लघुकथा : योग्यता

निकै अघिको कुरा हो तर बनावटी होइन । भौतिक शास्त्रमा विद्यावारिधी गरेका २ छोरी र १ छोराका धनी एक प्राध्यापकले मलाई भने- सर, म मेरो छोरालाई अन्तरिक्ष वैज्ञानिक बनाउँछु । म चाहन्छु, नासामा गएर मेरो छोराले गहन अनुसन्धान गरोस् र देशको गौरव बढाअोस् ।”

मैले स्वभाविक रुपमा सोधें – छोरीहरुलाई नि ?

उनको जवाफ थियो- उनीहरूलाई जे इच्छा लाग्छ पढ्छन् सर । जतिसुकै समानताको कुरा गरे पनि छोरी भनेको बिहे गरेर गइहाल्छन्, यथार्थमा आफ्नो भनेको छोरो नै हो सर ।

त्यसपछि मैले उनलाई केही भनिनँ किनकि आवश्यक ठानिनँ । बालुवालाई पेलेर तेल आउदैन भनेर मलाई आमाले सिकाउनुभएको थियो ।

तर, मलाई एउटा कुरा बेपत्ता याद आयो । पहाडमा बुट्यानतिर दिशा बसेपछि हामी केटाकेटी ढुङ्गाले गुहु पुछेर मिल्काउँथ्यौं । मलाई उनको प्रमाणपत्रले गुहु पुछेर मिल्काउन कम्ता मन लागेको होइन तर मन लागेर मात्रै पाइदोरहेनछ ।

Loading...