अरबौ सम्पतिका मालिक रेमण्डका सञ्चालक आफ्नै छोराका कारण सडकमा

काठमाडाैं । भारतकै टप एवं चर्चित ब्रान्ड रेमन्ड कम्पनीका करोडपति मालिक रहिसकेको ७८ वर्षीय विजयपत सिंघानिया अहिले ‘सडक छाप’ को जीवनयापन गर्न बाध्य छन् ।

यो बाध्यता अरू कसैले हैन, आफ्नै छोराका कारण भोग्नुपरेको उनी बताउँछन् । उनी भन्छन्, ‘एक हजार करोड भारतीय रुपैयाँभन्दा बढीको सम्पत्ति छोरालाई हस्तान्तरण गरेपछि मेरो यो हाल भएको हो । अहिले एक रुपैयाँका लागि अरूसमक्ष हात फैलाउनुपर्ने अवस्था छ । भाडाको घरमा बस्नुपरेको छ । मैले चढ्दै आएको गाडीसमेत छोराले खोसिदिएपछि मेरो बिजोग भएको छ । चालकलाई समेत फिर्ता लग्यो छोराले ।’

यी भनाइहरूले विजयपत र छोरा गौतमबीचको घरायसी झगडा कुन हदमा पुगेको छ भन्ने चित्रण गर्न काफी छ । छोरा गौतमहरि सिंघानियाले परिवारभन्दा कम्पनी ठूलो भएकाले यो अवस्था आएको बताएका छन् । तर, बुबाले भने आफ्नो अभिभावकत्वमै कमीका कारण यो अवस्था आएको दाबी गर्छन् । भन्छन्, ‘दु:खले नाम र दाम कमाएँ, आज छोराले मलाई पैदलै हिँड्न बाध्य तुल्यायो । मैले चढ्ने गाडीसमेत खोस्यो, भाडाको घरमा बस्न बाध्य तुल्यायो ।’

आफैंले आर्जेको सम्पत्तिमा हक पाउन मुम्बईको उच्च अदालतमा छोराविरुद्ध विजयपतले मुद्दा हालेका छन् । अदालतको फैसला आएको छैन । उनका कानुन व्यवसायीले ‘अवकाश प्राप्त’ विजयपत हाल दयनीय आर्थिक अवस्थाबाट गुज्रिरहेको बताएका छन् । ती कानुन व्यवसायीले विजयपतलाई उद्धृत गर्दै भनेका छन्, ‘आफ्नो कम्पनीको सबै सेयर छोरा गौतमको नाम गर्ने निर्णयले सिंघानिया संकटमा परेको हुन् ।’

सिंघानिया भारतकै धनीमध्येका एक हुन्, जो हाल साउथ मुम्बईस्थित ग्रायन्ड पराडी सोसाइटीको एउटा भाडाको घरमा बस्छन् । आफ्नो यो अवस्थाको दोषी उनी छोरालाई ठान्छन् । भारतीय अखबारहरूका अनुसार छोराविरुद्ध दायर गरेको मुद्दामा उनले भनेका छन्, ‘हिलस्थित ३६ तला जेके हाउस आफूलाई फिर्ता हुनुपर्छ ।’ सन् १९६० ताका उक्त हाउस बनेर तयार हुँदा १४ तलाको मात्रै थियो । पछि ‘डुप्लेक्स’ रेमन्डकै सहयोगी कम्पनी पस्मिना होल्डिङलाई दिइएको थियो ।

सन् २००७ मा कम्पनीले फेरि उक्त भवनको पुनर्निर्माण गरेको थियो । एउटा करारनामाअनुसार विजयपत, उनका छोरा गौतम, भाइ अजयपतकी विधवा वीणादेवी र उनकै पनि छोरा अनन्त र अक्षयपतलाई ५ हजार १ सय ८५ वर्गफिटको डुप्लेक्स पाउनुथियो । तर, कसैले पाएका छैनन् । उक्त अपार्टमेन्टमा आफ्नो दाबी गर्दै वीणा र अनन्तले संयुक्त रूपमा पहिले नै मुद्दा दायर गरिसकेका छन् । अक्षयपतले पनि छुट्टै मुद्दा हालिसकेका छन् ।

छोरा भने एकलकाटे बन्दै त्यसमा कसैको हक नलाग्ने दाबी गर्दै छन् । विजयपतका कानुन व्यवसायी दिनयार मेडनले सुनुवाइका क्रममा अदालतसमक्ष आफ्नो पक्ष राख्दै भनेका छन्, ‘७८ वर्षीय विजयपत सिंघानिया आफ्नो सबै सम्पत्ति छोराको नाम गरे तर छोराले उनीमाथि ध्यानै दिन छाडेपछि यो विवाद चुलिएको हो ।’ उनका अनुसार सिंघानियाले कम्पनीको सबै सेयर आफ्नो छोराको नाममा गरेको तर छोराले बुबालाई बेसहारा बनाइदिएका छन् ।

सिघांनियाले आफ्नो सबै सेयर सन् २०१५ मा छोरालाई दिएका थिए । रेमन्ड समूहको हाल करिब तीन हजार करोड भारतीय रुपैयाँको लगानी रहेको जागरण पत्रिकाको अनलाइन संस्करणमा छ ।

सन् २००६ मा भारत सरकारले खेल क्षेत्रमा योगदान पुर्‍याएबापत पद्म भूषण अवार्ड प्रदान गरेको थियो । विजयपतलाई एभिएसनमा समेत रुचि छ । सन् १९९४ मा २४ दिनसम्म ३४ हजार किलोमिटरको उडान समेत उनले पूरा गर्न भ्याइसकेका छन् ।

सन् १९९८ मा बेलायतबाट भारतसम्म एक्लै माइक्रोलाइट विमान उडान गरेर ल्याएका थिए । ६७ वर्षको उमेरमा हट ब्यालुनमा उडान भर्दै उनले रेकर्डसमेत कायम गरेका थिए । सन् १९३८ मा उत्तरप्रदेशको कानपुरमा जन्मेका उनी मुम्बईको ‘सेरिफ’ पनि रहिसकेका छन् ।

सन् २००५ डिसेम्बरदेखि सन् २००६ डिसेम्बरसम्म मुम्बईको मनार्थ मेयर (सेरिफ) को भूमिकामा थिए । आईआईएम अहमदाबादमा गभर्निङ काउन्सिलका अध्यक्षको अनुभवसमेत उनीसँग छ । भारतीय वायुसेनाले उनलाई एयर कमोडोरको मनार्थ उपाधिसमेत दिइसकेको छ । उनी बेलायतको रोयल एयरो क्लबका सदस्य पनि हुन् ।

अागामी अक्टोबरमा उनी आफ्नो ७९ औं जन्मदिन मनाउने तयारीमा छन् । तर, तिनै विजयपत अदालतको सुनुवाइ सुरु भएको सातापछि अगस्त १८ मा मुटुमा समस्याका कारण मुम्बईस्थित एक अस्पतालमा भर्ना हुँदा छोराले मुखसमेत देखाएनन् । अस्पतालमा पत्नी आशाबाई सिंघानिया र छोरीको परिवार मात्रै पुगेका थिए । उनको उपचारमा संलग्न चिकित्सक हेमन्त ठाकुरका अनुसार सिंघानियाको रक्तचाप बढेको, मुटुमा समस्या देखिएको र केही ब्लकेजसमेत रहेको छ ।

यसै वर्षको मार्चमा उनले लन्डनमा कोरोनरी बाइपास सर्जरी गराएका थिए । सिंघानियाले टाइम्स अफ इन्डियासँगको एक अन्तर्वार्तामा ‘छोरा सानै छँदा उसलाई पर्याप्त समय नदिएरै पो यस्तो भएको हो कि’ भनेका थिए । छोरा गौतम भने बुबाद्वारा लगाएको आरोपको बचाउ गर्दै सञ्चारमाध्यमहरूलाई भनेका छन्, ‘रेमन्ड समूहको अध्यक्ष र एउटा छोराका नाताले मेरो जिम्मेवारी फरक–फरक छ । कम्पनीको सेयरधनीको हित परिवारको हितभन्दा ठूलो छ ।

विश्वमा उद्योग क्षेत्रले तीव्र गतिमा फड्को मारिरहेको अवस्था छ । त्यसैले रेसमा पछाडि पर्ने कुरै हुन्न । आफूमा परिवर्तन गर्दै अगाडि बढ्नुको विकल्प पनि छैन । मैले रेमन्डलाई एउटा नयाँ अवतार दिएको छु । व्यवस्थापनमा ठूलै परिवर्तन गरिसकेको छु, त्यो परिवर्तनले रेमन्डको स्थान अगामी २० वर्षसम्मका लागि पक्का बनाएको छु ।’

बुबाको अड्डी स्वभावबारे पनि उनले आफ्नो प्रतिक्रिया सञ्चार माध्यमहरूलाई दिइसकेका छन् । उनले भनेका छन्, ‘छोराको हैसियतमा मैले आपसी वार्ताबाटै समस्या समाधान गर्ने भग्मग्दुर प्रयास गरेकै हुँ तर उहाँ (बुबा) आफ्नो अडानबाट टसमस हुन चाहनुभएन । यदि कुनै मानिस एउटा रूखजस्तै कठोर बनेर अडिरहयो भने ढल्ने निश्चित छ या भाँच्चिन पनि सक्छ । त्यस्तै जसले समयसँगै आफूलाई परिवर्तन गर्दैन, उसको अस्तित्व पनि समाप्त हुन सक्छ । मैले कर्पोरेट गभर्नेन्सको नियमअनुसार प्रस्ताव पठाएको थिएँ तर सेयरधनीहरूले त्यो प्रस्ताव ठाडै अस्वीकार गरिदिए, यसमा मेरो के गल्ती ? अब मुद्दा अदालतमा छ, त्यसैले यसबारे थप केही भन्न चाहन्नँ ।’

बाबु–छोराको विवादबारे अदालतका न्यायाधीशले पनि आपसी समझदारीमा समस्या समाधानमा जोड दिएका छन् । भारतीय समाचार संस्था पीटीआईका अनुसार मुम्बई उच्च अदालतका न्यायाधीश जीएस कुलकर्णीले मुद्दाको सुनुवाइ गर्दै भनेका थिए, ‘सबैभन्दा पहिले त यस प्रकारको मुद्दा अदालतसम्म आउनु हुन्थेन । यो बुबा र छोराबीचको झगडा हो । यसलाई आपसी सहमतिमै सल्टाउनुपथ्र्यो । अब पनि केही भएको छैन मिलेरै समस्याको समाधान गर्ने प्रयास बाबुछोराले गरून् ।’ विजयपतका कानुनी व्यवसायीले अदालतको यो सुझावबारे छलफल सुरु गरिसकिएको प्रतिक्रिया दिएका छन् ।

छोरा गौतमको परिचय

विजयपतका छोरा गौतमहरिको जन्म ९ सेप्टेम्बर १९६५ मा भएको हो । उनको स्कुलिङ सेन्ट म्यारिज स्कुल मुम्बई र दि क्याथेद्रल एन्ड जोन क्यानोन स्कुलबाट भएको थियो । उनी हाल रेमन्ड समूहका अध्यक्ष र प्रबन्ध निर्देशक हुन् । उनको यो समूह विश्वमै ‘सबैभन्दा बढी बिक्री हुने कपडा’ को ‘सबैभन्दा ठूलो’ उत्पादक भएको दाबी गरिएको छ । कम्पनीले अन्सेल लिमिटेडसँगको संयुक्त लगानीमा कामसूत्र कन्डमको पनि उत्पादन गर्छ ।

सन् २०१२ मा उनको कुल सम्पत्ति १ दशमलव ४ अर्ब अमेरिकी डलर अनुमान गरिएको थियो । गौतम तीव्र रफ्तारमा चल्ने कार, डुंगा, जहाज र नाइटक्लबका सौखिन छन् । उनीसँग लम्बोर्घिनी ग्यालार्डो, निसान स्काई लाइन जीटीआर, होन्डा एस२००, फेरारी ४५८ इटालिया, लोटस इलिसे कन्भर्टिबल, भर्दे इथाका एलपी५७० सुपरल्यागेरा र औदी क्यु ७ जस्ता महँगा सवारी साधनहरू रहेका छन् । गौतम र डीजे अकिलको संयुक्त लगानीमा बान्द्रामा ‘पोइजन’ नामक नाइटक्लब सञ्चालनमा छ । उनी हाल भारतकै सबैभन्दा धनाढय मुकेश अम्बानीको ‘एन्टिलिया’ महलभन्दा १० तला अग्लो गगनुचम्बी भवन निर्माण गर्दै छन् । गौतम भिटिलिगो (छालामा पिग्मेन्ट उत्पादन नहुने) रोगबाट ग्रसित छन् ।

Loading...