विषय प्रवेश
रेडियोका स्रोता मात्रै हैन अब हरेक व्यक्ति पहिला भन्दा ज्यादै शक्तिशाली छन । मानिसको चेतनास्तर एक भन्दा अर्काको बढि छ कारण विज्ञान र प्रविधि नै हो । एउटा कार्यक्रम प्रस्तोता वा सञ्चालकले यो कुरा राम्ररी जान्न जरूरी छ कि मेरो कुरा म भन्दा दिग्गज व्यक्तिले सुनिरहेको छ र मेरो प्रस्तुतिबाटै मेरो क्षमताको मुल्याङ्कन गर्न सक्छ । एउटा कार्यक्रम प्रस्तोता भन्दा रेडियोका स्रोता यसकारण दिग्गज छन कि उनीहरू हरेक कार्यक्रम संचालकलाई घरैमा बसीबसी अध्ययन गरेका छन । कोही त सिकाउन सक्नेसम्म भएका छन । स्रोता कार्यक्रम प्रस्तोतासँग दोहोर सवाल जवाफ गर्न सक्रिय नहुनु भनेको उनिहरू जान्दैनन भन्ने पनि हैन । फेरि सवालजवाफको फुर्सद पनि हुन सक्दैन त्यस्ता व्यक्ति रेडियो साथमा राखेर काम गर्दै स्रोतामात्रै बन्छन । हामी स्वच्छ प्रतिस्पर्धाको समाजमा भएकाले नै हो स्रोताका लागि एउटा मात्रै रेडियो पनि छैन र एउटामात्रै कार्यक्रम प्रस्तोता पनि छैनन । दर्जन रेडियोमा काम गर्ने सय भन्दा बढी प्रस्तोताका कुरा सुनेर उनीहरूका कार्यक्रमका बारेमा जान्ने भएका स्रोतालाइ कमजोर ठानेर सामान्य रूपमा प्रस्तुत हुनु हाम्रो समस्या हुन जान्छ ।
नेपालमा मात्रै झण्डै ८ सय रेडियो स्टेशन छन तिनीहरूलाइ प्रशारणका लागि जति सहज छ आफ्नो परिचय बनाउन निक्कै कठिन छ । नामका लागि रेडियो सुन्ने स्रोताको संख्या जस्तै नामकै लागि रेडियोमा स्वर सुनाउनेको पनि ठूलै संख्या छ । यो संख्या टिकाई राख्न पनि रेडियो स्टेशनलाई साह्रै चुनौती छ । रेडियोमा बोल्ने रहर गर्नेहरू रेडियोमा काम गर्ने अवसर दिनुस भन्दै स्टेशन धाउछन तर के छ स्कृप्ट भन्दा छ सर फोनइन कार्यक्रम छ, म कार्यक्रम चलाएभने सबैलाइ चकित पारेर धेरै स्रोताको मन जित्न सक्छु मलाइ अवसर दिनुहोस धेरै भन्छन । उनीहरूको फोनइन कार्यक्रम भनेको के छ खबर ?, खाना खाजा खानुभो ?, सुत्नुभो ?, रूची चहाना के छन ?, कतिमा पढ्नुहुन्छ ? यस्तैयस्तै । यस्ता कार्यक्रम प्रायः रेडियोका चर्चित कार्यक्रम हुन । त्यसकै कारण रेडियो उत्कृष्ट हन्छ भन्ने मान्छेहरूको सोच छ । तर स्रोता टिकाउनका लागि समाचारको निम्ती काम गर्नुस न त भन्दा अनकनाउने चलन छ । रेडियो कार्यक्रमको कुरा भैरहदा यहाँ रेडियो स्क्रिप्टको चर्चा गर्न अति जरूरी छ ।
रेडियो भनेपछि समाचार पनि कार्यक्रम अन्तरगत पर्ने भएकाले समाचारको स्कृप्ट पनि त्यही अनुसारको हुन जरूरी छ । अनि रेडियोमा कार्यक्रम चलाउनेलाइ समाचारको बारेमा जानकारी हुन पनि जरूरी छ । एउटा व्यक्तिले रेडियोमा साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्छ तर समाज उसलाइ पत्रकार भनेर पहिचान दिन्छ अनि समाचार हुने खालका नयाँ कुरा समाजका अगाडि हुँदा संचारमाध्यममा आएनन भने समाजले उसैलाई हेरेर सिङ्गो पत्रकारितालाइ प्रश्न उठाउँछ । यो हाम्रो समाजको समस्या हो । एउटा व्यक्ति प्रस्तोता बन्न रहर त गर्छ तर वाध्यताका कारण महिना दिनमा छोड्छ अनी नामको अगाडि आरजे थप्छ र समाजका अरु मानिस भन्दा माथी भएको भानमा हुन्छ । तर त्यसलाई आरजेको वास्तवीक अर्थका बारेमा जानकारी कमै हुनेगर्छ । बाहिरबाट हेर्दा जे जस्तो लागेपनि भित्रका चुनौतीहरुका बारेमा पनि जानकारी लिएर प्रवेश गर्नुपर्छ यदि अन्जानमा रहरमा नै आएको भए पनि डुब्दाडुब्दै पनि सानोसानो गहिराइमा रहेर पौडन सिक्दै समाजलाई केहि दिन सक्ने हुनुपर्छ ।
हामीले रेडियोको लेखन यही अनुसार हुनुपर्छ भनेर भन्न सक्नेगरी भन्न कसैले सक्दैन र भन्नुपनी हुदैन । स्कृप्ट लेखनको नियम गणित र विज्ञान अनुसार नभए पनि सहजताका लागि केही सुत्रहरु भने पक्कै छन त्यो पनि अध्ययन गरेर बनाइएका हुन । जस्ताको तस्तै लागुहुनुपर्ने हुदैनन । कतै केही काम लाग्छन कतै केही सबै ठाउ उस्तैगरी हुँदैनन । समाचारमा आवश्यक पर्ने ६ क कार्यक्रममा पनि चाहिन्छन । हामीले ६ क का उत्तर खोज्यौं भने तिनै उत्तर अनुसार समाचार पनि हुन्छ, कार्यक्रम पनि अनि स्टेचमा प्रस्तुत हुने कार्यक्रम पनि त्यसकारण हामीले स्कृप्टका बारेमा भ्रममा नपरेर कसरी मिठास ल्याउने भन्ने बनाउ जरुरी छ ।
रेडियोको कुरा भैरहेको बेला यहाँ रेडियोकै कुरा गरौं । रेडियो स्टेसनका फरक फरक नियम छन्। स्टेसनले आफू अनुकूल नियम बनाएर स्क्रिप्ट लेख्छन् । हुनुपर्ने पनि त्यही हो तर कुनै कार्यक्रम अरुको नक्कल झक्कल गर्दैमा बाझिएका छन । उही स्थानमा अवस्थित रेडियोमा कार्यक्रम पनि उही प्रकृतिका हुन्छन कारण कपिपेस्ट, कार्यक्रमको मात्रै कुरा नगरौं यहाँ त समाचारमै पनि फरकपन पाउन कठिन पाइन्छ । समाचारका विचमा दिइने ट्युन बाहेक सबै समाचार उनै हुनुले पनि रेडियोको स्किृप्टका बारेमा प्रश्न चिन्ह खडा भएको छ । अनलाइनमा छापिएका समाचार अनलाइनकै भाषामा प्रशारण गर्दागर्दै समाचारमा काम गर्ने पत्रकारको सिर्जनशिलतामा पनि प्रश्न चिन्ह खडा भएको छ ।
अनलाइन तथा पत्रपत्रिकाको लेखाइ र रेडियोको बोलाईमा मिलाउनलाई पुनःलेखनको आवश्यकता भएपनि हतारको काम लतार भनेजस्तै कपि टु पेस्टमा हाम्रा रेडियोमा समाचार वाचन गर्ने पत्रकारलाई हैरानी परिसानी परेको हामीले भोगेका छौं ।
हामीले बुझ्दा स्क्रिप्ट लेखन एउटा राम्रो निबन्ध लेखनसँग मेल खान्छ । जस्तै परिचय, जानकारी र निष्कर्ष । स्क्रिप्ट लेखनलाई स्वागत वा परिचय खण्ड, जानकारी खण्ड र निष्कर्ष वा समापन खण्ड गरि तीन भागमा बाँड्न सकिन्छ। पहिलो खण्डमा स्टेसन, कार्यक्रम र प्रस्तोता परिचय दिइन्छ। दोस्रो खण्डमा कार्यक्रममा के के समावेश गर्ने हो त्यस्को सिलसिलाबद्ध प्रस्तुति दिने हो । अन्त्यमा निष्कर्ष सहितको अन्त्य र आगामी कार्यक्रमको जानकारी सहित बिदा माग्नु हो । यसले गर्दा तीनवटा खण्डमा यस्तै हुनुपर्छ वा स्क्रिप्ट लेखनको सर्वमान्य सिद्धान्त यही हो भन्नेमा म छैन र कोही हुनुपर्छ भन्ने पनि हैन । स्कृप्टलेखन के हो भने अभिवादनबाट सुरु भएर अभिवादनमा अन्त्य हुनुपर्छ । संस्कृतिअनुसार कसैले नमस्कार भन्लान कसैले सलाम गर्लान आदी ।
स्क्रिप्ट लेखन पहिले के गर्ने
सबैभन्दा पहिला रेडियोका बारेमा जान्न जरुरी छ । रेडियोको स्क्रिप्ट लेखन सुरु गर्ने हो भने पहिला बोली हो, एक पटक हो, तत्काल हो, कानको लागि हो र सरल हो त्यसैकारण रेडियोमा प्रसारण हुने कुनै पनि कुरा एकैपटकमा बुझ्नका लागि सरल, सरस र कर्णप्रिय हुनुपर्छ ।
हामीले प्रस्तुत गर्ने कार्यक्रमको प्रकृति, बनोट, लक्षित स्रोता, कार्यक्रममको उद्देश्य, कार्यक्रम प्रसारण हुने क्षेत्र, कार्यक्रम प्रसारण हुने समय आदिले स्क्रिप्ट लेखनमा फरक पार्छन्। त्यसैले स्क्रिप्ट लेख्न बस्नु भन्दा पहिले यी विषयबस्तुमा तयारी गरेर सुरुवात गर्नु पर्छ । अहिले रेडियोको जस्तै स्रोताको पनि समय कम छ । विहानै पत्रिका पढ्ने पाठकले मुख्यमुख्यमा आँखा दौडाएर चाहिने पढ्छ नचाहिने ध्यानै दिन्न त्यस्तै हामीले थोरैमा धेरै कुरा भन्न सक्नु नै स्क्रिप्टको विशेषता हो । उहि कुराका लागि अनावश्यक लामो गफ गर्नु भन्दा छोटो कुरामा अर्थपूर्ण खुराक दिनु कार्यक्रम प्रस्तोताको सफलता हो ।
किन सुन्ने रेडियो?
स्रोताले रेडियो सुन्ने कारण सूचना पाउने र मनोरञ्जन लिने नै हो । यसैले पनि स्रोताले रेडियो सुन्नुको काराण स्रोताले गीत सुन्न र जानकारी लिन रेडियो सुन्छन्। उनिहरुलाई कलात्मक तवरले आफ्नो स्वरले मन्त्रमुग्ध बनाउन सके रेडियो सुन्ने स्रोता बढ्छन ।
अझ भनौ स्रोता यस्ता पनि छन उनिहरु प्रस्तोताको स्वर सुन्नकै लागि पनि रेडियो सुन्छन, अर्काथरी गीत सुन्नकै लागि रेडियो सुन्छन् भने केहिले जानकारी वा सुचना लिन रेडियो सुन्छन्।
गीत सुनाउने, आवाज सुनाउने वा जानकारी दिने यो निर्णय तपाईमा भर पर्छ । तपाईँ जस्तो प्रस्तोता बन्नु हुन्छ त्यस्तै सामाग्री छान्न सक्नुपर्छ । यदि समाचारमा नै काम गर्ने हो समाचार नै भन्ने हो भने पनि आवाजमा निखारता हुनैपर्छ । समाचार वाचन गर्दा होस या त कार्यक्रम प्रस्तुतीमा होस आवाजमा मिठास हुन जरुरी छ ।
सरल बनाउन के गर्ने ?
रेडियोको लेखन सरल तथा सहज हुनुपर्छ । हामीले मात्रै बुझेर हुदैन रेडियो सबैले बुझ्ने हुनुपर्छ त्यसकारण नै सरल र सहज खोजिएको हो । रेडियो जहिले पनि तत्कालै भएकाले स्क्रिप्ट लेखनमा पूर्ण वर्तमानकालको प्रयोग राम्रो मानिन्छ। अर्को कुरा लामो वाक्य लेख्दा त्यसले वाचनमा समस्या देखापर्छ त्यसका लागि पनि सरल वाक्यको प्रयोग सबैभन्दा उत्तम हुन्छ। एउटै शब्द र वाक्य कहिल्यै नदोहो¥याउदा स्क्रिप्टलाई छोटो बनाउन सहयोग पुग्छ ।
धेरै प्रस्तोताले एउटै अर्थ आउने दुईवटा शब्द एकैचोटी लेख्छन र प्रयोग गर्छन । जस्तैः केहीबेरको छोटो विश्राम पछि फेरि पनि स्वागत छ। यहाँ ‘केहीबेर’ वा ‘छोटो’ मध्ये एउटा शब्द भने पुग्छ । अर्को भन्नैपर्ने कुरा यस्तो छः कार्यक्रममा धेरै प्रस्तोताले ‘धन्यवाद दिन चाहन्छु’ भन्छन्। उनीहरु धन्यवाद दिन चाहन्छन् तर कहिल्यै पनि धन्यवाद दिँदैनन्। धन्यवाद दिन चाहनेले धन्यवाद नदिन पनि सक्छ । कसैले कसैलाई चहाँदैमा यहाँ केहि हुदैन । दिन चाहँदैमा दिएको अर्थ लाग्दैन यो प्रस्तोताले बुझ्न जरुरी छ त्यसकारण स्कृप्ट लेखनमा यो कुरालाई पनि ध्यान दिनुपर्छ ।
प्रायः प्रस्तोताहरु आफूलाई धेरैपटक चिनाउन बारम्बार आफ्नो नाम उच्चारण गरिहेका हुन्छन्। आफूलाई चिनाउन धेरैचोटी नाम भनेर होइन सम्झन लायक एउटै मात्र कार्यक्रम बनाउदा तपाईँलाई एउटै कार्यक्रमबाट स्रोताले चिन्दछन्।
रेडियो लेखनमा नझुकिनेखालका शब्द राख्दा पूरै कार्यक्रमभर स्रोतालाई त्यही एउटा शब्दले अन्यौलमा पार्नसकछ ध्यान दिनुपर्छ । घुमाई घुमाई कुरा गर्दा स्रोता भड्किएर अर्को रेडियो सुन्नलाई हाम्रो कार्यक्रमबाट भागन सक्छन त्यो अधिकार स्रोतामा छ त्यसकारण हामीले त्यो पनि गर्न हुदैन । अनि धेरैले आफूसँगै प्राविधिकलाई पनि विदा दिनुहोस् भन्छन प्राविधिक पनि कार्यक्रम प्रस्तोतासँगै विदा भएपछि रेडियो नै बन्द हुन्छ नी त यो कुरामा पनि ध्यान दिनुपर्छ । कार्यक्रम प्रस्तुत गर्ने वा सञ्चालन गर्ने अरु पनि हुन्छन्। यही भएर अरुलाई पनि कार्यक्रम चलाउन दिनुपर्छ। विदा उ संगै नमागेर उसलाई धन्यवाद दिएर आफुले विदा माग्नुपर्छ ।
कार्यक्रम प्रस्तोताको मुखमा एउटा कुरा झुण्डिएर बसेको हुन्छ– कार्यक्रममको समय सकिएको जानकारी प्राविधिक मित्र अमृतले दिइसक्नु भएको छ, तसर्थ अब म पनि विदा हुनुपर्छ। स्रोतालाई आफ्नो कार्यक्रममको समय सकिएको पनि थाहा हुँदैन र प्राविधिकले भनिदिनु पर्ने? कार्यक्रम प्रस्तोता अबुझ होइन, यसर्थ उसलाई नै थाहा हुन्छ कार्यक्रम अवधि कति हो र कतिबेला बिदा माग्नु पर्छ भन्ने यसर्थ बिदा लिन प्राविधिकले संकेत गर्ने होइन, स्टुडियोमा रहेको घडीले संकेत गर्ने हो। यसर्थ सामान्य लाग्ने तथा सम्झनु पर्ने कुरालाई तपाईँ आफैले ख्याल गर्नुपर्छ।
अर्को कुरा १ घण्टाको कार्यक्रम प्रस्तुत गरिसकेपछि पनि प्रस्तोताले भन्छः कार्यक्रममा बस्न त मन थियो तर पापि समयले नेटो काटीसक्यो बस्न दिएन अव विदा माग्नुपर्छ क्यारे । यो भन्नु पनि व्यर्थ छ किनकी आफुले १ घण्टासम्म स्रोता भुलाउने समयलाई दोष थुपार्दै जाने यो पनि हामीले गर्न हुदैन ।
माफी कसैले दिँदैनन
स्रोता जहिले पनि रेडियोमा वा कार्यक्रममा आफ्नो सहभागिता खोज्छन् र उनिहरुको सहभागिता सफल र सार्थक हुनुपर्छ भन्ने रहन्छ। स्रोता सहभागी गराउने कुरामा प्रस्तोता अत्यन्तै चनाखो बन्नु पर्दछ। कुनै मानिसले आफ्नो नाम, थर, पेशा, पद, ठेगाना अस्पष्ट वा अपुरो भनेको रुचाउँदैनन्। त्यसमा पनि गल्ती नै भयो भने कुनै स्रोताले पनि प्रस्तोतालाई माफी दिने छैनन्। अनि आफुले पटकपटक माफि पनि माग्नुहुदैन ।
अर्ती कसले चहान्छ र सन्देश दिए राम्रो
स्रोता पुरातन सोच र व्यवहारका अर्ती उपदेश नखाएर जहिले पनि कार्यक्रम मार्फत सन्देश मात्रै खोज्दै सन्देश दिने कार्यक्रममात्रै रुचाउँछन्। कार्यक्रमबाट सन्देश नै दिनु छ भने पनि त्यो अर्ती वा उपदेश हो भन्ने भान नपारीकन दिनु पर्छ। जस्तै यसरी भ्रमण गर्नुहोस् भनेर तपाईँले भन्नु भयो भने स्रोताले त्यसलाई अर्ती ठान्छन्। त्यसकारण यस कुरालाई तपाईँले भ्रमण गर्दा यो यो फाइदा हुन्छ भनेर भन्दा स्रोताहरु आफूलाई फाइदा हुने काम गर्न लालायित हुन्छन्। अथवा यस्ता कुरा गर्दा स्रोत व्यक्ति र विशेषज्ञबाटै भन्नु उपयुक्त हुन्छ।
प्राविधिक जानकारी
कार्यक्रम प्रसारण हुदा कार्यक्रम प्रस्तोतासँग मात्रै खाली स्टुडियो हुन्छ अरु बाँकी सबै कुरा प्राविधिक रुम वा कन्ट्रोल रुममा हुन्छ र स्टुडियो भित्र प्रस्तोताले बोल्न मात्रै सक्छ, त्यो भन्दा केही पनि गर्न नसक्ने भएकाले प्राविधिकसँग राम्रो तालमेल हुनु आवश्यक हुन्छ। तालमेलका लागि के गर्ने कसो गर्ने समन्वय गर्दै हरेक स्टेसनले स्टुडियोले बनाएको आचारसंहितालाई प्रस्तोताले ख्याल गर्नुपर्छ। साथै माइक्रोफोनको संरचना र संवेदनशीलता नबुझी स्टुडियो प्रवेश गर्दा दुर्घटना हुनसक्छ। अहिले प्रायः स्टेसनले आफैं प्राविधिक र सञ्चालक बन्ने वातावारण बनाएको हुन्छन यसमा प्राविधिक र प्रस्तुति दुबै पक्षमा चनाखो बन्नुपर्छ नत्र रेडियोमा समस्या देखिनसक्छ ।
प्रस्तुति
प्रस्तोताले शब्दले भाव र स्वरले भावना बोल्न सक्नुपर्छ। प्रस्तोता शब्द संगै स्वरमा बफादार बन्न आवश्यक छ । एउटा गीतिकथामा कुनै मानिस दुःखको साथ पढ्छ, त्यो दुःख ज्यादै दर्दनाक छ भने त्यसको प्रस्तुति त्यस्तै कारुणिक हुन्छ अनि उहि व्यक्ति एसएलसी वा कुनै परीक्षामा सफल हुन्छ भने त्यसको प्रस्तुत ज्यादै सुखद हुन्छ। पहिले दुःखको बेलामा भएको जस्तै प्रस्तुतिले त्यहाँ काम चल्दैन। स्क्रिप्ट र मुड अनुसार प्रस्तुतिमा उतार चढाव आउनै पर्छ। उतार चढावको नाममा स्रोताको कान टट्याउछ की त्यो पनि ध्यान दिनैपर्छ । अझ बोल्दा हामीले भित्रैबाट आउनेगरी ठुलो स्वरमा बोल्नसक्नुपर्छ । जिव्रो मात्रै फड्कारेर बोल्दा हाम्रो बोलिमा मिठास नहुनसक्छ त्यसकारण घाँटीभित्रैबाट बोल्नसक्नुर्छ । अझ प्रस्तोताले विहान विहान संगीतको सरगममा अभ्यास गर्न जरुरी जस्तै छ । तपाईलाई कति याद छ पहिला पहिला रेडियो नेपालमा स्वर परिक्षा बनाएर कलाकार उत्पादन गर्दै उनैलाई नै रेडियोमा कार्यक्रम प्रस्तोताको रुपमा राख्ने प्रचलन थियो । त्यसकारण प्रस्तोता एउटा मिठो स्वर भएको कलाकार पनि हुनुपर्छ ।
निष्कर्ष
स्क्रिप्ट लेखनका नियम वा सिद्धान्त यी नै हुन् भन्ने हुनुहुदैन भएका पनि बनाएर बनाइएका हुन । छोटो, मिठास र सरल बनाउन सकेमा त्यसैको सिद्धान्त राम्रो होला तर यसो भन्दैमा भाषा आफू अनुकूल बनाउने होइन, भाषा अनुकूल आफू बन्ने हो। यसर्थ रेडियो लेखन जहिले पनि सुन्नको लागि हो। भाषा बिगार्ने अधिकार हामी कसैलाई छैन।
स्क्रिप्ट लेखनको योजना, उद्देश्य र लक्ष्य किटान गरेर लेख्न बसेमा सफल भइन्छ। लामो बनाएर राम्रो हुन्छ भन्नेपनि हैन छोटोमा पनि मिठो बनाएर सबैकुरा दिन सके सफलता प्राप्त हुन्छ । लामो डोरी बाटे पनि गाँठो एउटै पार्ने हो भने डोरी लामो बाटेर मात्रै गाँठो पार्नुपर्छ भन्ने नसोच्दा हुन्छ। छोटो डोरीमै गाँठो पार्न सिक्नुपर्छ। रेडियो स्कृप्ट छोटो, मिठास, सरल, सरस र कर्णप्रिय हुनुपर्छ । (लेेखक कान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष तथा रेडियो तहल्का सल्यानका स्टेशन म्यानेजर हुन )