काठमाडौं । सरकारले औषधि बजारमा प्रभावकारी अनुगमन नगर्दा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन्। औषधि व्यवस्था विभागले औषधिको उचित मूल्य निर्धारण नगर्दा विदेशबाट आयातितभन्दा स्वदेशमा उत्पादित औषधिको मूल्य आठ गुणासम्म महँगो पर्न गएको छ।
विदेशबाट आयातित र स्वदेशमै उत्पादित १३ वटा एउटै ‘जेनेरिक’ नाम एवं ‘थेरापी’ भएको औषधिको मूल्यको तुलनात्मक अध्ययन गर्दा नेपाली औषधि आठ गुणा बढी महँगो रहेको तथ्य फेला परेको हो।
राज्यले औषधि उत्पादक कम्पनीलाई कच्चा पदार्थ आयात गर्दा शून्य भन्सार र आयकरमा २० प्रतिशत छुट दिँदै आएको छ। तर उपभोक्ताले आयातित औषधिभन्दा स्वदेशमा उत्पादित औषधि महँगोमा किन्दै आएका छन्। विदेशबाट औषधि ल्याउँदा पाँचदेखि सात प्रतिशतसम्म भन्सार तिर्नुपर्छ।
देउराली जनता फर्मास्युटिकल्स प्रालि (डिजेपिएल) ले उत्पादन गरेको ‘जेनेरिक’ नाम ‘-यामिप्रिल’ भएको रक्तचापकोर्यामिप–२.५ ब्रान्ड नाम भएको औषधिको अधिकतम खुद्रा मूल्य (एमआरपी) प्रति ट्याब्लेट ११ रुपैयाँमा बिक्रीवितरण भइरहेको छ। सोही जेनेरिक नाम भएको रक्तचाप थेरापीमा प्रयोग हुने विदेशबाट आयातित कारडेस–२.५ ब्रान्डको औषधि भने प्रतिट्याब्लेट एक रुपैयाँ ३४ पैसामा उपलब्ध छ। यो मूल्य अन्तर ८ गुणाभन्दा बढी हो।
डिजेपिएलले नै उत्पादन गरेको ‘एटोरभास्टाटिन जेनेरिक हाइपोलिप–२० ब्रान्ड’ नामक मुटुरोगको औषधिको एमआरपी प्रतिट्याब्लेट २० रुपैयाँ ५० पैसा छ। सोही जेनेरिक नामको आयातित ए्याटकल–२० ब्रान्ड औषधिको एमआरपी भने प्रतिट्याब्लेट ६ रुपैयाँ ३८ पैसामा बिक्री भइरहेको छ। यसमा विदेशीभन्दा स्वदेशी औषधि तीन गुणा महँगो देखिएको छ।
नेसनल हेल्थकेयर प्रालिबाट उत्पादित भोग्लिबोस जेनेरिक नामक मधुमेह थेरापी (चिनीरोग) का बिरामीले खाने भोग्लिजेम–०.२ ब्रान्ड े औषधिको अधिकतम खुद्रा मूल्य प्रतिट्याब्लेट ११ रुपैयाँ छ। सोही जेनेरिक नाम र प्रयोजनका लागि विदेशबाट आयातित मेगावोग ब्रान्ड नामक औषधिको एमआरपी प्रतिट्याब्लेट ४ रुपैयाँ ४८ पैसा छ। यसरी एउटै ट्याब्लेटमा झन्डै तीन गुणा अर्थात ६ रुपैयाँ ५२ पैसाको अन्तर रहेको पाइयो।
नेपाल फर्मास्युटिकल्स ल्याबोरेटोरी प्रालिबाट उत्पादित टेल्मी–४० ब्रान्ड नामको औषधि बजारमा प्रतिट्याब्लेट १३ रुपैयाँमा बिक्रीवितरण भइरहेको छ। सोही जेनेरिक नाम र थेरापीका लागि प्रयोग हुने विदेशबाट आयातित आर्बिटेल–४० ब्रान्ड नामक औषधि नेपाली बजारमा प्रतिट्याब्लेट १० रुपैयाँ ७१ पैसामा बिक्री भइरहेको छ।
नेपाल फर्मास्युटिकल्स ल्याबोरेटोरी प्रालिले उत्पादन गरेको मधुमेह रोगका बिरामीले खाने फरमिन– जी १ ब्रान्ड औषधि प्रतिट्याब्लेट ८ रुपैयाँ २५ पैसा तिरेर उपभोक्ताले किनिरहेका छन्। सोही नामको विदेशी ब्रान्डको औषधि प्रतिट्याब्लेट ६ रुपैयाँ ९६ पैसामा खरिद गरेको भेटियो।
मधुमेह रोगका बिरामीले नै सेवन गर्ने म्याग्नुस फर्माले उत्पादन गरेको मेटफरमिन जेनेरिक नामके रिफम–८५० ब्रान्ड नामक औषधि बजारमा प्रतिट्याब्लेट तीन रुपैयाँका दरले बिक्रीवितरण भइरहेको छ। सोही जेनेरिक नाम भएको आयातित बायगोमेट–८५० औषधिको मूल्य प्रतिट्याब्लेट दुई रुपैयाँ १४ पैसामा बिक्री भएको पाइएको छ।
नेपाली औषधि उत्पादक कम्पनीलाई औषधि उत्पादनका लागि पैठारी गर्ने कच्चा पदार्थका लागि सरकारले एक पैसा पनि भन्सार शुल्क नलिने (शून्य भन्सार सुविधा) को व्यवस्था गरेको छ। तर, नेपालमैै उत्पादन भएका औषधिभन्दा पाँचदेखि सात प्रतिशत भन्सार शुल्क तिरेर आयत गरिने विदेशी कम्पनीका औषधि सस्तोमा उपलब्ध हुनुले औषधि कम्पनीले उपभोक्तामाथि ठगी गरिरहेको प्रस्ट हुने अधिवक्ता केदार कार्कीको आरोप छ।
पिसाबसम्बन्धी समस्या (प्रोस्टेट) का बिरामीले खाने ओम फर्मास्युटिकल्स ल्याब प्रालिद्वारा उत्पादित ट्यामसुलोसिन जेनेरिक नाम भएको प्रोस्टाम– ०.४ ब्रान्डको औषधिको मूल्य एमआरपी १४ रुपैयाँ प्रतिट्याब्लेट छ। ट्यामसुलोसिन जेनेरिक नाम भएको प्रोस्टेटकै बिरामीले सेवन गर्ने कन्टिफ्लो–०.४ ब्रान्ड नामक औषधि १० रुपैयाँ ७३ पैसामै प्रतिट्याब्लेट बिक्रीवितरण भएको तथ्यसमेत फेला परेको छ।
एसियन फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको न्याप्रक्सेन जेनेरिक नाम भएको एनासेन–५०० ब्रान्ड नामक पेन किलर (दुखाइ कम गर्ने) प्रतिट्याब्लेट ७ रुपैयाँमा बिक्रीवितरण भइरहेको छ। न्याप्रोसिन जेनेरिक नामक आयातित न्याप्रोसिन ब्रान्ड औषधिको बजार मूल्य प्रतिट्याब्लेट ५ रुपैयाँ ४ पैसा छ।
एन्टिबायोटिक्स औषधिमा पनि व्यापक रूपमा मूल्यमा असमानता देखिन्छ। स्वदेशी कम्पनीबाट उत्पादित एन्टिबायोटिक्स औषधि महँगो रहेको फेला प¥यो। नेसनल हेल्थकेयर प्रालिद्वारा उत्पादित सिफ्पोडसिजम क्लाभुलेनेट जेनेरिक नामको प्रोडक्सिम सिभी ब्रान्ड नामको एन्टिबायोटिक्स (संक्रमण फैलिएका बेला ब्याक्टोरिया मार्ने) औषधि प्रतिट्याब्लेट ४५ रुपैयाँमा बिक्री भइरहेको भेटियो। सोही जेनेरिकको माइक्रोसेफ–२०० ब्रान्ड नामक औषधि ४२ रुपैयाँ ४४ पैसा प्रतिट्याब्लेट रहेको फेला परेको छ।
सेफिक्सिजम जेनेरिक नाम भएको नेपाल फर्मास्युटिकल ल्याब्रोटोरिज प्रालिले उत्पादन गरेको केफिक्स–२०० ब्रान्डको एन्टिबायोटिक्स औषधिको एमआरपी प्रतिप्रयाब्लेट २० रुपैयाँ छ। सोही जेनेरिक नामको आयातित सिफोलक–२०० ब्रान्डको औषधिको एमआरपी प्रतिट्याब्लेट १४ रुपैयाँ ८५ पैसा रहेको पाइएको छ।
नेपाल फर्मास्युटिकल्स ल्याबोरेटोरी प्रालिले बजारमा पठाएको एयाम्पिक्ल्सा जेनेरिक नामको स्टाइलक्स डिटी–१२५ ब्रान्डको एन्टिबायोटिक्स प्रतिट्याब्लेट ४ रुपैयाँमा बिक्रीवितरण भइरहेको छ। सोही जेनेरिक नामको आयातित मेगापेन–१२५ ब्रान्ड नामको औषधि भने प्रतिट्याब्लेट दुई रुपैयाँ ७३ पैसामा पाइन्छ।
त्यस्तै ओम फर्मास्युटिकल्स प्रालिद्वारा उत्पादित प्रिगाबालिन जेनेरिक नामक प्रिगालिन–७५ ब्रान्डको एन्टिबायोटिक्स प्रतिट्याब्लेट २९ रुपैयाँ २० पैसा पर्छ। सोही जेनेरिक नाम भएको आयातित म्याक्सगालिन–७५ ब्रान्डको एन्टिबायोटिक भने प्रतिट्याब्लेट २० रुपैयाँ १६ पैसामै पाइन्छ।
अधिवक्ता कार्कीले सरकारको बेवास्ता र मिलेमतोका कारण औषधिमा अपभोक्ताले मँहगो शुल्क तिर्न बाध्य भएको बताए। सरकारले स्वदेशी औषधि उत्पादन कम्पनीलाई शून्य भन्सारको व्यवस्था गरे पनि उल्टै विदेशी कम्पनीबाटै उपभोक्ता ठगिन पुगेको उनको भनाइ छ।
देउराली जनता फर्मास्युटिकल्स प्रालिका अध्यक्ष हरिभक्त शर्माले नेपालमा उत्पादित औषधिको उत्पादन लागत बढी भएकाले विदेशको सबैभन्दा सस्तो प्रोडक्टलाई लिएर यहाँ महँगो भयो भन्न नमिल्ने जिकिर गरे। उनले बजारमा थौरे माग र न्यून परिमाणमा उत्पादन हुने भएकाले पनि केही महँगो देखिएको बताए।
ओम फर्मास्युटिकल्स प्रालिका प्रबन्धनिर्देशक सुदर्शन श्रेष्ठले औषधिको पैसाभन्दा गुणस्तर हेर्नुपर्ने जिकिर गरे। उनले हरेक कम्पनीको आआफ्नै स्तर हुने भन्दै बजारमा हेर्दा मूल्य फरक पर्न सक्ने दाबी गरे। श्रेष्ठले हरेक विषय बाहिरबाट ल्याउनुपर्ने भएकाले महँगो परेको बताए। एसियन फर्मास्युटिकल्स प्रालिका शंकर घिमिरेले ब्रान्डअनुसार फरक मूल्य पर्ने बताए।
म्याग्नुस फर्मास्युटिकल्स प्रालिका प्रबन्धनिर्देशक प्रेम जातियाले सबै औषधिको आआफ्नो गुणस्तर हुने भएकाले बढी मूल्य परेको भन्न नमिल्ने बताए। उनले आफूहरुले उत्पादन गरेको भन्दा पनि महँगो मूल्यको औषधि बजारमा रहेको बताउँदै नेपालमा अन्य औषधि कम्पनीबाट उत्पादित औषधिभन्दा आफूहरूले केही सहुलियतमा बजारमा पठाएको दाबी गरे।
नेसनल हेल्थकेयर प्रालिका सेल्स म्यानेजर गोविन्दराज दाहालले नेपालका अन्य औषधि कम्पनी उत्पादन गरेको औषधिको तुलनामा आफूहरूको उत्पादन सस्तो भएको दाबी गरे। औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले भने विभागले प्रभावकारी ढंगले अनुगमन गर्ने तयारी गरेको बताए।