आफैंले चलाएको कार दुर्घटनामा पत्रकार पाण्डेको मृत्यु

बुटवल, १४ असार । आफैंले चलाएकाे कार दुर्घटनामा परी रुपन्देहीका पत्रकार कृष्ण पाण्डेकाे निधन भएको छ । तिलोत्तमा–६ मा बस्दै आएका पत्रकार कृष्ण पाण्डेकाे बा ७ च ६९५९ नम्बरको कार दुर्घटनामा परी मृत्यु भएको हो ।

बुटवलबाट घर जाँदै गर्दा बुटवल–भैरहवा सडक खण्डको ड्राइभरटोलमा गएराति पौने १२ बजेतिर सडकको डिभाइडर र रेलिङमा ठोक्किएर कार दुर्घटना हुँदा पाण्डेको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रहरी निरीक्षक लक्ष्मण थापाले बताए ।

दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका उनलाई बुटवलको चौराहा हस्पिटल प्रालिमा उपचारका लागि ल्याइए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । उनको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ ।

कारमा उनी एक्लै सवार रहेको प्रहरीले जनाएको छ । सडकको डिभाइडर र विद्युतको पोलमा ठोक्किएको कार काम नलाग्ने गरी क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । कार तीव्र गतिमा भएका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

पत्रकारितामा आउनुअघि पाण्डे म्युजिक भिडियोमा अभिनय र संगीत कर्ममा सक्रिय थिए । उनले बजारमा ल्याएको तीज गीत ‘भंगेरी चरीले’ लोकप्रिय भएको थियो । उनले स्थानीय स्तरमा एक अनलाइन पनि सञ्चालन गर्दै आएका थिए ।

Loading...