छन् । तर, उनीहरूसँग पर्याप्त समय नहुन सक्छ । हवाईसँगै सडक यातायातको विकास गरी ती गन्तव्यसम्म पुग्ने वातावरण बनाउन सकिएको छैन । अर्कोतर्फ ती गन्तव्यमा पुगेपछि अत्यावश्यक बन्दोबस्तीका सामान र अन्य व्यवस्थाको अभाव छ । होटेलको विकास हुन सकेको छैन, बिरामी पर्दा आकस्मिक उपचारको व्यवस्था छैन भने पनि गन्तव्य विकासमा बाधा पुग्छ ।
५. एउटा मात्र गन्तव्यमा प्याकेज नबेचौँ
वाइल्ड लाइफ टुरिजम र सिमसारका लागि चितवनको जति महत्व छ, त्यति नै महत्व बर्दिया र महेन्द्रनगरको पनि छ । तर, आन्तरिक तथा बाह्य पर्यटक किन चितवन मात्र झुम्मिन्छन् ? यसको सोझो जवाफ नै हामीले बेच्ने प्याकेजमा गन्तव्य सीमित भए । अहिले पर्यटकस्तरीय होटेल तथा आतिथ्य सेवा बर्दिया र महेन्द्रनगरमा पनि विकास भइसकेको छ । त्यहाँ घुमघाम गर्नलायक अतिरिक्त प्रडक्टसमेत छन् भने हामीले बेच्ने पर्यटकीय प्याकेजबाटै गन्तव्यलाई बढाउन सकिन्छ । त्यसैले चितवन आउने पर्यटकलाई बर्दिया र महेन्द्रनगरसम्म पु¥याऔँ । यसले पनि गन्तव्य विस्तारमा सहयोग गर्छ ।
६. निजी क्षेत्रलाई आकर्षित गरौँ
नेपालमा पर्यटन विकास र विस्तारको श्रेय स्वाभाविक रूपमा निजी क्षेत्रलाई जान्छ । निजी क्षेत्रले चर्चित गन्तव्यमा प्याकेज बेचेर पैसा मात्र कमाउने होइन, नयाँ–नयाँ गन्तव्य विस्तारमा पनि योगदान गर्न सक्छ । पर्यटकको चाप नभएको स्थानमा नयाँ प्रडक्टको विकास गर्न सकियो र त्यसलाई उचित प्रसार–प्रसार पुग्यो भने त्यो स्थान गन्तव्यका रूपमा परिणत हुन्छ । त्यसकारण यसरी नयाँ खालका प्रडक्ट ल्याउने व्वसायीलाई आकर्षित गर्ने खालका कार्यक्रम राज्यले ल्याउनुपर्छ । दुर्गम स्थानमा होटेल खोल्ने व्यवसायीलाई निश्चित समयसम्म आयकर छुट, आवश्यक सामग्री आयातमा लाग्ने करमा पनि छुटजस्ता योजना ल्याउनुपर्ने हुन्छ ।
७. नागरिकलाई स्थानीयस्तरबाटै जागरुक बनाऔँ
पर्यटनको दिगो विकासका लागि उक्त मुलुकका नागरिकमा पर्यटन नै हाम्रो आम्दानीको मुख्य स्रोत हो भन्ने चेतनाको विकास हुनुपर्छ । त्यसपछि मानिस बढीभन्दा पर्यटक आउने वातावरण बनाउनतर्फ लाग्छन् । नेपालमा पनि पर्यटकलाई देवता मान्ने गरिन्छ भन्ने मान्यता छ । तर, हामी व्यावसायिक बन्न सकेका छैनौँ । यसका लागि पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड तथा अन्य व्यावसायिक संघसंस्थाले ग्रामीण स्तरसम्म तालिम कार्यक्रम सञ्चालन गर्नुपर्छ । सिरुबारी, घलेगाउँजस्ता गन्तव्यमा पुग्दा जुन स्तरको आतिथ्य पाइन्छ, त्यो सबै गन्तव्यमा प्राप्त हुने वातावरण बनाउन सक्ने हो भने पर्यटन विकासको चेतना सबै ठाउँमा पुग्छ । यसले एकातर्फ आफ्ना सम्पदा संरक्षण गर्नुपर्छ भन्ने चेतना बढ्छ, मौलिक संस्कृतिको संरक्षण हुन्छ भने अर्कातर्फ स्थानीयको जीवनस्तरमा पनि वृद्धि हुन्छ ।
८. प्रविधिमैत्री बनौैँ
अबको जमानामा गन्तव्य विस्तारका लागि प्रचार–प्रसारको विकल्प छैन । आमसञ्चार माध्यमका प्रतिनिधिको प्रत्यक्ष घुमघाम गर्ने र त्यहाँबाट हुने प्रचार सबैभन्दा शक्तिशाली हुन्छ । अर्कातर्फ सामाजिक सञ्जालको प्रयोगलाई बढावा दिएर पनि गन्तव्यलाई प्रचारमा ल्याउन सकिन्छ । बाटोघाटोमा साइन र संकेत राख्ने, सूचना प्रवाहलाई प्रभावकारी बनाउने र आकस्मिक अवस्थामा उद्धार गर्न तयार हुने गरी प्रविधिलाई आत्मसात् गर्नुपर्छ । प्रमोसनमा जति सक्रिय हुन सक्यो, गन्तव्यको विकास त्यति नै तीव्र हुन्छ ।
९. बिदा पर्यटनलाई विस्तार गरौँ
पर्यटनको दीगो विकासको नेतृत्व अब युवा पुस्ताले लिनुपर्छ । अहिले व्यावसायिक संघसंस्था तथा कम्पनीको नेतृत्व तथा कर्मचारीमा युवाको बाहुल्य छ । ती कम्पनीले निश्चित समय दिएर आफ्ना कर्मचारीलाई आन्तरिक गन्तव्यमा घुमघामको योजना ल्याउन सक्छन् । सरकारले बिदा पर्यटनको अवधारणा कार्यान्वयनमा ल्याएको छ । यसलाई विस्तार गर्न प्रोत्साहन पुग्ने खालका कार्यक्रम ल्याउनुपर्छ । आफ्ना कर्मचारीलाई बिदा पर्यटनमा पठाउने कम्पनीलाई सुविधा दिने गरी राज्यले कार्यक्रम बनाउन सक्छ । सर्वप्रथम राज्यले पर्यटन विकास र गन्तव्य विस्तारको योजनाबद्ध कार्यक्रम बनाउनुपर्छ । सरकारले ०७३ लाई घुमफिर वर्षका रूपमा घोषणा गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्नु पनि योजनाबद्ध विकासको अभाव हो ।