लिमीमा खाद्य संकट, काठमाडौंमा दौडधुप

हुम्ला । हुम्ला–हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीको तीन गाउँमा खाद्यान्न संकट हुन थालेको छ । सदरमुकामसँग बर्षाको ६ महिना मात्र सम्पर्क हुने हिमालपारीको गाउँमा कोरोना महामारीका बीच चीनको तिब्बतीयन पठार पुराङबाट आवश्यक बन्दोबस्तीका सामानहरू आउन पाएको छैन ।

पछिल्लो समय चर्चा परिचर्चामा आएको लिमी लाप्चा क्षेत्रमा समुहका समुहहरू जाँदा लिमी तीन गाउँका बासिन्दाहरूले स्थानीय तह, जिल्लाका राजनीतिक दलहरूका जिम्मेवार व्यक्तिहरू र तालुक सरकारी कार्यालयहरूका जिम्मेवार व्यक्तिहरूसँग धेरै मान्छेहरू जाँदा उनीहरूको लागि स्वागत सत्कार र खानपान व्यवस्था गर्दा दैनिक उपभोग्य वस्तुहरू सकिएको लिमीबासीहरूले बताएका छन् ।

विशेषतः लिमी र समष्टिगत रुपमा नाम्खा गाउँपालिकाका लागि आवश्यक पर्ने खाद्यान्न उपलब्धताका लागि नाम्खा गाउँपालिका, जिल्ला प्रशासन कार्यालय र नेपाल खाद्य सुरक्षा तथा ब्यापार कम्पनी हुम्ला शाखाबाट आवश्यक पर्ने कागजातहरू काठमाडौं लिएर विभिन्न जिम्मेवार मन्त्रालय र अन्य सम्बन्धित निकायहरूमा धाइरहेको जानकारी संघीय सांसदमा हुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद छक्कबहादुर लामाले दिएका छन् ।

लिमीबाट चार दिन हिंडेर सदरमुकाम आएका लिमीबासीहरूको आपतकालीन वैठक बसेको छ । विभिन्न क्षेत्र र स्तरबाट प्रोपोगण्डा मच्चाएर लिमीको लागि मात्र केही मात्रामा खुलेको हिल्छा र लाप्चा नाका पुनः बन्द हुँदा रासनपानीको समस्या देखिएको नाम्खा गापा वडा नं ६ का अध्यक्ष पाल्जोर तामांगले बताएका छन् ।

उनले भने हिउँ नपर्दै तत्काल छ सात महिनाका लागि पुग्ने रासनपानीको बन्दोबस्त गर्न गराउनका लागि हामी यहाँ आएका छौं । स्थानीय प्रशासनले यो माग सुनुवाई नगरे हामी धर्नामा बस्ने छौं ।

सिमकोट पुगेका लिमीबासीहरूको माग तत्काल सुनुवाई हुनुपर्ने नत्र एक हजार दुई सय जनसंख्या भएकाले लिमीको तीन गाउँका बासिन्दाहरू भोकमरी मर्ने अवस्था देखिएको छ ।

अबका केही दिनमा केन्द्रबाट खाद्यान्न आपूर्तिको कागजातहरू जिल्ला पठाएर नाम्खा गाउँपालिकाको विकट गाउँ लिमीमा आपूर्तिका लागि तयारी अवस्थामा रहेको नेपाल खाद्य व्यवस्था तथा ब्यापार कम्पनी जिल्ला शाखा हुम्लाका प्रमुख रामबहादुर बिष्टले बताएका छन् ।

हिउँ नपर्दा अबका केही दिनमा लिमीका लागि खाद्यान्न आपूर्ति हुने भएकाले अब लिमीमा खाद्यान्न समस्या नहुने देखिएको छ ।

Loading...