सर्लाहीमा धारिलो हतियार प्रहार गरी हत्या, हत्या आशंकामा पत्नी पक्राउ ।

सर्लाही । सर्लाही जिल्लाको उत्तर–पूर्वी चुरे क्षेत्रस्थित विकट गाउँमा शनिवार साझ धारिलो हतियार प्रहार गरी एक पुरुषको हत्या भएको छ। हत्यामा संलग्न भएको आशंकमा प्रहरीले मृतककै पत्नीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर लामीदमार निवासी ५४ वर्षीय अम्बरबहादुर परियारको धारिलो हतियार प्रहार गरी हत्या भएको सर्लाही प्रहरीले जनाएको छ । पूर्वपश्चिम राजमार्ग देखि झण्डै १५ किमि उतरमा रहेको ईश्वरपुर नगरपालिका वडा नम्बर १२ को बिकट क्षेत्र लामिदमार भन्ने गाउँमा घटना घटेको हो ।
सोही वडाका वडाध्यक्ष नागेन्द्र पाख्रीनका अनुसार परियारको टाउको र ढाडमा धारिलो हतियारले प्रहार गरेको र प्रहारबाट गहिरो चोट रहेको छ।
प्रहरीले हत्यामा संलग्न भएको आशंकामा मृतक परियारकी श्रीमती ५७ वर्षीया सोनामाया नेपालीलाई नियन्त्रणमा लिएको छ । घरमा श्रीमान–श्रीमती मात्र बस्ने गरेको र प्रायः मदिरा सेवन गरिरहने अम्बरबहादुर र सोनामायाबीच दैनिकजसो विवाद भईरहने गरेको स्थानीयले बताएपछि उनी पक्राउ परेकी हुन् ।
घटना शनिबार रातीकै भएपनि घटनास्थल सिन्धुली जिल्लाको सीमा नजिक साबिक कालिन्जोर गाविसको अति विकट चुरे क्षेत्रमा पर्ने भएकाले प्रहरीले घटना को बारे मा आइतवार बिहान मात्र जानकारी पाएको हो।
लामीदमारका स्थानीयवासीले आज बिहान ७ बजे वडाध्यक्ष पाख्रिनलाई जानकारी गराएपछि मात्र उनीमार्फत घटनाबारे प्रहरीले थाहा पाएको हो ।
प्रहरीले घटनास्थलबाट एक थान बञ्चरो समेत बरामद गरेको छ। कालिन्जोरबाट बाँके खोलाको बाटो हुँदै घटनास्थल पुग्नु पर्ने हुँदा मृतकको शव ल्याउँन छ घण्टा भन्दा बढी समय लागेको इलाका प्रहरी कार्यालय केशर गन्जका प्रहरी निरीक्षक गौरव महतले जानकारी दिए ।
मृतकको शव घटनास्थलबाट पोष्टमार्टमका लागि सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पताल पठाइएको ईलाका प्रहरी कार्यालय केशरगंजले जनाएको छ। घटनाबारे अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

Loading...