धरधरी रुदै कांग्रेसमै फर्किए गच्छेदार । कम्युनिस्टहरुलार्इ ठीक पार्ने उनको उद्घोष

काठमाडाैं, ३१ असाेज । पार्टी छाडेर जानेहरुकाे खबर धेरै सुनिन्छ । तर, पार्टीका प्रमुख व्यक्ति नै पार्टी छाडेकाे खबर भने धेरै कम हुन्छन् । तर नेपालमा भने यस्ता खबरै खबर अाउँछन जुन कुरा पत्याउनै गाह्राे हुन्छ । यस्तै समाचार बनेका छन जसरी पनि सत्तामा उक्लिरहने उदाहरण बनेका मधेशी नेता विजयकुमार गच्छेदार । मधेशी जनअधिकार फाेरम (लाेकतान्त्रिक) का अध्यक्ष रहेका गच्छेदार अाफै पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका छन् ।

गच्छेदार अाफ्नाे अध्यक्ष पद नै छाडेर कांग्रेसमा फर्किए । फर्कने बेला उनी धुरुधुरु राेए । त्याे पनि सार्वजनिक मञ्चमै । उनी दस वर्षअघि कांग्रेसबाटै अलग भएर मधेशी जनअधिकार फाेरममा गएका थिए । त्यतिबेला टिकटमा कुरा नमिलेकै कारण गच्छेदार बालुवाटारबाट कांग्रेस छाडेको घोषणा गर्दै उपेन्द्र यादवले नेतृत्व गरेकाे पार्टीमा लागेका थिए । तर, पछि उनी अाफैले फाेरम फुटाएर फाेरम लाेकतान्त्रिक बनाएर अाफै अध्यक्ष भए ।

ठीक दस वर्षपछि गच्छेदार त्यही बालुवाटारबाटै कांग्रेसमा फर्किएका छन् । ०६४ माघ १८ गते कांग्रेस छाडदा गच्छदारले बालुवाटारमा गिरिजाप्रसाद कोइरालाका सामुन्ने जसरी आँसु झारेका थिए, त्यसैगरी सोमबार पार्टी प्रवेश कार्यक्रममा पनि सम्हालिन सकेनन् । हुँक्क–हुँक्क गर्दै भावविह्वल भएका गच्छदारको वाक्य नफुटेपछि दुईपटक पानी पिए । बिस्तारै आफूलाई सम्हाल्दै भने, ‘पार्टी छाडदा र मिल्दा बालुवाटारबाटै हुन पुग्यो । यो पनि इतिहासमा गज्जबकै संयोग पर्‍यो ।’

त्यतिबेला कांग्रेस नेतृत्वले तराई–मधेसको भावना नबुझेकै कारण आफूले पार्टी छाडेको स्मरण पनि उनले गरे । पहिलो संविधानसभा निर्वाचनका बेला आफूनिकट तराई–मधेसका केही नेताहरूलाई टिकट दिन तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालासँग उनले आग्रह गरेका थिए । आफूले भनेअनुसार नभएपछि उनी निर्वाचनको मुखमै पार्टी छाडेर मधेसी जनअधिकार फोरम प्रवेश गरे । तर, अहिले ती विवाद सल्टाएर नै उनी कांग्रेस फर्केका हुन् । उनीसहित फोरम लोकतान्त्रिकका करिब आधा दर्जन नेतालाई प्रतिनिधिसभाको प्रत्यक्ष र त्यति नै संख्यामा समानुपातिकतर्फको उम्मेदवार बनाउने सहमति बनेपछि नै दुई पार्टीबीचको एकता सम्भव भएको हो । यसमा सहमति हुन ढिलाइ भएकै कारण आइतबार हुने भनिएको घोषणा सोमबार सरेको हो ।

गच्छदारले एमाले नेतृत्वमा कम्युनिस्ट गठबन्धन निर्माण भएपछि कांग्रेस प्रवेश गर्ने बाध्यता आइपरेको बताए । ‘कार्यगत एकतासम्म गर्ने कुरा थियो । पार्टी एकता नै गर्ने कुरा थिएन, तर असोज १७ गते एमाले नेतृत्वमा कम्युनिस्ट गठबन्धन जसरी निर्माण भयो त्यसले कांग्रेस प्रवेश गर्न मलाई बाध्य बनायो’ गच्छदारले भने, ‘कम्युनिस्टहरूले दुई तिहाइ ल्याएर संविधान संशोधनमार्फत अधिनायकवादको बाटो समात्ने जुन लक्ष्य बनाए, त्यसलाई परास्त गर्न नै म कांग्रेस फर्किएको हुँ ।’

बालुवाटारको प्रधानमन्त्री बस्ने कार्यकक्षमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल लोकतान्त्रिक फोरम अध्यक्ष गच्छदारबीच सहमतिपत्रमा हस्ताक्षरपछि पार्टी एकताको औपचारिक घोषणा सभाहलबाट गरिएको थियो । सहमति पत्र सार्वजनिक गर्दै दुवै नेताले औपचारिक रूपमा पार्टी एक भएको उद्घोष गरेका थिए ।

सहमति पत्रमा ‘राजनीतिलाई अधिनायकवादतर्फ धकेल्ने प्रयत्न भइरहेका बेला संविधानको लोकतान्त्रिक जगलाई सुदृढ एवं सर्वस्वीकार्य बनाउन एकता भएको’ उल्लेख गरिएको छ । सहमतिमा पार्टीको जिम्मेवारी बाँडफाँटलगायत प्रदेश र प्रतिनिधिसभाको चुनावको सिट बाँडफाँटको विषय सार्वजनिक गरिएको छैन । यति मात्रै भनिएको छ, ‘एकतापछि कांग्रेसको सांगठनिक संरचनामा केन्द्र, प्रदेश, जिल्ला, नगर र गाउँसम्मका लोकतान्त्रिक फोरम र यसका भ्रातृ/भगिनी संस्थाहरूको संरचना एवं सदस्यहरूको यथोचित समायोजन गर्न हामी दुवै दल सहमत छौं ।’

सहमति पत्रमा थारू, मधेसी, जनजाति, आदिवासी, महिला, दलित, मुस्लिम र सीमान्तकृत समुदायलगायतको हक, अधिकारका मुद्दा सम्बोधन गर्न कांग्रेस प्रतिबद्ध रहेको उल्लेख गरिएको छ । दुई दलबीच भएको यो प्रतिबद्धतालाई पूरा गर्न पुन: संविधान संशोधनको मुद्दा अघि बढाउने विषय पनि सहमति पत्रमा उल्लेख छ । ‘यस प्रतिबद्धतालाई मूर्तरूप दिन हामी दुवै दलहरूले संविधान संशोधनको प्रयास व्यवस्थापिका संसद्मा गर्‍यौं, संविधान संशोधन हुन सकेन,’ सहमतिपत्रमा उल्लेख छ, ‘आगामी दिनमा यो कार्य सम्पन्न गर्नु हाम्रो साझा जिम्मेवारी हो ।’

कांग्रेसले थरुहट र मधेस आन्दोलनको सिलसिलामा गिरफ्तार भएका व्यक्तिहरूको मुद्दा राजनीतिक रहेको स्वीकार गरेको छ । सहमति पत्रमा छ, ‘यस क्रममा निर्दोष नागरिकहरूको मुद्दा फिर्ता गरी रिहाइ गर्न सरकारसँग आवश्यक पहल गर्न हामी दुवै दल सहमत छौं ।’

०४८ सालदेखि गच्छदार निरन्तर सत्ता र शक्तिको निकट रहे । कांग्रेसमा रहँदा र छाडेपछि पनि उनी पटकपटक मन्त्री भए । गच्छदार २०४८ यताका पाँचवटै संसदीय र संविधानसभा चुनाव जित्ने चारजना नेतामध्ये पर्छन् । उनीबाहेक शेरबहादुर देउवा, रामचन्द्र पौडेल र नारायणमान बिजुक्छेमात्रै पाँचैपटक प्रत्यक्ष निर्वाचित भएका छन् ।

घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गच्छदार नेताका रूपमा पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा रहने बताए । ‘गच्छदारजी धेरै मिहिनेत गर्ने नेता हो । पार्टीलाई १ नम्बर बनाउने अभियानमा उहाँ सफल हुनुहुन्छ,’ देउवाले भने, ‘उहाँ (गच्छदार) अब पनि पार्टीभित्र नेताको रूपमा नै रहनुहुनेछ ।’

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले परदेश गएको छोरा/छोरी घर फर्केको क्षणजस्तो खुसियाली भएको बताउँदै यो एकताले लोकतान्त्रिक शक्ति बलियो हुने विश्वास गरे । ‘लोकतन्त्रको बाटोलाई विचलित गराउने उद्देश्यका साथ गठित कम्युनिस्ट गठबन्धनलाई परास्त गर्न यो अभियान सफल हुनेछ,’ पौडेलले भने, ‘अब लोकतान्त्रिक शक्ति जुर्मुराएको छ ।’

पौडेलले विगतमा संविधान निर्माणको चरणमा तराई–मधेस, पहाड र हिमालबीच ध्रुवीकृत हुन लागेको अवस्थामा राष्ट्रलाई जोड्ने काम गच्छदारबाट भएको भन्दै प्रशंसासमेत गरे । कार्यकर्तामाझ प्रधानमन्त्री र पार्टीका अन्य नेताभन्दा गच्छदार विशेष आकर्षण बनेका थिए । उनलाई बधाई दिन र उनीसँगै बसेर सेल्फी खिच्ने कार्यकर्ताहरूबाट गच्छदार निकैबेर घेरिएका थिए । गच्छदारले कांग्रेसमा आफ्नो जिन्दगीको जवानी, पसिना र रगत सिञ्चिएको बताउँदै गर्दा कार्यकर्ताहरूले लामो समय गडगडाहट ताली बजाएका थिए । ‘हिजो मैले पार्टी छाडदा बालुवाटार भावविहवल थियो,’ उनले भने, ‘मैले रगत बगाएको पार्टीमा आज फर्कंदा ठीक त्यस्तै पाएको छु ।’

कार्यक्रममा राष्ट्रिय जनता पार्टी (राजपा) का सहमहामन्त्री दिलीप धाडेवा, राप्रपाका मोरङ–३ का पुष्प चौहानलगायतका नेता तथा कार्यकर्ता कांग्रेस प्रवेश गरेका थिए । उनीहरूलाई पार्टी सभापति देउवा तथा वरिष्ठ नेता पौडेलले माला र अबिर लगाएर स्वागत गरेका थिए । कान्तिपुरबाट ।

Loading...