दसै र तिहारको लामो विदामा हेर्नैपर्ने केही फिल्महरु

एक समय थियाे सहरमा सीडी पसल निकै चम्केका थिए । त्यसैगरी चम्केका थिए साइबर पसल । हरेक गल्ली गल्लीमा सीडी र साइबर पसल भेटिन्थे । सीडी किनेरै फिल्म हेर्नेहरु मात्र हाेइन सीडी भाडामा लिएर फिल्म हेर्नेहरु पनि उत्तिकै थिए । काठमाडाैंकाे महाबाैद्ध र ठमेल त सीडी पसलकाे केन्द्र नै थिए । तर, यति छाेटाे समयमै त्याे युग करिव करिव समाप्त भएकाे छ ।

अाज सीडीकाे जमाना हराएर युट्यूबकाे जमाना अायाे । हरेक कुरा युट्यूवमा पाउन थाल्याे । साथै अन्य धेरै एप्सहरु अाएका छन जहाँ फिल्मदेखि धेरै कुराहरु सजिलै हेर्न सकिन्छ । पछिल्ला केही वर्षमा नै इन्टरनेटकाे यति विकास भयाे र त्यसकाे प्रयाेगले पनि यति धेरै व्यापक रुप लियाे कि सायद यति छाेटाे समयमा भएकाे विकास यसअघि कहिल्यै भएन । याे अवधिमा खासगरी इन्टरनेटकाे प्रयाेग र त्यसकाे विकास यति ह्वात्तै बढेकाे छ कि अाज घरघरमा मान्छेहरु इन्टरनेट सररर चलाउन सुरु गरेका छन । अझ त स्मार्टफाेन अाएपछि अाज जमाना नै फेरिएकाे छ । काेठाकाेठामा मानिसहरु दुनियाँसँग जाेडिन्छन । दुनियामा भएका घटना परिघटनासँग जाेडिन्छन । त्यसैगरी संसारभरका फिल्म उद्याेगमा भएका नयाँ नयाँ पहलुहरुकाे जानकारी लिन्छन । यस्ताे छ कि अचेल मानिसहरुकाे जीवन शैली नै बदलिएकाे छ । दैनिकी नै बदलेकाे छ । अनि जीवनका अनुभूतिहरूलाई मानिसहरुले संसारलार्इ पस्किरहेका छन सजिलै फरक फरक ढंगले ।

पछिल्लाे समय युट्यूब पनि यति प्रभावकारी भएकाे छ कि १० वर्षअघिसम्म सीडी डीभीडी पसलमा नभेटिने फिल्म अहिले युट्युब र फिल्मका एपहरूमा सजिलै भेटिन्छन । फिल्मी दुनियाँकाे कुरा गर्दा हलिउड र वलिउडकै प्रभाव छ संसारभर । त्यति हुँदा हुँदै पनि युरोप, ल्याटिन अमेरिका हुँदै एसियाकै इरान, कोरिया, जापान र चीनका फिल्महरु पनि त्यतिकै सशक्त हुँदै गएका छन् ।

किताब पढेजस्तो फिल्म हेर्नुको अनुभूति र तरिका जुन फिल्ममा पनि उस्तै हुँदैन । फिल्मको विषय वा प्रस्तुतिको शैलीको स्वाद बेग्लै हुन्छ । तर, यो प्राविधिक कला भएकाले हेर्ने माध्यमले पार्ने फरक टड्कारो हुन्छ । पर्दामा पानी परेजस्तो लामो धर्सा देखिने पर्दामा हेर्ने पुरानो फिल्म र आइम्याक्समा रियल थ्रीडीमा फिल्म हेर्नुको मजा एउटै हुँदैन । यहाँ केही फिल्मका नाम दिइएकाे छ जसले दशै र तिहारकाे लामाे विदालार्इ अझ बढी स्मरणीय बनाउनेछन

टेस्ट अफ चेरी

अब्बास किरुस्तामीको यसै वर्ष निधन भए पनि उनको फिल्म ‘टेस्ट अफ चेरी’को मौलिकता कहिल्यै मर्ने छैन । आत्महत्याका लागि आफूलाई मद्दत गर्ने मानिसको खोजीमा बाहिरी तेहरानका पर्वतहरूमा गाडी चलाई हिँड्ने मुख्य पात्रको मनोदसाको कथा यो फिल्ममा छ । पहाडको वृत्तमा उसले भेट्ने तीनजना मानिसहरूसँग उसको संवादले मानवीय भावना, संवेदना र अवसादको कथा भन्छ । कुनै मसलाविहीन मौलिक शैलीको यो फिल्म एसियाली सिनेमा शैलीको नमुना हो । अब्बासकै ‘क्लोज अप’, ‘टेन’, ‘द विन्ड विल क्यारी अस’, ‘सर्टिफाइड कपी’ र ‘लाइक समवान इन लभ’ लगायतका फिल्म पनि उत्कृष्ट छन् ।

एमेरोस पेरोस

अब्बास हिजोका फिल्ममेकर हुन् भने अलेजान्द्रो गोन्जालेज इनारितु आजको समयका । पछिल्लो दुई वर्ष लगातार उनले उत्कृष्ट निर्देशकको ओस्कर पाएबाटै उनी यो समयका सबभन्दा चर्चित निर्देशक हुन् भन्ने थाहा पाइन्छ । ‘एमेरोस पेरोस’ चाहिँ उनलाई स्थापित गर्ने पहिलो फिल्म हो । मेक्सिकन निर्देशक अलेजान्द्रोको यो फिल्म स्पेनी भाषामा छ । एउटा सानो कुकर ‘फाइट’ले एक सहरका विभिन्न मानिसहरूको जीवनमा पार्ने प्रभावको कथा यो फिल्ममा छ । अलेजान्द्रोले यसपछिका अरू दुई फिल्म ‘बाबेल’ र ‘२१ ग्राम’ पनि एउटा घटनाले धेरैलाई पार्ने प्रभावबारे बनाएका थिए ।

दि रेभेनान्ट

‘दि रेभेनान्ट’ गत वर्षको सबभन्दा चर्चित फिल्म हो । यसले ओस्करमा उत्कृष्ट निर्देशक, फिल्म र अभिनेताको अवार्ड पायो । यसका निर्देशक अलेजान्द्रो गोन्जालेज इनारितुले ‘बर्डम्यान’ पछि दोस्रो ओस्कर यसका लागि पाए भने लियोनार्डो डिक्याप्रियोको लामो ओस्कर प्रतीक्षालाई यसले अन्त्य गरेको थियो । प्राकृतिक स्रोतको उपभोगमा आदिवासी र आप्रवासीको लामो द्वन्द्वलाई यो फिल्मले आफ्नो विषय बनाएको छ । हिउँ नै हिउँको जंगलमा एक्लै छोडिएको घाइते मानिसको संघर्षको यो कथामा निर्देशकले चलाखीपूर्वक मानिस जातिले गरेको संघर्षका झलकहरू घुसाएका छन् ।

द ग्रेट ब्युटी

भोलिपल्ट सहरमा ठूलो जादूको ‘सो’को तयारीमा रहेको जादूगर आफ्नो जिराफलाई घाँस हाल्दै छ । एउटा विरक्त लेखकसँग कुरा गर्दै जादुगरले जिराफलाई गायब बनाउँछ । आफ्ना दु:खले विक्षिप्त हुँदै गएको वृद्ध लेखक भन्छ— मलाई पनि यसरी नै गायब गरिदेऊ न । जादूगर भन्छ— मैले साँच्चिकै गायब गर्न सक्ने भए आफ्ना दु:खहरू गायब गर्ने थिइनँ होला ? यसरी सहर–सहर जिराफ बोकेर हिँड्थे ? ४० वर्षअघि लेखेको उपन्यासको ब्याज खाएर बसिरहेको लेखकको दोस्रो पुस्तकको सकसको बारे भए पनि ‘द ग्रेट ब्युटी’ विचार, भावना र दर्शनको सम्मिश्रण हो । युरोपेली सिनेमाको एउटा केन्द्र इटली हो । र, ग्रेट ब्युटी त्यसको प्रमाण ।

फ्लावर्स अफ वार

चिनियाँ सहरमा जापानीको आक्रमण जारी छ । युद्धले सहर तहसनहस भइसकेको छ । एउटा चिनियाँ सिपाही अनेक जुक्ति लगाएर जापानीलाई तर्साइरहेको छ । एक जना अमेरिकी स्वयंसेवक सिपाहीको फन्दामा परेको छ । र, क्रिस्चियन नन बन्नका लागि पढिरहेका केटीहरूको बीचमा अचानक सहरमा वेश्यावृत्ति गर्ने युवतीहरू आश्रयका लागि आइपुग्छन् । युद्धका बीचमा यी पात्रहरूको आपसी खिचातानी, इष्र्या र प्रेमको कथा हो, ‘फ्लावर्स अफ वार’ । चिनियाँ निर्देशक च्याङ यिमुको यो फिल्ममा हलिउड स्टार क्रिस्चियन बेलले मुख्य भूमिकामा अभिनय गरेका छन् । चिनियाँ संस्थापनका आलोचकका रूपमा स्थापित भएका यिमुले पछिल्लो कालमा चीन निर्माण र यसको इतिहासमाथि रुचि लिएर बनाएका फिल्ममा यो पनि पर्छ । इतिहासलाई कलात्मक ढंगले देखाउने कलाका लागि यो फिल्म प्रशंसनीय छ ।

इन द मुड फर लभ

हङकङका फिल्म निर्देशक वङ कार वाई आफ्ना प्रयोत्मक फिल्मका लागि प्रसिद्ध छन् । एकातिर उनले ‘इन द मुड फर लभ’ र ‘२०४६’ जस्ता फिल्म बनाएका छन् भने उनैले नोरा जोन्सलाई लिएर ‘माई ब्लुबेरी नाइट्स’ पनि बनाएका छन् । ‘इन द मुड फर लभ’ आकर्षण र अविश्वासको कथा हो । १९६० को हङकङमा एउटै अर्पाटमेन्टमा बस्न आएका दुई विवाहित युवा–युवतीको कथा यसमा छ, जो आफ्नो दम्पतीबाहेक अर्कातिर आकर्षित हुन्छन् ।

स्प्रिङ, समर, फल, विन्टर एन्ड स्प्रिङ

पछिल्लो समयमा कोरियन निर्देशक किम की दुकको नाम संसारभर फैलिएको छ । यसमा योगदान गर्ने फिल्म हो, ‘स्प्रिङ, समर, फल, विन्टर एन्ड स्प्रिङ’ । पृथ्वीका चार यामलाई मानव जीवनका चार क्षणसँग दाँज्ने यो फिल्म एउटा पात्रको बाल्यकाल, किशोरवय, जवानी र प्रौढ अवस्थाका भिन्न सोच र भोगाइ दर्साउँछ ।

द टर्मिनल

हलिउडका दुई श्रेष्ठ प्रतीभा निर्देशक स्टिवन स्पिलवर्ग र अभिनेता टम ह्याङ्क्सले सहकार्य गरेका केही फिल्ममा यो पनि पर्छ । कार्केजिया नाम एउटा काल्पनिक देशबाट अमेरिका आएर विमानस्थलको टर्मिनलमै अड्किएको एक युवाको कथा यो फिल्ममा छ । अंग्रेजीको ज्ञान नभएको युवाले अमेरिका छिर्न गर्ने संघर्षका साथै, विमानस्थलमै यसले खडा गर्ने अस्थायी आश्रयको यसमा छ । केही समीक्षकहरूले यो मन छुने फिल्मलाई ‘आफ्नो देश नहुँदा के हुन्छ ?’ भन्ने देखाउने राजनीतिक फिल्मको रूपमा पनि व्याख्या गरेका छन् ।

द किंग्स स्पिच

दोस्रो विश्वयुद्ध घोषणाको संघारमा छ । बेलायतका राजाले जर्मनीमाथि युद्धको घोषणा गर्नु छ । यस्तो घोषणा जसले आधा संसारमा राज गरेको बेलायती साम्राज्यका सैनिकलाई विश्वयुद्ध जित्न प्रेरित गर्न सकोस् । घोषणा तयार छ, घोषणा सुनाउने रेडियो तयार छ, राजाको घोषणा सुन्न हज्जारौं सैनिक पनि तयार छन् । तर, त्यस्तोमा राजा घोषणा गर्न तयार भएन भने ?
‘द किंग्स स्पिच’ बेलायतका राजा जर्ज छैटौंको त्यही सकसको कथा हो, जो आफ्नो भकभकाउने समस्यासँग जुधिरहेको छ । आफ्नो यो समस्यालाई एक जना अस्ट्रेलियाली ‘भ्वाइस थेरापिस्ट’को मद्दतले राजाले कसरी जितेका थिए भन्ने जान्नका लागि यो फिल्म हेर्नुस् ।

टक टु हर

सिनेमा पारखीहरूका बीच पेड्रो अल्माडेभोर चिनाउनुपर्ने नाम होइन । स्पेनका यी निर्देशक आफ्ना प्रयोगधारी फिल्मका कारण संसारभर चर्चित छन् । यिनकै फिल्म ‘अल अबाउट माई मदर’ले नेपालको ओस्कर–इन्ट्री ‘क्याराभान’लाई पछि पार्दै ओस्कर जितेको थियो । तर, मेरो फेभरेटचाहिँ ‘टक टु हर’ हो । एउटा पुरुष–नर्सको एक युवतीप्रतिको अव्यक्त प्रेमको यो कथा पेड्रोका अरू फिल्मजस्तै फरक छ ।

सङ अफ दि स्प्यारोज

माजिद माजिदी संसारभर मन पराइएका इरानी फिल्म निर्देशक हुन् । उनका ‘चिल्ड्रन्स अफ हेभन’, ‘कलर अफ प्याराडाइज’, ‘बारान’जस्ता फिल्म प्रसिद्ध छन् । बालमनोविज्ञान र इरानी समाजमा व्याप्त गरिबी र अभावका विषयमा उनी धेरै फिल्म बनाउँछन् । ‘सङ अफ दि स्प्यारोज’ पनि यही कोटीको फिल्म हो । मजदुर श्रेणीको पिताको संघर्ष र उसको बालक छोराको कथा यो फिल्ममा छ । रंगीविरंगी माछा पाल्नका लागि पोखरी सफा गरिरहेको बालक र उसकै लागि अस्ट्रिचलाई दाना हाल्नेदेखि तेहरानका सडकमा मोटरसाइकल–ट्याक्सी चलाउनेसम्मको काम गर्ने पिताको उदासीको गाथा यो फिल्मले भन्छ ।

तुत्सी

दक्षिण अफ्रिका, जोहानेसवर्गको स्लममा छ एउटा किशोर ग्याङ्ग । सान्तिनो लुटपाटमा रमाइरहेको यो ग्याङको मुखिया छ एक अश्वेत किशोर । आफूले चोरेको एउटा कार लिएर हिँडेको केही बेरमै जब यो किशोरले कारभित्र सानो बालक रोएको आवाज सुन्छ, यो बालकले यसको जीवन नै बदलिदिन्छ । चोरीमा प्राप्त भएको बालक र किशोर डनको सम्बन्धले मानवीय सम्बन्धको नयाँ व्याख्या प्रस्तुत गर्छ ।

मिड नाइट इन पेरिस

पेरिसको रेष्टुरेन्टमा अर्नेस्ट हेमिङ्वे भेटिए भने के होला ? कुरै कुरामा जोसिएर टेबुलमा मुड्की बजार्ने हेमिङ्वे अर्कैकी प्रेमिकालाई लिएर गायब भए भने ? वा त्यही रेस्टुरेन्टमा पिकासो पनि हातमा बु्रस लिएर बसिरहेका भेटिए ? यो यस्तै कथा हो । एउटा लेखकका पेरिस दिउसोमा अरूका लागि जस्तै छ तर जसै रात पर्छ, पेरिसमा हेमिङ्वे प्रकट हुन्छन् । रातभर हेमिङ्वेको समयमा पुग्ने लेखक दिउसोभरि त्यही समयका पात्रहरूले लेखेका स्मृति पढ्छ । र, अर्को राति पुरानै समयमा पुग्छ । दिउसो पढेका स्मृतिका किताबको आधारमा जब ऊ पुरानो समयका गल्ती सच्याउन थाल्छ अनि के होला ? उडी एलेनको कल्पनाको संसारमा यसमा उत्तर पाइनेछ ।

ओल्ड ब्वाई

आजसम्म कुनै फिल्मको क्लाइमेक्स हेर्दा तपाईंलाई उकुसमुकस भएको छैन भने ‘ओल्ड ब्वाई’ हेर्नुस् । दर्शकलाई कथाको वहाबसँगै बगाउँदै लगेर अन्तिममा स्तब्ध पार्ने क्षमता भएका निकै थोरै फिल्ममा यो पर्छ । पार्क चान उकले निर्देशन गरेको २००३ को यो कोरियन फिल्मको संसारभर धेरैवटा रिमेक बनेका छन् । यो फिल्मले क्यान्समा उत्कृष्ट फिल्मको अवार्ड पाएको थियो । आफ्नो कसुर थाहा नपाई सजाय पाउँदा कस्तो हुन्छ ? त्यो पनि सजाय दिने दण्डनायकबारे समेत थाहा नभई ? बदलाकै कथा भए पनि बदला कतिसम्म क्रूर हुन सक्छ भन्ने जान्नका लागि यो फिल्म हेर्नुस् ।

लस्ट इन ट्रान्सलेसन

फिल्म दुनियामा एक हलिउड निर्देशकको नाम निकै सानले लिने गरिन्छ । ती निर्देशकको नाम हो, फ्रान्सिस फोर्ड कोप्पोला । ‘गडफादर’ र ‘एप्पोक्लिप्टो नाउ’जस्ता फिल्मका निर्देशक कोप्पोलाकी छोरी हुन्, सोफिया कोप्पोला जसले ‘लस्ट इन ट्रान्सलेसन’ बनाइन् । हिंसालाई केन्द्रमा राखेर फिल्म बनाउने कोप्पोलाकी यी पुत्रीले भने टोकियोको व्यस्त जीवनमा अल्झिएका दुई प्राणीको मौन–मौन प्रेमकथालाई पर्दामा पेस गरेकी छन् ।

मदर इण्डियाः

सन् १९५७ मा ‘रिलिज’ भएको यो पिक्चर महबुब खानले निर्देशित गरेका थिए। राजकुमार, राजेन्द्र कुमार, सुनील दत्त र नरगिसको मुख्य भूमिका थियो र फिल्म स्त्रीप्रधान कथावस्तुमा आधारित थियो। तात्कालिक भारतीय परिवेशमा गाउँ, घर समाजमा स्त्रीको भूमिका, अंग्रेजको दासताबाट मुक्त तर आफ्नै वर्ग, समाज र धर्मको ठेकेदारीको चंगुलमा जकडिएको भारतीय ग्रामीण परिवेशको यथार्थ चित्रण गरेको थियो यो फिल्मले। नारी उन्मुक्ति र नारी सशक्तीकरण विषयलाई लिएर भारतमा अनेकौँ फिल्म बने, तर ‘मदर इण्डिया’ ले आर्जन गरेको ख्यातिको छेउछाउ पनि पुग्न सकेनन्।

हिन्दी सिनेमाको त्यो कालखण्ड गीत संगीत प्रधान रहेको थियो। र, नौशादको सुमधुर संगीत रहेको ‘मदर इण्डिया’ का गीतमा रफी, लता, मन्नाडे, शमशाद बेगमले आवाज दिएका थिए। भारतका नामूद शायर शकील बदायूनीले यस फिल्मका गीत लेखेका थिए। यदि मेरो स्मृति दुरुस्त छ भने ‘ओस्कर’का लागि नामांकित हुने यो नै पहिलो भारतीय फिल्म थियो।

जिस देश मे गंगा बहती है:

भारतीय संस्कृतिमा डाँकाको पेशा कति पुरानो होला? केही अनुमान गर्न सक्नु हुन्छ?? धार्मिक साहित्यले त रामायणका पुरोवक्ता वाल्मिकीलाई डाँका भएको नै उल्लेख गरेको पाइन्छ। अंगुलिमालबारे बौद्ध साहित्यमा डाँका भएको सहजै पढ्न पाइन्छ। भारतीय जनजीवनको जुनसुकै कालखण्डमा पनि डाँकाको उपस्थिति रहेको सत्य तथ्यलाई नजरअन्दाज गर्न सकिँदैन।

स्वतन्त्रतापछिको भारतमा पनि यो विकराल समस्या चारैतिर व्याप्त थियो। विनोवा भावेदेखि जयप्रकाश आदिले डाँकाहरुलाई आत्मसमर्पण गर्न प्रेरित गरेको पाइन्छ। देशमा भएको समस्याबारे ‘फिल्म इण्डस्ट्री’ ले मौन बस्ने कुरै हुन्न थियो। यस विषय वस्तुलाई लिएर हिन्दी फिल्म उद्योगले अनेकौं फिल्म बनायो, जस्तै ‘मुझे जीने दो’, ‘शोले’, ‘चम्बल की कसम’, ‘हिमालयकी गोद मेँ,’ ‘कच्चे धागे’ आदि।

यस विषय वस्तुमा बनेको सर्वश्रेष्ठ फिल्म भने ‘जिस देश मे गङ्गा बहती है’ नै रहिरह्यो। सन् १९६० मा निर्माता राज कपुरले आरके फिल्मसको ब्यानरमा यो फिल्म बनाएका थिए। निर्देशक थिए, रघु कर्माकर। मुख्य भूमिकामा राज कपुर स्वयं थिए भने डाँकाको सशक्त अभिनय अभिनेता प्राणले गरेका थिए। गाइने राजु (राजकपुर) ले घाइते डाँका सरदारलाई जोगाउछन्, यत्तिकैमा डाँकाको गिरोह आइपुग्छ, आफ्नो सरदारसहित राजुलाई पनि गिरोहले लिएर जान्छ। सरदारकी छोरी कम्मो (पद्मिनी) सँग राजु प्रेम गर्न थाल्छ। राका (प्राण)ले सरदारलाई गोली हानी आफैँ गिरोह प्रमुख बन्छ। डाँकाहरु नराम्रो हुन् भन्ने बुझेपछि राजुको उद्देश्य उनीहरुलाई आत्मसमर्पण गराउने हुन्छ। र, अन्ततः राजु सफल हुन्छ।

फिल्मको सशक्त पक्ष राजु, कम्मो र राकाको जीवन्त अभिनय थियो। निर्दोष अभिनय गर्नमा राज कपुरले यस फिल्ममा जुन उचाइ छोए, त्यो उनको पछिसम्म पहिचान नै बनिरह्यो।

राजकपुर भन्ने गर्थे, ‘मुकेश इज माइ भ्वाइस।’ साँच्चै नै मुकेशको आवाज जति राजकपुरलाई मेल खान्थ्यो त्यति शायद अरुलाई मेल हुन्न थियो। उनका फिल्मका अधिकांश गीत, शैलेन्द्रले लेख्थे, जुन ‘मेरा नाम जोकर’ फिल्मसम्म चलिरह्यो। ‘तीसरी कसम’ को प्रारम्भिक असफलताले शैलेन्द्रलाई चिरनिद्रामा लग्यो र पछि गएर फिल्म ‘हिट’ भयो। ‘चल त मुसाफिर मोही लियो रे,’ ‘पान खाए सैया हमार,’ ‘दुनियाँ बनाने वाले क्या तेरे मन मे’ र ‘सजन रे झुठ मत बोलो’ गाउँदै शैलेन्द्र खुदा के पास पुगें।

राजकपुरका प्रिय संगीतकार थिए, शंकर जयकिशन। जिस देश मे गंगा बहती है फिल्ममा सो चौकडीले धमाल नै गरेको थियो। ‘बेगानी शादी मे अबदुल्ला दीवाना’ भन्ने वाक्यांश तपाईंहरुले पनि सुनेको/प्रयोग गरेको हुनुहुन्छ भने यो यसै फिल्मको लोकप्रिय गीत थियो।

तीसरी कसम:

२००७ को नेपाली राजनीतिक क्रान्तिमा संलग्न भारतीय सहयोद्धा तथा हिन्दी साहित्यमा प्रेमचन्द्रको ‘गोदान’ पछि दोस्रो सर्वश्रेष्ठ उपन्यास ‘मैला आँचल’ का लेखक फणीश्वर नाथ ‘रेणु’ को चर्चित कथा थियो, ‘मारे गए गुलफाम’।

१९६६ मा गीतकार शैलेन्द्रले यस कथामा फिल्म बनाए- ‘तीसरी कसम’। शैलेन्द्रको आँखामा हीरामनको निश्चल, निर्दोष, निर्विकार भूमिका निर्वाह गर्न सक्ने राज कपुरबाहेक को नै हुन सक्थ्यो। निर्देशक बासु भट्टाचार्यले भारतको बिहार राज्यको आञ्चलिक परिवेशमा लेखिएको कथालाई अलिकति पनि चमकधमक र तडकभडकको फिल्मी शैलीमा ढालेनन्। कथाको आत्मलाई मुम्बइया रंग दिने दुष्चेष्टा गरेनन्। फिल्माकंनका लागि ‘लोकेशन’ बिहार राज्यकै अररिया जिलाको ग्रामीण परिवेश रोजे। हीरामन (राजकपुर) गोरुगाडा चालक हो। गोरुगाडामा सामान दुवानी गर्नु, यात्री ओसारपसार गर्नु नै उसको आजीविका हो। हीरावाई (वहीदा रहमान) नृत्यांगना हुन्। हीरामनले आफ्नो गोरुगाडामा हीरावाईलाई सवारीका रुपमा बसाएर निर्दिष्ट स्थलतिर जाँदै हुन्छ। उसले बाटोभरि हीरबाईलाई कथा र लोकगीत सुनाउँदै जान्छ। ऊ मनमनै हीरावाईलाई प्रेम गर्न थाल्छ।

यो प्रेम कथा हो र होइन पनि। धेरै समीक्षकहरुले यसलाई वियोगान्त प्रेमकथा भनी उल्लेख नगरेका होइनन्। कृष्ण र राधाको प्रेमलाई विरह वियोगको कथा भन्नेहरुसँग चर्चा गर्नु नै व्यर्थ हुन्छ। कृष्ण राधाको कथामा विरह र वियोग नै प्रेमको पराकाष्ठा हो।

यो फिल्मको कथा, मूल कथा नै रेणुको र नवेन्दु घोषको पटकथा एवं कथाकार ‘रेणु’ स्वयंले लेखेका संवाद, राजकपुर र वहीदाको अभिनय, वासु भट्टाचार्यको निर्देशन एवं शंकर जयकिशनको सुमधुर संगीतले यस फिल्मलाई हिन्दी सिनेमाको ‘माइल स्टोन’ मै दर्ज गरायो। प्रसिद्ध निर्देशक ख्वाजा अहमद अब्बासले भनेका थिए, ‘तीसरी कसम’ सेलुलाइडमा लेखिएको कविता हो।’ फिल्मका अधिकांश गीत निर्माता शैलेन्द्र स्वयंले लेखेका थिए। सिनेमा प्रेमीहरुले यस फिल्मलाई खोजेर हेर्नुपर्ने सुझाव वाञ्छनीय छ। वरिष्ठ पत्रकार किशोर नेपालज्यूका अनुसार यो फिल्म कला र भावनाको बबण्डर हो।

गाइडः

प्रेमको स्वरुप एकनास कहाँ रहन सक्छ। प्रेम हो त मानवीय भाव उत्प्रेरणा नै। मानिस प्रगतिशील, मानिसको प्रगतिसँगै समाज प्रगतिशील, सोच प्रगतिशील, संस्कृति प्रगतिशील, उठबस, चालचलन रहनसहन सबै नै प्रगतिशील हुँदै अत्याधुनिक भइसकेको अवस्थामा मानवीय भाववृत्ति प्रेम पनि ‘मोर्डन’ नभई कसरी रहन सक्थ्यो र? २१ औं शताब्दीमा प्रेम ‘लिभिङ टुगेदर’ को चरणमा प्रवेश गरिसकेको कालखण्डका युवायुवतीलाई राजु गाइडको प्रेमकथामा कुनै रस नहुन सक्छ। तर १९६५ मा ‘रिलिज’ भएको यस फिल्मले तहल्का मच्चाएको थियो। ‘बेस्ट एक्टर,’ ‘बेस्ट एक्ट्रेस’, ‘बेस्ट राइटर,’ ‘बेस्ट सिनेमा,’ ‘बेस्ट डाइरेक्टर,’ ‘बेस्ट डायलग,’ ‘बेस्ट फोटोग्राफीको पुरस्कार गाइडले पाएको थियो।

राजु (देवानन्द) गाइड हुन्छ। एउटा बुढो पुरातत्ववेत्ता आफ्नी युवा पत्नी रोजी (वहीदा रहमान) लाई लिएर घुम्न आउँछन्। उनका गाइड हुन्छन् राजु।

बुढो पुरातत्वविद् आफ्नो काममा तल्लीन हुन्छन्। पत्नीलाई समय दिन सक्दैनन्। रोजीलाई नृत्य गर्न औधी रहर हुन्छ। राजु उनलाई नृत्य गर्न प्रेरित गर्छन्। राजुको साथ पाई रोजीको जीवन परिवर्तन हुन्छ। तर राजुले प्रेमको ठूलो मूल्य चुकाउनुपर्छ।

फिल्मको गीत संगीतलाई त संगीत प्रेमीहरुले ५० वर्षपछि पनि बिर्सन सकेका छैनन्। निर्देशक विजय आनन्दले फिल्मको अन्तमा प्रेमलाई दर्शनमा रुपान्तरण गर्ने कार्य कुशलतापूर्वक देखाएका छन्। आज पनि यो फिल्म हेर्दा राजुको चरित्रले दर्शकका मनमा प्रेमदेखि त्याग र वैराग्यको भाव सम्प्रेषण गर्छ।

प्यासाः

लेखक निर्देशक अबरार अल्बीको एउटा वेश्या (गुलाबो) सँग जम्काभेट हुन्छ। भेट चिनजान र बिस्तारै मित्रतामा परिणत हुन्छ। अबरारको आर्थिक अवस्था कमजोर हुँदा तिनले मद्दत पनि गरिन्। पछि फिल्म निर्देशनमा व्यस्त भएपछि अबरारले उनलाई भेट्न पाएनन्। एकदिन अबरार उनीसँग भेट गर्न भनी बस चढेर जाँदा बाटोमा शव यात्रा देखे। उनले बसको झ्यालबाट त्यो लाशको अनुहार देखे, त्यो गुलाबोकै मृत शरीर थियो।

एक दिन कुरा कुरैमा अवरारले आफ्नो मनको यो वेदना आफ्ना साथी गुरुदत्तलाई सुनाए। गुरुदत्तले यही घटनाको सेरोफेरोमा फिल्म बनाउने निर्णय गरे। अवरारलाई कथा, पटकथा लेख्ने जिम्मा दिइयो।

भारतले ब्रिटिश दासताबाट मुक्ति पाएको १० वर्ष नहुँदै समाजमा नयाँ मालिकहरुको प्रभुत्व देखा परिसकेको थियो। देश आजाद हुँदा पनि अधिसंख्य आममानिस निराशा, अवसाद र कुण्ठाले सन्त्रस्त बनेका थिए। गुरुदत्तको ‘प्यासा’ तात्कालीन भारतीय समाजको चरम नैराश्यताको सजीव प्रतिविम्ब बन्यो।

प्यासा जस्तो कृति कसैले चाहेर/बनाएर बन्ने होइनन्। बस्, बनाउने क्रममा बन्न पुग्छन्। सबै खाले संयोग आफ्नो चरममा घटित हुन पुगे गुरुदत्तको प्यासामा। गीतकार साहिर लुधियानवीलाई गीत लेख्दा युवा हृदयको अवगुंठन, हताशा, समाजको हृदयहीनताप्रति आक्रोशको पराकाष्ठा कहिले समर्पण र पराजय अनुभूति त कहिले विद्रोह आदि आदि ज्वलन्त भाव काव्यात्मक रुपमा लेख्ने चुनौती थियो भने सचिनदेव वर्मनलाई ती गीतलाई चिरकर्णप्रिय बनाउने चुनौती थियो– जला दो इसे फुँक डालो यह दुनिया, मेरे सामने से हटा लो यह दुनिया, तुम्हारी है तुम्ही संभालो यह दुनिया। फिल्मको ‘क्लाइमेक्स’ दृश्यमा फिल्मांकन गरिएको गीत थियो यो। सबै दृष्टिकोणले प्यासाको ‘क्लाइमेक्स’ अद्वितीय थियो भन्नुमा अत्युक्ति हुन्न।

तपाईं फिल्म प्रेमी हुनुहुन्छ र यदि तपाईंले प्यासा हेर्नु भएको छैन भने मान्नुस् तपाईंले केही महत्वपूर्ण कुरा छुटाउनु भएको छ।

टाइम म्याग्जिनको ‘आल द टाइम टप’ सय फिल्ममा तीनवटा भारतीय सिनेमाले स्थान पाए, त्यसमा एउटा प्यासा हो। त्यसैगरी टाइम म्याग्जिनकै ‘टप टेन रोमाण्टिक फिल्म’मा पनि प्यासाले स्थान पायो।

आनन्दः

‘जिन्दगी बडी होनी चाहिए लम्बी नही बाबू मोशाय।’
हर हमेशा बकबक गरी आफ्नो ‘बडी’ जिन्दगीलाई सानो समयमा बढीभन्दा बढी बाँच्न चाहने आनन्द सहगल (राजेश खन्ना), डाक्टर भएर पनि आफ्नो बिरामीलाई विस्तारै मृत्युको मुखमा जानबाट रोक्न असफल डा. भाष्कर बनर्जीको (अभिताभ बच्चन) हताशा, निराशा, मृत्युको प्रतिछायामा डाक्टर र रोगी बीच हुर्किएको मित्रता डाक्टरको निरीहता र मृत्यु नजिकिँदै आउँदा रोगीको पलपलमा युगयुग बाँच्ने उन्मुक्त जीवन दृष्टिकोण नै ‘आनन्द’ फिल्मको कथानक हो।

यो फिल्मलाई राजेश खन्नाको फिल्मी जीवनको सर्वोत्कृष्ट फिल्म मान्नुमा शायदै कसैले असहमति व्यक्त गर्ला?

समुद्र किनारमा ‘बैलुन’ सँग खेल्दै छायांकन गरिएको गीत ‘जिन्दगी कैसी है पहेली हाय, कभी तो हँसाय कभी यह रुलाय’ मा ‘आनन्द’का आनन्दको जुन घनीभूत पीडा व्यक्त हुन्छ, त्यसले जुनसुकै दर्शकलाई अवचेतनमा त्यसको अनुभूति गराइ छाड्छ।

अभिनयमा जसलाई ‘डायलग डिलीभरी’ भनिन्छ, कलाकारले ‘डायलग’ बोल्दा आवाजको स्तर र स्केल, उसो मुखाकृति र भावाकृतिको बेजोड संगम राजेश खन्नाले प्रस्तुत गरे यस फिल्ममा, पीडालाई हाँसोमा व्यक्त गरेर र हरेक हाँसोमा मनमुटुभित्र रहेको पीडा ओठदेखि अनुहारसम्म व्यक्त गरेर। हृदयस्पर्शी, मर्मस्पर्शी, भाव उद्धेलित एवं संवेदनशीलताको अतल नै छोएको अभिनय हेर्न आनन्द फिल्म हेर्नै पर्छ।

ऋषिकेश मुखर्जी निर्देशित, गुलजार लिखित, एवं सलिल चौधरीको सुमधुर संगीत रहेको यस फिल्मले कैयन पुरस्कार पाएको थियो।