अन्तर्राष्ट्रिय कल बाइपास गर्ने भारतीयलाई समात्यो प्रहरीले

नेपालगञ्‍ज, १६ माघ । अन्तर्राष्ट्रिय कल बाइपास गर्ने धन्दामा लागेका एकजना भारतीय नागरिकलाई बाँके प्रहरीले पक्राउ गरेको छ।

भारत मध्यप्रदेश जबलपुर जिल्लाका ३१ वर्षीय ओरुप चटर्जीलाई नाकामा रहेको इलाका प्रहरी कार्यालयले विभिन्न उपकरणसहित पक्राउ गरेको हो। कोहलपुर क्षेत्रमा बसेर विद्युतीय चोरी गरेका उनी भारत फर्किने क्रममा नाकामा पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज बसन्तकुमार बस्नेतका अनुसार, चटर्जीको साथबाट ल्यापटप एक थान, मोबाइल तीन थान, कल बाइपास गर्ने मेसिन एक थान, वाइफाई राउटर एक थान, एनसेल सीम दश वटा, एनटीसी सीम २ वटा, एनसेलको पाँच सयको रिचार्ज गरेको दश वटा कार्ड, इन्डियन बोडाफोनको नौ थान सीम, तार, मल्टिपललगायत बरामद भएको छ।

तीन दिनअघि बाँकेमा आएको बताउने चटर्जी आज फर्किदै थिए।चटर्जीको धन्दामा कति मानिस संलग्न छन्, को को छन्, कहाँ छन्, कसरी उनीहरुले धन्दा चलाएका थिए भन्ने बारेमा प्रहरीले अनुसन्धान थालेको जमुनाहाका इन्चार्ज बस्नेतले बताए।

Loading...