अमेरिकी रिपोर्टप्रति विप्लवले दिए कडा प्रतिक्रिया, अमेरिकाले नेपालमा राजनैतिक अपराध गरेको दावी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकाले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको बताएका छन् । विश्वभर चलिरहेका अशान्ति, युद्ध, विध्वंश, आतंक र नरसंहारको संरक्षक मात्र नभई त्यसको सञ्चालक र स्रोत समेत अमेरिका भएको दावी पनि विप्लवले गरेका छन् । उनले वास्तविक शान्ति, मानवता, स्वतन्त्रता, स्वाधीनता एवं परिवर्तनका वाहक शक्ति, श्रमिक जनता, कम्युनिस्ट पार्टी र जनक्रान्तिलाई आतंकवादी असह्य आरोप अमेरिकाले थोपर्ने गरेको भन्दै यो अमेरिकाको गम्भीर राजनीतिक अपराध भएको पनि दावी गरेका छन् ।

केही समयअघि अमेरिकाले ‘कन्ट्री रिपोर्ट अन टेरोरिजम २०१८’ सार्वजनिक गरेको थियो । त्यसमा नेपालका बारेमा पनि केही विषयहरु राखिएको थियो । उक्त रिपोर्टमा चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेका कामहरुको चर्चा गर्दै यो नेपालको आन्तरिक आतंकवादी संगठन भएको उल्लेख गरेको थियो । अमेरिकाको प्रति आतंकवाद ब्यूरोले सार्वजनिक गरेको त्यही रिपोर्टमाथि टिप्पणी गर्दै विद्रोही नेकपाका महासचिव विप्लवले एक विज्ञप्ति जारी गरेका हुन् ।

‘अमेरिकाले हाम्रो पार्टीबारे दिएको रिपोर्टबारे प्रेस वक्तव्य’ शिर्षक राखेर विप्लवको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा अमेरिकाले विश्वभर गरिरहेको वा जनाइरहेको प्रतिक्रियाप्रति कडा आक्रोश पोखिएको छ । साथै नेपालको आन्तरिक मामिलामा यसरी ठाडै हस्तक्षेप गरे पनि नेपाल सरकार भने चुपचाप बस्नु आश्चर्यजनक रहेको विप्लवले बताएका छन् । यसबाट नेपाल सरकार र वर्तमान सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाकै प्रतिनिधि पात्र बन्न पुगेको दावी विप्लवले गरेका छन् ।

अमेरिकाले आफ्नो रिपोर्टमा अन्तर्राष्ट्रिय आतङ्कवादीहरूको आश्रयस्थल र आवतजावत गर्ने थलो नेपाल भएको भनेर उसको रिपोर्टमा उल्लेख गरिएको छ । नेपालमा भारतीय मुजाहिद्धिन लगायतका आतंकवादी संगठनका मान्छेहरु बस्ने गरेको पनि अमेरिकाले आफ्नो रिपोर्टमा दावी गरेको थियो ।

विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी साम्राज्यवादले हाम्रो देश, नेपाली जनता र पार्टीको राजनीतिक स्वतन्त्रता एवम् अधिकारमाथि निर्लज्जतापूर्वक गरेको हस्तक्षेपको घोर भत्र्सना गर्दै उक्त रिपोर्ट झूट, भ्रामक तथा षड्यन्त्रपूर्ण भएको स्पष्ट गर्दछ ।’

विप्लवले अमेरिका आफैले पनि पटक पटक बन्दुक उठाएको भन्दै उसलाई आफ्नो इतिहास हेर्न सुझाएका छन् । उपनिवेशको दमनबाट फुत्किन बन्दुक उठाएर लडेको देश भएको स्मरण गराउँदै विप्लवले आफ्ना अग्रजहरूको विद्रोहलाई बिर्सेर बीसौँ शताब्दीदेखि कमजोर देशहरूलाई पैतालामुनि दबाउने घोर फासिस्ट एवम् साम्राज्यवादी नीति लिएको बताएका छन् । बेलायती युगको अन्त्य भएपछि अमेरिकी युग चलेको र त्यसले विश्वशान्ति, प्रगति, मानवता र समृद्धिको मुख्य अवरोधक एवम् बाधक बनेर आतङ्क मच्चाइरहेको उनले बताएका छन् ।

अमेरिकालाई यस्तो आरोप थोपर्ने अधिकार र नैतिकता नै नभएको भन्दै विप्लवले वैज्ञानिक समाजवादी—साम्यवादी क्रान्तिको नेतृत्व गर्ने कम्युनिस्ट पार्टी र श्रमिक वर्गका लागि उसका आरोपहरु औचित्यहीन भएको बताएका छन् ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अमेरिका आफैँ उपनिवेशको दमनबाट फुत्किन बन्दुक उठाएर लडेको देश हो । आफ्ना अग्रजहरूको विद्रोहलाई बिर्सेर बीसौँ शताब्दीदेखि कमजोर देशहरूलाई पैतालामुनि दबाउने घोर फासिस्ट एवम् साम्राज्यवादी नीति लिएको छ । बेलायती युगको अन्त्य भएपछि अमेरिकी युग चलेको आतङ्क मच्चाइरहेको छ । ऊ नै विश्वशान्ति, प्रगति, मानवता र समृद्धिको मुख्य अवरोधक एवम् बाधक बनिरहेको छ । विश्वभरि चलिरहेका अशान्ति, युद्ध, विध्वंस, आतङ्क, नरसंहारको संरक्षक, सञ्चालक र स्रोत पनि अमेरिका नै बनेको छ । उल्टो उसले वास्तविक शान्ति, मानवता, स्वतन्त्रता, स्वाधीनता एवम् परिवर्तनका वाहक शक्ति श्रमिक जनता, कम्युनिस्ट पार्टी र जनक्रान्तिलाई आतङ्कवादीको असैह्य आरोप थोपर्ने गरेको छ । हालै हाम्रो जनप्रिय नेपाल कम्युनिस्ट पार्टीमाथि लक्षित गरेको पूर्णतः अस्वीकार्य एवम् अर्थहीन आरोप पनि यसैको एक भाग हो । लुट र अतिक्रमणको नेतृत्व गर्ने अमेरिकालाई यस्तो आरोप थोपर्ने न अधिकार छ, न त नैतिकता नै । वैज्ञानिक समाजवादी—साम्यवादी क्रान्तिको नेतृत्व गर्ने कम्युनिस्ट पार्टी र श्रमिक वर्गका लागि यो औचित्यहीन छ ।’

साथै विप्लवले आफ्नो पार्टी माक्र्सवाद—लेनिनवाद—माओवाद र एकीकृत जनक्रान्तिमा विश्वास राख्ने श्रमिक वर्ग र विश्व कम्युनिस्ट आन्दोलनको एक दस्ता भएको उल्लेख गर्दै महासचिव विप्लवले यो पार्टी पेरिस कम्युन, अक्टोबर क्रान्ति, जर्मन क्रान्ति, चिनियाँ नयाँ जनवादी क्रान्तिको नेपाली प्रतिनिधि एवम् नेपाली क्रान्तिहरूको अगुवा भएको दावी गरेका छन् ।

अमेरिकाले आफ्नो पार्टीले कहिल्यै नगरेको वीरगन्जको भारतीय कन्सुलेट कार्यालयको पर्खालमा बम हानेर भत्काइदिएको, पोखराको एयरपोर्टमा बम हानेको, गाउँका सडकका पुलमा बम हानेर क्षति गरेको र नेपाललाई अन्तर्राष्ट्रिय आतङ्कवादीहरूको आश्रयस्थल र आवतजावत गर्ने थलो भनेर बदनाम गराउन खोजेको भन्दै उनले उक्त रिपोर्टमा सतप्रतिशत झूट, भ्रामक र षड्यन्त्रपूर्ण रहेको प्रष्ट पारेका छन् ।

महासचिवको विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकाले बुझिराखोस्– नेपाल कम्युनिस्ट पार्टी माक्र्सवाद—लेनिनवाद—माओवाद र एकीकृत जनक्रान्तिमा विश्वास राख्ने श्रमिक वर्ग र विश्व कम्युनिस्ट आन्दोलनको एक दस्ता हो । यो पार्टी पेरिस कम्युन, अक्टोबर क्रान्ति, जर्मन क्रान्ति, चिनियाँ नयाँ जनवादी क्रान्तिको नेपाली प्रतिनिधि एवम् नेपाली क्रान्तिहरूको अगुवा हो । यसले यतिबेला दलाल पुँजीवादी सत्ताका विरुद्ध वैज्ञानिक समाजवादी सत्ता स्थापनार्थ एकीकृत जनक्रान्तिको नेतृत्व गरिरहेको छ । यसले न आतङ्कवादमा विश्वास गर्छ, न त दासत्व र पराधीनतालाई नै स्वीकार गर्छ । जनता र देशलाई हानि एवम् क्षति पुग्ने एकरत्ति कार्य पनि गर्दैन तर जनता र देशको हित एवम् मुक्तिका लागि जुनसुकै सङ्घर्ष र त्याग गर्न तयार छ । आजसम्म जनता र देशको हितभन्दा बाहिर गएर बमको कुरा कल्पनै नगरौँ, एउटा सिन्को पनि भाँचेको छैन र भाँच्ने पनि छैन ।’

उक्त फेक रिपोर्टले शक्तिशाली भनेर प्रचार गरिने अमेरिकी रिपोर्टको कमजोर क्षमता मात्र उजागर गर्दै उसको पूर्वाग्रही, दुराशययुक्त र उत्तरसाम्राज्यवादी चरित्रको पनि पुष्टि भएको महासचिव विप्लवले बताएका छन् । यसर्थमा अमेरिकाको रिपोर्ट गम्भीर राजनीतिक अपराध भएको उनको ठहर छ । साथै यस्तो बदनियतपूर्वक बनाइएको रिपोर्ट पूर्णतः खारेज गर्दै आइन्दा यस्तो आपराधिक कार्य नगर्न उनले अमेरिकालाई चेतावनी समेत दिएका छन् ।

महासचिव विप्लवले अगाडि भनेका छन्, ‘अमेरिकाले रिपोर्टमा हाम्रो पार्टीले कहिल्यै नगरेको वीरगन्जको भारतीय कन्सुलेट कार्यालयको पर्खालमा बम हानेर भत्काइदिएको, पोखराको एयरपोर्टमा बम हानेको, गाउँका सडकका पुलमा बम हानेर क्षति गरेको भनेर जुन रिपोर्ट उल्लेख गरेको छ साथै हाम्रो देशलाई अन्तर्राष्ट्रिय आतङ्कवादीहरूको आश्रयस्थल र आवतजावत गर्ने थलो भनेर चर्चा गरको छ, यो सय प्रतिशत झूट, भ्रामक र षड्यन्त्रपूर्ण रहेको छ । यसले शक्तिशाली भनेर प्रचार गरिने अमेरिकी रिपोर्टको कमजोर क्षमता मात्र उजागर गर्दैन, उसको पूर्वाग्रही, दुराशययुक्त र उत्तरसाम्राज्यवादी चरित्रको पनि पुष्टि गर्दछ । यसर्थमा अमेरिकाको रिपोर्ट गम्भीर राजनीतिक अपराध हो । हामी यसप्रति घोर आक्रोश र घृणा व्यक्त गर्न चाहन्छौँ । अमेरिकाले यस्तो आपराधिक कार्य नगरोस् भन्ने चेतावनी पनि दिन चाहन्छौँ । अतः यो रिपोर्टलाई हाम्रो पार्टी पूर्णतः खारेज गर्दछ ।’

यसैगरी अमेरिकी साम्राज्यवादले नेपालको सार्वभौमिकतामाथि नाङ्गो हस्तक्षेप र अन्तर्राष्ट्रिय बदनामी गर्दासमेत मुखमा ताल्चा लगाएर बस्ने केपी ओली सरकार अमेरिकी साम्राज्यवादको टट्टु भएको महासचिव विप्लवको आरोप छ । यस्तो नक्कली, झूटो र अतिक्रमणकारी रिपोर्टमा विश्वास नगर्न विश्व समुदायलाई आग्रह गर्दै उनले आमश्रमिक जनता, उत्पीडित राष्ट्र र क्रान्तिकारी शक्तिहरूलाई प्रतिवाद गर्न विशेष अपिल समेत गरेका छन् ।

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘यसैगरी अमेरिकी साम्राज्यवादले हाम्रो देशको सार्वभौमिकतामाथि नाङ्गो हस्तक्षेप र अन्तर्राष्ट्रिय बदनामी गर्दासमेत मुखमा ताल्चा लगाएर बस्ने केपी वली सरकार अमेरिकी साम्राज्यवादको टट्टु हो भन्ने प्रस्ट पार्न चाहन्छौँ । यस्तो नक्कली, झूटो र अतिक्रमणकारी रिपोर्टमा विश्वास नगर्न विश्व समुदायलाई आग्रह गर्दै आमश्रमिक जनता, उत्पीडित राष्ट्र र क्रान्तिकारी शक्तिहरूलाई प्रतिवाद गर्न विशेष अपिल गर्दछौँ ।’

यस्तो छ विज्ञप्ति

 

Loading...