राखेप सदस्य-सचिवमा सिलवाललाई नियुक्त गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद राखेपको सदस्य सचिवमा रमेश सिलवाललाई नियुक्ति गर्ने भएको छ । निवर्तमान सदस्य सचिव केशव विस्टको ४ वर्षको कार्यकाल असार ९ गते सकिएपछि उनको स्थानमा सिलवाललाई नियुक्ति गर्न लागिएको हो ।

मन्त्रिपरिषद्को सोमबारको बैठकमा सदस्य सचिवमा शिलवाललाई नियुक्ति गरिने जनाइएको छ । गोल्डेन गेट कलेजको संचालकसमेत रहेका शिलवाल प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन् ।

प्रधानमन्त्रीकै जोडबलमा उनलाई उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको सदस्यमा नियुक्ति गरिएको थियो । सिलवाल हाल उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का अध्यक्ष समेत रहेका छन् ।

यसैगरी सिलवाल नेकपा निकट मदन भण्डारी स्पोर्ट्स एकेडेमीको अध्यक्षसमेत रहीसकेका छन् । तत्कालीन एमालेको भातृसंगठन प्रजातान्त्रिक युवासंघमा ओली अध्यक्ष रहँदा सिलवालले सचिव भएर काम गरेका थिए ।

शिलवाल धनगढी प्रिमियर लिग डिपीएल टिम काठमाडौँ गोल्डेनसका मालिक समेत हुन् ।

२०७२ साल पुषमा राष्ट्रिय खेलकुद परिषदले नेपाल क्रिकेट संघको तदर्थ समिति गठन गर्दा शिलवाललाई नेतृत्व दिइएको थियो । क्रिकेट संघले त्यस बेला गरेको साधारणसभालाई मान्यता नदिंदै राखेपले तदर्थ समिति बनाएको थियो । राखेपले सन् २०७१ कार्तिकमा विनय राज पाण्डेको नेतृत्वमा तदर्थ समिति बनाउदा समेत शिलवाललाई महासचिव बनाइएको थियो । सर्वोच्च अदालतले भने तदर्थ समितिलाई मान्यता दिएको थिएन । त्यही विवाद पछि २०७३ साल बैशाखमा आइसीसीले नेपाल क्रिकेट संघलाई राजनीतिक हस्तक्षेप भएको भन्दै निलम्बन गरेको थियो ।

सदस्य सचिव बन्ने दौडमा निवर्तमान सदस्य सचिव केशव बिस्ट सँगै दानबहादुर तामाङ, नेपाल तेक्वान्दो युनियनका अध्यक्ष शिव कोइराला र सिलवाल दौडमा थिए । तर, ओलीले सिलवाललाई नियुक्ति गर्ने इच्छा जायर गरेपछि अरुको सम्भावना सकिएको हो ।

Loading...