भारतीय सीमामा रहेका सैनिकलाई मार्सल आर्टको प्रशिक्षण दिन चिनले खटायो बिशेष प्रशिक्षक

काठमाडाैं । भारत र चीनबीच सीमा क्षेत्रमा विवाद चर्किरहेका बेला चीनले उक्त क्षेत्रमा रहेका आफ्ना सैनिकलाइ तालिम दिन मार्सल आर्टका प्रशिक्षकलाइ पठाएकाे खबर बाहिर आएकाे छ ।

तिब्बती पठारमा रहेका सैनिकलाई तालिम दिनका लागि चिनले मार्सल आर्टका २० प्रशिक्षकलाई पठाउने तयारी गरेकाे खबर केही मिडियाले बाहिर ल्याएका छन् । सैनिकलाई मार्सल आर्टको तालिम दिनका लागि प्रशिक्षक पठाउनुको आधिकारिक कारण भने चीनले खुलाएको छैन। गत जुन १५ को राति भारतको पूर्व लद्दाखसँग सीमा जोडिएको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारतीय सैनिकसँग भएको भिडन्तपछि चीनले लिएको यो निर्णयलाई अर्थपूर्ण रुपमा हेरिएको छ। उक्त भिडन्तमा भारतीय सैनिकका एक उच्च अधिकारीसहित २० जनाको ज्यान गएको थियो ।

सन् १९९६ मा भएको सम्झौता अनुसार एलएसी क्षेत्रमा सुरक्षाका लागि खटिने दुवै तर्फका सैनिकले बन्दुक वा बिस्फोटक पदार्थ बोक्न पाउँदैनन् । तर भारतले हालकै भिडन्तपछि अवस्था हेरेर हतियार प्रयोग गर्न पाउने गरी सेनालाई निर्देशन दिएको छ ।

आर्मीलाई तालिम दिन मार्सल आर्टका प्रशिक्षक पठाइने सम्बन्धी खबर चीनको आधिकारिक सञ्चारमाध्यमले जुन २० मा प्रकाशित गरेको हङकङका सञ्चारमाध्यमले जनाएका छन् ।

चीनको सरकारी टेलिभिजन सिसिटिभीका अनुसार इनबो फाइट क्लबका २० प्रशिक्षकहरु तिब्बतको राजधानी ल्हासामा बसेको जनाइएको छ । तर चिनियाँ सञ्चारमाध्यमले ती प्रशिक्षकले भारतसँगको सीमामा रहेका सैनिकलाई प्रशिक्षण दिएको वा दिइरहेको भन्ने कुरा पुष्टि गरेका छैनन् । परमाणु हतियारयुक्त भारत र चीनले हालै भएको सीमा भिडन्तका लागि एकअर्कामाथि दोष लगाउँदै आएका छन् ।

४५ वर्षपछि भारत–चीन सीमामा सैनिकको ज्यान जाने गरी भएको भिडन्तपछि उत्कर्षमा पुगेको तनाव सैन्य तथा कूटनीतिक वार्ता मार्फत समाधान गर्नका लागि तत्पर रहेको दुवै पक्षले बताउँदै आएका छन् । त्यसका लागि वार्ताहरु पनि भइरहेका छन् । तर आरोप–प्रत्यारोपको शृङ्खला भने जारी छ ।

Loading...