एलिसाको सौन्दर्यको भग्नावशेष सार्वजनिक

काठमाडौं । कवि तथा सञ्चारकर्मी एलिसा ढुंगानाको कविता संग्रह सौन्दर्यको भग्नावशेष सार्वजनिक भएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारीले कृतिको विमोचन गरे।

अधिकारीका अनुसार एलिसाका कविताले जीवन र जगतका सत्यलाई सहज रूपमा अभिव्यक्त गरेका छन्। डा. नवराज लम्सालले कवितामा सपना, रहर मात्र नभई अवसाद र असन्तुष्टिका बीच अघि बढ्ने सजगता भेटिन्छ भने, डा. देवी नेपालले कवितामा आजका मानिसका आशा र बाध्यता प्रस्ट पढ्न सकिने बताए। कवि मणि लोहनीले एलिसाको कविताप्रतिको पैसन्सले आफू संवेदित भएको उल्लेख गरे।

कार्यक्रममा एलिसाले कविताप्रतिको प्रेम बाल्यकालदेखि नै रहेको र अझ नयाँ प्रयोग गर्ने चाहना रहेको बताइन्। साहित्यकार जीतेन्द्र रसिकका अनुसार कृतिमा पाठकले नयाँपन अनुभव गर्नेछन्।

चलचित्र निर्देशक राजेन्द्र शलभ, कवि गीता कार्की, विमला तुम्खेवा, उद्यमी शुष्मा महरासहितका सहभागीहरूले पुस्तकका कविता वाचन गरे। एईएम ग्रुपका प्रवन्ध निर्देशक अजयकुमार रेग्मीले प्रकाशनमा पनि हात हालेको र सबैको सहयोग अपेक्षित रहेको जानकारी दिए।

तीन खण्डमा ३८ कविता समेटिएको पुस्तकको आवरण रमेश श्रेष्ठले तयार पारेका छन् भने भूमिका वैरागी काइँलाले लेखेका छन्।