काठमाडौँ । प्रधानमन्त्री बालेन शाह आइतबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन उपस्थित भएका छन् ।
लामो समयदेखि विपक्षी दलले प्रधानमन्त्रीले सदनमा उपस्थित भएर उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने माग उठाएपछि प्रधानमन्त्री एकाएक सदनमा उपस्थित भएका हुन् ।
त्यस क्रममा प्रधानमन्त्री शाहले नेपाल भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका छन् । प्रतिनिधिसभामा सांसदहरूको जवाफ दिने क्रममा उनले यो विषय समाधानका लागि कोसिस भइरहेको बताए । उनले नेपाले पनि भारतको जग्गा मिचेको आफूले पाएको दाबी गरे ।
‘म प्रधानमन्त्री भएपछि थाहा पाएको भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको रहेछ,’ प्रधानमन्त्री शाहले भने, ‘यो विषयमा दुईपक्ष बसेर हेर्नुपर्नेछ ।’
उनले लिपुलेक, लिम्पियाधुरा मिचेको विषयमा नेपालले पठाएको पत्रमा भारत सरकारले जवाफ पनि दिएको उनले जानकारी दिए । ‘भूमि सम्बन्धी टेबल टक गर्ने कुरा भएको छ’ उनले भने,’ यो बारेमा इंग्ल्याण्ड सरकारसँग पनि कुरा गरेका छौं । यसबारेमा टेबल टक गर्नुपर्छ ।’
प्रधानमन्त्री शाहले आफू नेतृत्वको सरकारको ध्यान पैसा बढाउनेतिर रहेको जानकारी गराएका छन् । जवाफ दिने क्रममा उनले देशमा उत्पादन भएका चिज विभिन्न राष्ट्रमा निर्यात गर्न पाउनेगरी लागेको जिकिर गरे ।
‘हामीले निर्यात गर्ने विषयवस्तुहरूमा लाग्ने करहरू अहिले छुट पाइन्छ । हामी निर्यातमुखी हुनुपर्छ,’ उनले भने, ‘देशमा उत्पादन भएका चिज विभिन्न राष्ट्रमा निर्यात गर्न पाउँ भन्ने हिसाबले दुई वर्षका लागि टारेका हौं ।’ अहिले देशमा आत्मविश्वास बढाउने भन्दा पनि देशलाई पैसा चाहिएको उनले बताए ।
त्यस्तै समाजवाद र साम्यवादको भाषण गर्न मजा आए पनि व्यवहारमा कार्यान्वयन गर्न कठिन रहेको उनले बताए । विपक्षी दल नेकपाका सांसद प्रमेश हमालले विकासशील देशका रूपमा स्तरोन्नति गर्नेबारे सरकारको धारणा मागेपछि जवाफमा शाहले यस्तो बताएका हुन् ।
‘हामी निर्यातमुखी उत्पादन बढाउन र पैसा बढाउनेतिर ध्यान गएको छ’, प्रधानमन्त्री शाहले भने, ‘गरिब विपन्नको कुरामा साम्यवाद र समाजवाद भाषण दिन मजा हुन्छ । तर व्यवहारमा कठिन नै हुन्छ ।’
उनले आफू महानगरको मेयर हुँदा विपन्न परिवारकालाई १० प्रतिशत निःशुल्क शिक्षाको व्यवस्था गरेको भन्दै वास्तविक समाजवाद त्यही भएको बताए







