झापा र मोरङमा मात्रै ३० जनाको मृत्यु

विराटनगर, ३१ साउन । मोरङमा १९ जनाको शव भेटियो, झापामा ११ को मृत्यु, ४ बेपत्ता, पूर्वी नेपालको मौसममा सुधार

निरन्तरको वर्षाका कारण मोरङमा १९ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार सोमबारसम्म १९ जनाको शव भेटिएको छ । अझै केही बेपत्ता छन् । वर्षा रोकिएपछि बाढीले बगाएर मृत्यु हुनेहरूको शव भेटिन थालेको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले बताए ।

सोमबर मात्रै १३ जनाको शव भेटिएको उनले जानकारी दिए । मृतकमध्ये १४ जनाको पहिचान भइसकेको छ । भारतमा शव भेटिएका सातमध्ये चारजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । रेल्वे स्टेसननजिकै मंगोलियन अनुहार भएका एक पुरुष र तीन महिलाको शव फेला परे पनि उनीहरूको सनाखत हुन नसकेको बिसीले बताए ।

गत शनिबार दिउँसोबाट बेपत्ता भएकामध्ये विराटनगर–१३ का रोशन लुइँटेल र मनोज पासवान तथा विराटनगर–१२ का निश्चल घिमिरेको शव भारत जोगबनीको रेल्वे स्टेसननजिकै फेला परेको हो ।

भारतको जोगवनी १० टिकुलिया वस्तीका शिवनाथ साहको शवसमेत सोही स्थानमा भेटिएको थियो । जोगवनीस्थित रेल्वे स्टेसनको पश्चिमतर्फको पोखरीमा तैरिरहेको अवस्थामा शवहरू भेटिएको थियो । नेपालतिरबाट खोला र भेलले बगाएर अझै धेरै मानिसहरू भारततर्फ पुगेको हुन सक्ने अनुमान छ । विहार प्रहरीको सहयोगमा पार्थिव शरीर मोरङ ल्याइएको छ ।

बाढीमा परेर जिल्लाका गोपीमाया तामाङ, गंगाराम खतिवडा, मीनबहादुर थापा, बुद्धिमाया लिम्बू, किसन महतो, अरूलिया ऋषिदेव, उमेश नेपाल, धीरज माझी र सानुमाया राईको शव यसअघि नै भेटिएको थियो । भारी वर्षा रोकिएपछि पानीको सतह कम हुन थालेको छ । जसले गर्दा बगेर बेपत्ता भएकाहरूको शव भेटिन थालेको हो । पछिल्लो तथ्यांकअनुसार बाढीबाट सबैभन्दा बढी मानवीय क्षति मोरङमा भएको छ ।

प्रहरीका अनुसार जिल्लामा आठ हजार पाँच सय घर डुबानमा परेका छन् । तीमध्ये आधा परिवार विस्थापित भएका छन् । सबैभन्दा बढी प्रभावित क्षेत्र विराटनगर, रतुवामाई, केराबारी, मधुमल्ला, सुन्दर हरैँचालगायत स्थानमा राहत वितरण गर्न जिल्ला दैवीप्रकोप उद्धार समितिले तयारी गरेको छ ।

पूर्वी नेपालको मौसममा सुधार

पूर्वी नेपालमा मौसममा क्रमिक सुधार आउन थालेको छ । वर्षा रोकिएकाले यस क्षेत्रको जनजीवन केही सामान्य बनेको छ । तर, विद्युत् र खानेपानी अझै सुचारु हुन सकेको छैन । पूर्वमा विद्युत् वितरण गर्ने सुनसरीको दुहबी ग्रिडमा अझै पनि पानी जमेकाले विद्युत् सुचारु हुन नसकेको हो ।

देशभर मध्यमखालको वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पूर्वी, मध्य र पश्चिम क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद् राजु प्रधानांगले बताए । उनका अनुसार पूर्वी नेपालमा मनसुनी प्रणाली अघिल्लो दिनको तुलनामा कमजोर हुँदै गएको छ । तर, पश्चिम नेपालमा भने कमजोर हुन अझै केही समय लाग्नेछ ।

जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान शाखाले ठूलो वर्षा नभए पनि पानी पर्ने क्रम नरोकिने भएकाले जोखिम कायमै रहेको बताएको छ । शाखाले सोमबार दिउँसोसम्म जोखिम कायमै भएकाले सतर्क रहन सुझाएको छ ।

झापा
अविरल वर्षासँगै आएको बाढीका कारण झापामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । बाढीले बगाएर थप चारजना बेपत्ता छन् । झापा गाउँपालिका–२ सडकबारीकी ३५ वर्षीया धनमाया घोर्साने, सोही ठाउँका नाम नखुलेका ६० वर्षीय वृद्ध र वडा नम्बर ४ का १० वर्षीय कुल्सन खातुन, वडा नम्बर ७ की कमला दर्लामी र उनकी छोरी खुसी दर्लामी, शिवसताक्षी नगरपालिका–१ धरमपुरका २८ वर्षीय विजय पाण्डेको मृत्यु भएको छ ।

यस्तै, कचनकवल गाउँपालिका–३ डाँगीबारीका २२ वर्षीय राम राजवंशी, दमक नगरपालिका–५ बस्ने २६ वर्षीय तपोष मण्डल, हल्दिबारी गाउँपालिकास्थित गोलधापका चम्पामणि सतार, कमल गाउँपालिकाका ३५ वर्षीय दिवस राईको पनि मृत्यु भएको छ ।

चार जना बेपत्ता
बाढीले बगाएर बेपत्ता भएका झापा गाउँपालिका–२ की कमला घोर्साने, सोही स्थानका कालीप्रसाद राजवंशी, उनकी श्रीमती र एउटा बच्चा अझै फेला परेका छैनन् । झापामा बाढीले २ हजार १९ घरपरिवार प्रभावित भएको रेडक्रस झापाका सभापति लोकराज ढकालले जानकारी दिए । बाढीका कारण झापाका एक हजार आठ सय ९६ परिवार विस्थापित भएका छन् ।

सेना र सशस्त्रद्वारा उद्धार
रेडक्रसका अनुसार बाढीका समयमा कमल गाउँपालिकाका ३५ परिवारका सयजनालाई नेपाली सेनाको पाथीभरा गणको टोलीले उद्धार गरेको थियो । गौरादहका १ सय ७० परिवारलाई सशस्त्र प्रहरीले उद्धार गरेको जनाइएको छ ।

कचनकवल गाउँपालिका–१ बाट सशस्त्र प्रहरीले ५० परिवारलाई उद्धार गरेको छ । कन्काई नगरपलिका–७ चप्रामारीका दुई परिवार, बाह्रदशी गाउँपालिका डाँगीबारीका दुई परिवार र झापा गाउँपालिका–७ मदरगाछका ३५ जनाको उद्धार गरिएको रेडक्रस झापाले जनाएको छ । भद्रपुर नगरपालिकाको भैसावाडीका एक सय ३५ परिवारको पनि बाढीबाट उद्धार गरिएको छ । भद्रपुर नगरपालिका–५ सुकुमबासी टोलमा ४० जना बाढीपीडितलाई पालमा राखिएको छ ।

बाह्रदशी गाउँपालिका–६ का १ सय ५० जनालाई उद्धार गरी स्थानीय गौरीशंकर प्राविमा राखिएको छ । भद्रपुर नगरपालिका–९ पुवाँतुबाडीका विस्थापित २६ परिवारलाई शिवपञ्चायन मन्दिरमा राखिएको छ । भद्रपुर–८ सुकुमबासी बस्तीका पाँच परिवारलाई मेची बहुमुखी क्याम्पसमा, गौरीगन्ज–६ का २० परिवारलाई स्वास्थ्य चौकीमा राखिएको छ । उनीहरूका लागि भुजा, चिउरा, पानी, बिस्कुट, चाउचाउको व्यवस्था गरिएको रेडक्रसले जनाएको छ ।

१३ स्थानीय तहमा क्षति
रेडक्रस झापाको विपद् व्यवस्थापन विभागअन्तर्गत आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार १५ मध्ये १३ स्थानीय तहमा बाढीले क्षति पु¥याएको छ । सातवटा नगरपालिका र ६ वटा गाउँपालिकाका बासिन्दा बाढीबाट प्रभावित भएका हुन् । भद्रपुर नगरपालिका, दमक नगरपालिका, मेचीनगर नगरपालिका, बिर्तामोड नगरपालिका, कन्काई नगरपालिका, गौरादह नगरपालिका, शिवसताक्षी नगरपालिका, कचनकवल गाउँपालिका, झापा गाउँपालिका, गौरीगन्ज गाउँपालिका, बाह्रदशी गाउँपालिका, कमल गाउँपालिका र हल्दिबारी गाउँपालिकाका बासिन्दा बाढीबाट प्रभावित भएका हुन् ।

झापाको मेची, कन्काई, बिरिङ, रतुवा, कमल, अदुवालगायतका नदीमा बाढी आएको थियो । बाढीबाट विस्थापित हुनेमा महिला तथा बालबालिकाको संख्या बढी छ । लगातारको वर्षाका कारण तीन दिनदेखि अवरुद्ध भएको इन्टरनेट, विद्युत् र टेलिफोन सेवा सोमबार साँझदेखि सञ्चालना आएको छ ।

Loading...