इरानले आफ्नो एउटा पछिल्लो घोषणामा सन् २०१५ मा गरिएको परमाणु सम्झौताको अर्को एउटा प्रावधान तोडेको बताएको छ।
तेहरानमा आयोजित एउटा पत्रकार सम्मेलनमा सहायक विदेशमन्त्री अब्बास अराक्चीले आफ्नो देशले सम्झौताले व्यवस्था गरेको युरेनियमको थप प्रशोधन वा इनरिचमेन्टको सीमास्तर तोडेको बताएका हुन्।
इरानले सम्झौताले आफूसँग राख्न अनुमति दिएभन्दा बढी (लो इनरिच्ड) युरेनियमको भण्डारण बढाएको बताएको एक साताभन्दा कम समयमा यस्तो नयाँ घोषणा आएको हो। त्यस्तो इनरिच्ड युरेनियम आणविक भट्टीमा इन्धनको रूपमा र पारमाणविक अस्त्रमा पनि प्रयोग हुनसक्ने बताइन्छ।
इरानले के भन्यो ?
इरानले आणविक हतियार निर्माण गर्ने आफ्नो कुनै मनसाय नरहेको बताउँदै आएको छ। अराक्चीले भनेका छन्- इरान न त अन्तर्राष्ट्रिय सम्झौताबाट पछि हट्नेछ न त त्यसलाई रद्द गर्नेछ।
तर उनले युरोपेली संघ (इयु)का विदेशनीति प्रमुखलाई पठाएको पत्रमा इरान अब उक्त सम्झौतामा तोकिएका विभिन्न सीमाहरूमा अडिग नरहने स्पष्ट पारेका थिए। सहायक विदेशमन्त्री अराक्चीले इरानले अझै उक्त सम्झौता बचाउन चाहेको तर युरोपेली देशहरूले आफूहरूले गरेको प्रतिबद्धतामा कायम रहन नसकेको आरोप लगाए।
६० दिने समयसीमा
यसअघि सन् २०१८ मा अमेरिका एकपक्षीय रूपबाट सम्झौताबाट बाहिरिएको थियो। त्यसयता उसले इरानमाथि पुन: प्रतिबन्धहरू लगाएको छ। सम्झौताबाट अमेरिका पछाडि हटेको एक वर्ष नाघेको अवसरमा इरानले बाँकी हस्ताक्षरकर्तालाई ६० दिनको समयसीमा दिएको थियो। तेहरानले चीन, फ्रान्स, जर्मनी, रसिया र ब्रिटेनलाई आफूलाई अमेरिकी प्रतिबन्धहरूबाट बचाउन आग्रह गरेको थियो।
आइतवारको पत्रकार सम्मेलनका बेला सो समयसीमा सकिएको थियो। अराक्चीका अनुसार ३.६७ प्रतिशतभन्दा बढी घनत्वमा युरेनियमको थप प्रशोधन वा इनरिच्मेन्टको कार्य केही घण्टामा सुरु हुने र त्यसले बुसर पावर प्लान्टलाई ऊर्जा प्रदान गर्नेछ।
अधिकारीहरूले यसअघि त्यस्तो घनत्व पाँच प्रतिशतसम्मले बढ्ने बताएका थिए। हतियार तहका युरेनियम ९० प्रतिशत वा बढी ‘इनरिच्ड’ हुनेगर्छन्।
इरानी कदम
प्रत्येक ६० दिनमा इरानले सन् २०१५ को सम्झौतामा उसले गरेका प्रतिबद्धताबाट एकपछि अर्को कदम पछाडि फर्कँदै जाने बताएको छ।
तर प्रतिबन्धहरू हटाइए कूटनीतिक बाटोहरू अझै खुला रहने उसले बताएको छ। इजरेलका ऊर्जामन्त्रीले इरानको कदमको आलोचना गरिसकेका छन्। उनले भनेका छन्- अहिले बढाइएको तह ‘मझौला’ खालको भएपनि ‘इरानले परमाणु शस्त्रीकरणतर्फ आफ्नो कदम बढाएको छ।’
फ्रेन्च राष्ट्रपति एमानुएल माक्रोँले इरानी राष्ट्रपति हसन रूहानीसँग सम्झौता अलपत्र परे के हुन्छ भन्ने बारे ‘कडा चासो’राखेका थिए। त्यसको एकदिनपछि यस्तो घोषणा भएको हो। रूहानीले युरोपेली देशहरूलाई सम्झौतालाई बचाउन आग्रह गरेका थिए।
बीबीसीका प्रतिरक्षा संवाददाता जनथन मार्कस भन्छन्, यो सन् २०१५ को सम्झौताको अन्त्य नजिकिएको अवस्था हो। युरोपेली हस्ताक्षरकर्ताहरू सम्झौताको औचित्य सकिएको घोषणा गर्ने सीमा सार्न संघर्षरत छन्। यदि इरानले सम्झौता उल्लंघनका आफ्ना सीमा बढाउँदै लग्यो भने एउटा विन्दुमा उनीहरूसँग निकै कम विकल्पहरू हुनेछन्।
के हो परमाणु सम्झौता
परमाणु सम्झौतामार्फत इरानको परमाणु महत्त्वाकांक्षालाई सीमित पार्ने शर्तमा ऊमाथि लगाइएका प्रतिबन्ध खुकुलो पारिएको थियो। वाशिङ्टन सम्झौताबाट पछि हटेपछि इरान-अमेरिका तनाव बढेको हो। सम्झौता अनुसार इरानले ३ देखि चार प्रतिशत घनत्व हुने लो इनरिच्ड युरेनियम (U-235) मात्र उत्पादन गर्न पाउँथ्यो जुन आणविक ऊर्जा भट्टीमा मात्र प्रयोग गर्न पाइन्छ।
त्यस्तो युरेनियम तीन सय किलो मात्र भण्डारण गर्न सम्झौताले अनुमति दिएको थियो। तर १ हजार ५० किलोसम्म त्यस्तो भण्डारण गरेर त्यसको घनत्व बढाउँदा एउटा बम बनाउन सकिने आर्म्स कन्ट्रोल एसोसिएसनको भनाइ छ।
अमेरिकी प्रतिबन्धहरूका कारण इरानको अर्थतन्त्रमा नराम्ररी धक्का लागेको छ। इरानको मुद्राको मूल्य अहिलेसम्मकै सबैभन्दा कममा पुगेको छ र वार्षिक मुद्रास्फिति दर चारगुणा बढेको छ तथा वैदेशिक लगानी पनि अन्यत्रै गएको छ।विविसीबाट