सम्झनामा डि.आर. पौडेल, विद्यार्थी कार्यकर्ता देखि शिक्षामन्त्रीसम्म !

काठमाडौं । पूर्व शिक्षामन्त्री धनिराम (डी.आर.) पौडेलको असमायिक निधन भएको छ । शुक्रवार विहान करिव ७ बजेको समयमा उनको निधन भएको हो ।

बुबा हरिप्रसाद पौडेल र आमा हिमादेवी पौडेलको कोखबाट २०२२ कार्तिक ४ गते तात्कालीन दरौ गाविस, कुन्चेवारी, स्याङ्जामा जन्मिएका पौडेल २०३७ सालदेखि वामपन्थी विद्यार्थी आन्दोलन हुँदै कम्युनिष्ट पार्टीमा सक्रिय रहेका थिए ।

मोहनबिक्रम सिंह र निर्मल लामाहरुले नेतृत्व गरेको नेकपा (चौथो महाधिवेशन) को विद्यार्थी संगठनको कार्यकर्ता हुँदै राजनीति सुरु गरेका उनले २०३९मा विद्यार्थी संगठनको चितवन जिल्ला सदस्य, २०४१ मा केन्द्रीय सदस्य हुँदै २०५१ मा तात्कालिन नेकपा (एकताकेन्द्र) विभाजन पछि अनेरास्ववियु (क्रान्तिकारी)को केन्द्रीय संयोजक को जिम्मेवारी सम्हालेका थिए ।

२०४२ सालमा नेकपा (चौम) को सदस्यता लिएका उनी २०४४ सालमा पार्टीको चितवन जिल्ला सदस्य चुनिएका थिए ।

२०४७ सालमा माडीको सितलपुरमा भएको एकता महाधिवेशनका प्रतिनिधि समेत रहेका उनी अखिल नेपाल जनवादी युवा लिगका संस्थापक केन्द्रीय सदस्य समेत रहेका थिए ।

२०५१ को पार्टी विभाजन पछि निर्मल लामा र नारायणकाजी श्रेष्ठलाई साथ दिएका उनी त्यस यता लगातार पार्टीको केन्द्रीय समितिमा रहँदै आएका थिए ।


विगतमा लामो समय उनले पार्टीको वैचारिक मुखपत्र जनएकता साप्ताहिकको सम्पादक भई पत्रकारिता समेत गरेका थिए ।


तात्कालिन नेकपा (एकताकेन्द्र मसाल) र तात्कालिन नेकपा (माओवादी)सँग एकीकरण भएपछि बनेको एकीकृत नेकपा (माओवादी)को केन्द्रीय सदस्य भएर र पछि पोलिट्व्युरो सदस्य भएर निरन्तर क्रियाशिल रहेका उनले पार्टी संगठनमा पुर्व, मध्य र पश्चिम नेपालमा काम गरेको अनुभव संगाल्दै दोस्रो संविधानसभामा सभासद र शिक्षामन्त्रीको जिम्मेवारी कुशलतापूर्वक पुरा गरेका थिए ।


त्रिभुवन विश्वविद्यालयबाट स्नातक, शहीद स्मृति क्याम्पस चितवनवाट आईए र माडी माविबाट एसएलसी उत्तीर्ण गरेका पौडेलले माडीका अर्का दिवंगत क्रान्तिकारी नेता दिवाकर भुषाललाई आफ्नो राजनीतिक गुरु ठान्दै सादा र सरल जीवनशैली अपनाउँदै आएका थिए ।

मन्त्री भएर पनि विलाशी जीवनमा नडुबेका नेता पौडेल सार्वजनिक यातायातमा आवत जावत गर्थे भने काठमाडौको सातदोबाटो नजिक कोठा भाडामा लिएर छोरीहरु पढाइरहेका थिए । आफूलाई लिएर पटक पटक सेकेन्ड ह्याण्ड स्कूटर सो रुममा गए पनि उनले एउटा स्कूटर किन्ने सपना समेत अधुरै छोडेर गएको उनका हितैषि मित्र प्रकाश अवाले स्मरण गर्छन् ।

नाम:- डि.आर. पौडेल (धनिराम पौडेल)
बुवा/आमा:-हरिप्रसाद पौडेल/ हिमादेबि पौडेल
जन्म मिति र स्थान: २०२३ कार्तिक, कुन्चवारी- स्याङ्जा
हालको:- स्थाइ बसाइ माडी नपा- ५ चितवन
श्रीमती:- गङ्गा बेलबासे केन्द्रिय सद्स्य नेकपा,
छोरीहरु :-जागृती -२४ वर्ष , आकृती- २२ वर्ष
अध्ययन :- बिएस्सी पास
पत्रकारिता :- विभिन्न पत्रपत्रिका र किताबको सम्पादन, लेख रचना प्रकाशित तथा सम्पादक,जनएकता साप्ताहिक

राजनीति
२०३८:- पाटी सदस्य नेकपा चौथो महाधिबेसन
२०४२:-प्रतिनिधि चौम राष्ट्रिय सम्मेलन
२०४७:-सस्थापक केन्द्रिय सदस्य जनवादी युवा लिग
२०५१:- केन्द्रिय संयोजक अखिल (क्रान्तिकारी)
२०६३:-केन्द्रिय सदस्य नेकपा (एकताकेन्द्र-मसाल), पार्टी एकता पछि पोलिटब्युरो सदस्य नेकपा (माओवादी)
२०७०:-संविधान सभा सदस्य
२०७३:-शिक्षामन्त्री

हाल केन्द्रिय सदस्य नेकपा

Loading...