ललितपुर । महालक्ष्मी नगरपालिका, ललितपुरले आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब ८१ करोड ८८ लाख २० हजार ६ सय २९ रुपैयाँ ४२ पैसाको बजेट सार्वजनिक गरेको छ।
सोमबार इमाडोलमा सम्पन्न नगरसभाको १८औं अधिवेशनमा उपप्रमुख लक्ष्मी महर्जनले बजेट सार्वजनिक गर्दै संविधानले निर्देशित संघीय शासन व्यवस्थाअनुसार आर्थिक विकास, सामाजिक समावेशिता, सुशासन र पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट तयार पारिएको जानकारी दिइन्।
स्रोत व्यवस्थापन
बजेट स्रोत व्यवस्थापन अन्तर्गत नेपाल सरकारबाट १७ करोड ८८ लाख वित्तीय समानिकरण अनुदान, ३० करोड ७ लाख सशर्त/पूँजीगत अनुदान, ५० लाख समपुरक/पूँजीगत अनुदान तथा ६९ लाख विशेष/पूँजीगत अनुदान प्राप्त हुने अनुमान गरिएको छ।
बागमती प्रदेशबाट १ करोड ८० लाख बित्तीय समानिकरण, २ करोड ६७ लाख ८७ हजार सशर्त, १ करोड २० लाख समपुरक र ६५ लाख विशेष अनुदान प्राप्त हुने प्रक्षेपण गरिएको छ।
आन्तरिक आयबाट १९ करोड, राजस्व बाँडफाँडबाट ३९ करोड ४० लाख ९१ हजार ६ सय २९ रुपैयाँ ४२ पैसा, र मौज्दातबाट ६८ करोड बजेट व्यवस्थापन गरिने उल्लेख गरिएको छ।
बजेटका प्राथमिकता
बजेटमार्फत संस्थागत क्षमता विकास, पूर्वाधार निर्माण, सामाजिक सेवा विस्तार, दिगो विकास लक्ष्यको स्थानीयकरण, आन्तरिक स्रोत परिचालन, कर प्रणाली सुधार, र सार्वजनिक खर्चको प्रभावकारिता वृद्धि जस्ता क्षेत्रहरूमा जोड दिइने जनाइएको छ।
महर्जनका अनुसार भौतिक पूर्वाधार, खानेपानी, सांस्कृतिक सम्पदा संरक्षण, पर्यटन प्रवर्द्धन, स्वास्थ्य सेवा, फोहोरमैला व्यवस्थापन, विपद् तथा वातावरण व्यवस्थापन, र विद्युतीय प्रणालीमार्फत सेवा प्रवाहको विस्तार प्रमुख प्राथमिकता हुन्।
नीति तथा कार्यक्रम
बजेट प्रस्तुत गर्नुअघि नगरप्रमुख हरिगोविन्द श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रेमबहादुर महर्जनले महालक्ष्मीलाई समृद्ध र व्यवस्थित नगर बनाउने जिम्मेवारी सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीको काँधमा रहेको बताए।
उनले स्थानीय सरकार गठनपछि जनताको विकासका कामहरू गति लिएको उल्लेख गर्दै स्वास्थ्य, शिक्षा, खानेपानी र पूर्वाधार निर्माणमा अझै काम गर्नुपर्ने बताए। काभ्रे र भक्तपुर जोड्ने सडक फराकिलो बनाउन जोड दिइनुपर्ने र ग्वार्कोको फ्लाईओभरले ट्राफिक समस्या घटाएको पनि उनले बताए।
संघीय सांसदका लागि बजेटमा २१ करोड विनियोजन भएको र त्यसअनुसार गोदावरी खोला तथा कर्मनाशा खोलाको करिडोर विकासका योजना अघि सारिएको जानकारी पनि दिए।
सम्मान तथा समापन
नगरसभामा नगरगान रचनाकार, हरियाली प्रवर्द्धनमा योगदान दिने संघ–संस्था तथा व्यक्तिहरूलाई सम्मान गरिएको थियो।