काठमाडाैं, ४ मंसिर । नेपालमा अाउने पर्यटककाे सङ्ख्यामा उल्लेख्य बृद्धि भएकाे छ । पछिल्लो १० महिना मात्र नेपाल आउने पर्यटकको संख्यामा ७ लाख ५७ हजार ४ सय ४८ पुगेको छ । यो तथ्याङ्क अघिल्लो वर्षभन्दा एक तिहाइले बढी हो ।
अध्यागमन विभागले जारी गरेको सन् २०१७ को पहिले १० महिनामा नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या सात लाख नाघेको हो । सन् २०१६ को पूरै १२ महिनाको दाजोमा चालु वर्षमा ४ हजार ४ सय बढी पर्यटक आएका हुन ।
पर्यटन बोर्डले यस वर्ष १० लाख पर्यटक पुग्ने प्रक्षेपण गरेको छ । ‘यस वर्षको तथ्यांक अघिल्लो वर्षसँग विश्लेषण गर्दा ३० देखि ३५ प्रतिशतले विदेशी पर्यटक बढेको देखीन्छ,’ बोर्डका निर्देशक सुनिल शर्माले भने, ‘ यही अनुपातले पर्यटक आगमन रह्यो भने अबको दुई महिनामा नेपाल आउने पर्यटकसहितको कुल संख्या सन् २०१७ मा १० लाख पुग्ने छ ।’
शर्माका अनुसार यो संख्या हालसम्मकै उच्च हुने छ । अहिलेसम्म सबैभन्दा धेरै विदेशी पर्यटक सन् २०१२ मा पुगेको थियो । त्यस वर्ष ८ लाख ३ हजार ९२ विदेशी नेपाल घुम्न आएका थिए । यस वर्ष तारे र पर्यटक स्तरका होटलको अकुपेन्सी ९० प्रतिशत हाराहारी रहेको छ । पर्यटक बोक्ने अधिकाशं विदेशी एयरलाइन्समा यो नोभेम्बर महिनाभर टिकट ‘सोल्ड आउट’ भइसकेका छन् ।
अहिले नेपालमा पर्यटकको संख्या बढ्नुमा पहिलो कारण भूकम्पलाई मान्छन् बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी । ‘भूकम्पले नेपाललाई विश्वभर चिनायो,’ उनले भने । यसबाहेक पछिल्लो पटक सोसल मिडियाका कारण पनि नेपाल घुम्न आउने पर्यटकको संख्या बढेको बोर्डले जनाएको छ ।
यस वर्षको पहिलो दस महिनामा हवाई मार्ग भएर सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल घुम्न आएका थिए । तथ्यांकअनुसार भारतबाट एक लाख ३३ हजार, दोस्रोमा चीनबाट ८३ हजार, तेस्रोमा संयुक्त राज्य अमेरिकाबाट ६५ हजार पर्यटक नेपाल आएका थिए ।
यी मुलुकपछी धेरै पर्यटक आउनेहरुमा क्रमश: श्रीलंका, बेलायत, थाइल्याण्ड, म्यानमानर, कोरिया, अस्ट्रेलिया र जर्मनी छन् । सबैभन्दा धेरै पर्यटक अक्टोबरमा एक लाख १२ हजार र मार्चमा एक लाख ६ हजार आएका थिए ।
सन् २०१७ को पहिलो दस महिनामा नेपालमा हवाई बाटो भएर आउने १३ लाख ८१ हजार नेपालीसहित विदेशीको संख्या २१ लाख ३९ हजार पुगेको छ । नेपालीलाई अध्यागमन विभागले पर्यटकको सूचीमा राख्दैन् ।