अपहरित सपनाहरु

हरी बस्नेत

थुन सरकार

एउटा बन्द कोठामा थुन

अँध्यारो खोपीमा कैद गर

र कैदी बनाएकै पनि छौ अाज

हामीलाई र हाम्रा सपनाहरुलाई

अझै पक्राउ अादेश जारी गर

तिम्रो कालो रुपलाई

कालो देख्ने साँचो मान्छेहरुलाई

बन्द कोठामा राख्न अादेश जारी गर !

 

तिम्रै हातमा छन् सत्ताहरु

छन् बन्दुक र वर्दिवालाहरु पनि

सक्छौ हुकुम बक्सिस गर

साँचो अर्थको शान्ति खोज्नेहरुलाई

सर्वश्व खोसेर नेल भिर्याईदेउ

अनि ?

अनि पैसामा खरिद गर निरीह मतहरु

र, मस्त लुट मेरो देशलाई!

तर, बिहान उदाउनु अघि

अो सरकार !

सक्छौ हाम्रा सपनाहरुको फाँसी देउ

तर, तिम्रो विडम्वना

सक्दैनौ तिमी सक्दैनौ

किनकि सधै तिम्रो हुनेछैन मध्यरात

झुल्कने छ बिहान जरुर

अपहरित सपनाहरुको विद्रोहले

 

रम्नेछौं हामी त्यो बिहान

तिमीले कैदी बनाएका हामीहरु

र, अाजका तिम्रा मतदाता हरुले

गाउनेछन् क्रान्तिका गीतहरु

बज्नेछन साँचो अर्थको शान्तिका सङ्गीतहरु

जब मुक्त हुनेछन अपहरित सपनाहरु !

(जिल्ला प्रहरी कार्यालय प्यूठानको हिरासत वाट)

Loading...