काठमाडौ । नेपालमा श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १९ हजार ५ सय ५० रूपैयाँ तोकिएको छ ।
नेपाल सरकार, रोजगारदाता तथा श्रमिक संघ संगठनबीच न्यूनतम पारिश्रमिक निर्धारणमा त्रिपक्षीय सहमति जुटेको हो ।
सहमतिअनुसार आज साउन १ देखि नै लागू हुनेगरी न्यूनतम मासिक पारिश्रमिक १९ हजार ५ सय ५० रूपैयाँ निर्धारण भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको सचिवालयले जनाएको छ ।
सबै सरोकारवाला पक्षको सहमतिमा असार मसान्तमा मन्त्री स्तरीय निर्णय भएको र त्यो साउन महिनादेखि नै लागू हुनेगरी निर्देशन गरिएको सचिवालयले जानकारी गराएको हो ।
सहमतिलाई मन्त्री भण्डारीले ऐतिहासिक भनेका छन् । मन्त्री भण्डारीले सहमति कार्यान्वयनमा सबै पक्ष गम्भीर भएर लाग्नुपर्ने आवश्यकता औल्याए ।
” न्यूनतम पारिश्रमिकको प्रभावकारी कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक छ ।” उनले भने ।








