काठमाडौं, ४ मंसिर । टेबलमा फाइलसँगै सयको नोट। महिला कर्मचारीले हतपत टेबलमूनी घुसारिन्। तुरुन्तै ३० रुपैयाँ फिर्ता दिइन्। सेवाग्राहीले हतपत गोजीमा हाले। ‘उता जानुस् अब,’ उत्तरतर्फ संकेत गर्दै कर्मचारीले भनिन्। त्यसपछि घोसेमुन्टो लगाई कतै नहेरी भनिन् ‘अर्को आउनुस्, अर्को।’
त्यतिबेला बिहानको ११ बजेर २५ मिनेट गएको थियो। एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयको कोठा नम्बर १२ मेडिकल शाखाको दृश्य हो यो। आँखाको जाँच गर्नेको घुँईचो उस्तै थियो। फोटो खिच्नेको बाक्लो भिड। भिडभित्रै भइरहेको थियो खुलमखुला लेनदेन। गेटमै टिकट लिनेबेला आँखा जाँचवापत ३८ रुपैयाँ तिरे पुग्छ। तर भित्र घुस लिइन्छ, दिइन्छ। दिनमा एकपटक होइन, पटक पटक। जसको आँखा कमजोर हुन्छ, तिरेपछि स्वतः सद्धे हुन्छ।
आइतबार बिहान ९ः३० बजे। एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय पुग्दा बिचौलियोले बिचमै बाटो छेके। तिनले केरकारको शैलीमा सोधे, ‘लाइसेन्सका लागि हो रु यता आउनु, यता।’ एककदम अगाडि नबढ्दै अर्का विचौलियाले फेरि बाटो रोके। उनले भने, ‘तपाईहरु जानुभयो भने ४ घन्टा लाग्छ। हामी गयौं भने १० मिनेटमा बन्छ।’ उनले यताउता हेर्दै सुस्तरी भने, ‘सिधै हाकिमलाई बुझाउने हो, आधा कर्मचारीलाई, आधा मलाई।’
अन्नपूर्ण पोस्टले लेखेको छ, यातायात व्यवस्था विभागले काम सहज गर्न विभिन्न शाखा विस्तार गर्यो। तर, भिड उस्तैे, सर्वसाधारणले पाउने सास्ती उस्तै। सजिलै लाइसेन्स मिलाइदिन्छु भन्ने, सिधै हाकिम भेटाइ दिन्छु भन्ने, बाटो छेकीछेकी काम लिन खोज्ने, दिन नखोजे कानुनी झन्झट देखाएर तर्साउने अवस्था उस्तै छ। यत्रतत्र किराना पसल। कार्यालय परिसरबाहिर फोटोकपी मेसिन राखिएका छन्। अन्यत्रभन्दा दोब्बरभन्दा बढी महँगो छ।
नयाँ मान्छे मुल गेटमा देख्नै हुन्न। विचौलियाहरु सलबलाउँछन्। कार्यालयभित्र पस्नै नपाइ सेवाग्राही तिनको फन्दामा पर्छन्। गेटमा नागरिक वडापत्र छैन। ठूलो अक्षरमा कुनै सुचना पनि छैन। सोधपुछ कक्षसमेत छैन। ठूला तथा साना सवारी साधनको नविकरण र दर्ता गर्ने कार्यालय अगाडि छ सोधपुछ कक्ष। तर त्यहाँ कर्मचारी दिनभरि भेटिएनन्। वडापत्र पनि त्यहीं छ, तर छेकिएको छ ढोकाले।
दिउसो १ः२४ बजे। स्थान उही। एकजना अग्ला कदका कालो कोट लगाएका सेवाग्राही आँखा चेक गर्ने ठाउँ नजिकै आइपुगे। उनी अलि अलमल देखिए। छेउका एक कर्मचारीले अगाडि बढ्न भनिन्। उनलाई भित्तामा झुन्ड्याइएको ‘एबिसिडी’ पढ्न लगाइयो। अलि अलमलिए। त्यहाँबाट उनलाई अझै अगाडि जानू भनियो। ‘एक सय रुपैयाँ निकाल्नुस्’, कुर्सीमा बसिरहेका कर्मचारीले रुखो स्वरमा भने। उनले पाँचसयको नोट निकालेर दिए। कर्मचारीले चुपचाप टेबलको घर्रामा हाले। अलि छिटोछिटो ४ सय रुपैयाँ फिर्ता दिए। ‘उता जानुस्’, उत्तरतिरको टेबल देखाइदिए। उनी त्यता गए। लगत्तै बाहिरिए।
सेवाग्राही त्यहाँ काम सकेर अन्य कोठाहरुमा जान्थे। उनी भने गेटबाट निस्किएर सरासर सडक तरे। एक अधवैसे उनको पछि लागे। पारी पुगेर चुरोट सल्काए। अधवैसैले भने, ‘लाइसेन्स घर आइपुग्छ पासा। अब ढुक्क भएर घर गए हुन्छ।’ कोट लगाउनेले चुरोट तान्दै भने, ‘अनि कति हो त, कति रु ’ अधवैसेले भने, ‘८/१० हजार त हो नि।’ चुरोट मुखमै राखेर उनले पर्शबाट फटाफट ५ हजार निकालेर दिए। अधवैसैले मुसुक्क हाँस्दै पर्समा हाले। अनि कोट लगाउनेले विदा हुँदै भने, ‘रत्नपार्कको शौचालय नजिकै मःमः पसल छ नि, हो त्यसको छेउमा ल्याइदिनू।’ उनी फटाफट सातदोबाटोतिर लम्किए। एकसय मिटर पर रोकिराखेको रातो कारमा चढेर हुँइकिए।
दिउसोको २ः३० बजे । कोठा उही । भिड पनि उस्तै । सुरक्षागार्डको आँखा छल्दै त्यही टेबलमा पुग्दा एकजना अधवैसे पुरुष आँखा जाँच गराउने ठाउँमा अनकनाइरहेका थिए। त्यसपछि टेबलमा बस्ने कर्मचारीतर्फ उनले ५० रुपैयाँको नोट अघि सारे। कर्मचारीले तुरुन्तै टेबलमूनी राखे। उनलाई पनि उत्तरतिरको टेबुलमा जान भने।
कोठा नम्बर ५ । ढोकामा लेखिएको छ ‘कम्युटर कोठा’। त्यहाँ पुग्दा एकजना चस्मा लगाएमा कर्मचारी व्यस्त थिए। छेउछाउमा उभिएका थिए ३/४ जना सेवाग्राही । एकजना मोटो ज्यानको सेवाग्राहीले जिन्सको जोगीबाट सय/पचासको नोट फुत्त निकाल्दै भने, ‘सर यो…।’ तर कोठामा अन्य मानिस देखेपछि कर्मचारीले पैसा थापेनन्। सेवाग्राहीले पैसा तुरुन्तै फेरि गोजीमा हाले । डराए जस्तो गरी यताउता हेरे अनि फटाफट बाहिरिए।
भित्र मिलेपतोमा काम भइरहेको छ। बाहिर सर्वसाधारणले पाउनु सास्ती पाइरहेको छ। कतिका वर्षौंदेखि काम बनेका छैनन्। कुरिहेका छन्, तर कहिले बन्छ थाहा छैन। हजारौं खर्च गरी लाइसेन्स लिन काठमाडौं आउँछन्। रित्तो हात फर्किन्छन्।
लामो समयदेखि कतारमा ड्राइभिङ गर्दै आएका वीरबहादुर बस्नेत डेढ महिनाअघि नेपाल आए। गाडीको लाइसेन्स कतारकै छ। लाइसेन्स नेपालीकरण गर्ने सोचले आइतवार उनी बिहानै यातायात व्यवस्था कार्यालय पुगे। उनी आउँदा कार्यालय खुल्ने समय नै भएको थिएन। सरकारको कार्यालयभन्दा पहिला विचौलाको झोले कार्यालय खुल्छ। तिनै कार्यालयका विचौलियाहरुले उनलाई सघाउने बताए। तर उनी विचौलियाको भर परेनन्। ‘धेरै पैसा मागेपछि मैले मानिन,’ उनले भने।