अन्ततः फुट्यो विप्लव नेकपा, विप्लवले २ नेतालाई पार्टीबाट गरे निश्कासन

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अन्ततः विभाजित भएको छ । लामो समयदेखि पार्टीभित्र भुसको आगोजसरी सल्किरहेको विवाद साम्य हुन नसकेपछि विभाजनमा पुगेको हो ।

नेपालमा सशस्त्र बल प्रयोगद्वारा राज्यसत्ता हातमा लिई जनवादी सत्ता सन्चालन गर्ने घोषणासहित एकीकृत जनक्रान्ति थालेका विप्लव त्यसको छेउसम्म पनि नपुगी संसदीय निर्वाचनतर्फ नै ढल्किएपछि पार्टीका दुई प्रमुख नेताहरु हेमन्तप्रकाश ओली सुदर्शन र धर्मेन्द्र बास्तोला कन्चन त्यसका विरुद्धमा उभिएका थिए । विप्लवले संसदीय व्यवस्थातिरै ढल्किएर पहिलो चरणमा स्थानीय निर्वाचनको उपयोग गर्ने कार्यनीति ल्याएपछि सुदर्शन र कन्चनले विरोध जनाएका थिए । सुदर्शन र कन्चनले आफ्नो प्रस्तावको विरोध गरेपछि रिसाएका विप्लवले उनीहरुमाथि आर्थिक हिनामिना गरेको आरोप लगाएका थिए । विप्लवले लगाएको आर्थिक हिनामिनाको आरोपलाई लत्याउँदे सुदर्शन र कन्चनले भने त्यसलाई विप्लवको वैचारिक विचलन र धोकाका रुपमा अथ्र्याउने गरेका थिए । सोही आधारमा उनीहरुले विभिन्न मिडियामा विप्लवका विरुद्ध अन्तर्वार्ता दिँदै हिडेका थिए ।

सुदर्शन र कन्चनले त्यसरी मिडियावाजी गर्न थालेपछि झनै रिसाएका विप्लवले बुधवार बिहान कपिलवस्तुको शिवगढीमा आफू पक्षका नेताहरु खडगबहादुर विश्वकर्मा र सन्तोष बुढामगरलाई बसालेर उनीहरुमाथि कारवाही गरेका छन् । विप्लवले सुदर्शन र कन्चनलाई पार्टी निर्णय विपरित गतिविधि गरेको भन्दै पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेका छन् । उनले उनीहरुले फुटपरस्त गतिविधि गरेको आरोप लगाएका छन् ।

विप्लवले बुधबार नै एक बिज्ञप्ति जारी गर्दै दुई नेतामाथि कारवाही गरेको घोषणा पनि गरेका छन् ।

यस्तो छ विप्लवको विज्ञप्ति ः

Loading...