माओवादीका मन्त्रीहरुले हप्तामा २ घण्टा जनतासंग अन्तरक्रिया गर्नैपर्ने नयाँ कार्यतालिका तय

काठमाडौं, १ बैशाख २०८० । राजकीय जिम्मेवारीमा रहँदा पार्टी संग जनता जोडिन नसकेको निष्कर्ष सहित नेकपा (माओवादी केन्द्र)ले अब जनतासँग नियमित भेटघाट तथा अन्तरक्रिया शुरु गरेको छ ।

नयाँ वर्षको अवसर पारेर माओवादी केन्द्रले जनता संग जोडिने नयाँ कार्ययोजना शुक्रबर बाट कार्यान्वयनमा ल्याएको हो ।

कार्ययोजनाको पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुरुआत गरेका उनका प्रमुख प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी गराए । प्रधानमन्त्रीले मात्र नभई सङ्घीय सरकारका मन्त्रीहरुले पनि नियमित अन्तरक्रिया गर्ने गरी कार्य योजना लागू गरिएको उनको भनाइ छ ।

सार्वजनिक कार्ययोजना अनुसार हरेक साताको शुक्रबार प्रधानमन्त्री प्रचण्डले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सरकारका काम कार्यवाहीका विषयमा अन्तरक्रिया गर्नेछन । दिउँसो ४ देखि करिब २ घण्टा उनले सरकारको काम कार्यवाही लगायतका विषयमा छलफल,अन्तरक्रिया एवम् भेटघाट गर्ने बताइएको छ । त्यसैगरी उनी हरेक साताको आइतबार ४ देखि ५ बजेसम्म संसदीय दलको कार्यालय सिंहदरबारमा पनि उपलब्ध हुने भएका छन् ।

व्यक्तिलाई भन्दा पेरिस डाडालाई पावरफूल बनाउने नीति अनुरुप आइतबार ४ देखि त्यहाँ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सम्बद्ध क्षेत्र तथा विषय विज्ञ र कार्यकर्तासंग भेटघाट गर्नेछन ।

सोमबार ४ देखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको भेटघाट तालिका रहेको छ भने मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, बुधबार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र बिहीबार उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ पेरिस डाडास्थित पार्टी कार्यालयमा उपलब्ध हुनेछन । दुई घण्टा त्यहाँ नागरिकसँग भेटघाट गर्ने गरी कार्ययोजना तय गरिएको छ ।

शनिबार भने प्रधानमन्त्री, मन्त्रीका सल्लाहकार एवम् विज्ञले भेटवार्ता गर्ने गरी कार्यतालिका रहेको माओवादी केन्द्रका महासचिव देव गुरुङले पुष्टि गरेका छन् ।

Loading...