चलनचल्ती अनुसार बिबाहपछि महिला पुरुषको घर जान्छिन । पुरुषको घरमा लोग्ने मात्र हुँदैन । उसका परिवारका अन्य सदस्यहरु पनि हुन्छन । विवाह गरेर आएकी महिलाले उक्त स्थानमा आफुलाई स्वतन्त्र महसुस नगर्न सक्छिन र उनलाई हेपिएको महशुस हुनसक्छ । अब बिबाहपछि पुरुष नै महिलाको आमाबाबुको घरमा गएर बस्दा पनि घरज्वाई भनेर हेपिने र आफ्नो परिवार (आमाबाबु लगायत) को दायित्वबाट बन्चित हुन्छ । बिबाहपछि श्रीमान-श्रीमती दुबै जना नयाँ डेरा वा घरमा बसुन भने पनि त्यो अनुसारको आर्थिक हैसियत नहुन सक्छ । फेरि समाजमा सबैले यस्तै गरेभने सामाजिक/पारिवारिक सम्बन्धमा कस्तो असर पर्ला ?
हाम्रो वरिपरि आजकल यस्तै बहसहरु पनि हुने गर्छन । धेरैजसो महिला अधिकारकर्मीहरु नै यस्तो कुरा गर्ने गरेका छन। केही समय पहिले नेपालकै प्रख्यात महिला वकिल र अधिकारकर्मीले भन्नुभयो- अब नारी बिबाह गरेर पुरुषको घर जाने होइन, पुरुषलाई बिबाह गरेर आफ्नो घर ल्याउने हो । नारी दिवसको दिनमा महिला सांसदहरू सगर्व साथ घोषणा गर्नुहुन्छ- अब खाना पकाउने र भाडा माझ्ने पुरुषको पालो हो । सुन्दा रमाइलो लागे पनि मलाई लाग्छ यस्ता तर्कहरुले न समस्याको चुरो बुझिन्छ, न समाधानका उपायहरु निस्कन्छन। जतिसुकै महिलाको स्वतन्त्रता र अधिकारको कुरा गरे पनि उहाँहरु पुरुषबाट प्राप्त हुने मानो र छानो त्याग्न तयार हुनुहुन्न । आश्रित भइरहन चाहनुभएको छ भने यो सशक्तिकरणको उल्टो यात्रा नै हुन्छ । कम्तीमा पढेलेखेका र आत्मनिर्भर महिलाहरु यसकाे उदाहरण बनुन भन्ने शुभकामना दिन चाहन्छु ।
पुरुषहरूको मासिक कमाई र पुर्ख्यौली सम्पत्ती सबैमा महिलाको हक हुन्छ तर महिलाको कमाई र सम्पत्तीमा चाहिँ एकलौटी हक भइरहनु पनि जायज होइन कि, बहस हुन सक्छ ? यस्तो अवस्थामा श्रीमान-श्रीमती कसरी पार्टनर भए ? त्यहाँ त एउटा संरक्षक हुन्छ, अर्को पालित अनि एउटा शासक हुन्छ, अर्को शासित ! महिला स्वतन्त्र बन्नको निम्ति पुरुषलाई पनि स्वतन्त्र बन्न दिन सक्नुपर्छ, उसलाई पनि समाजले दिएको दायित्व सहितको शासकीय अधिकारप्रति बितृष्णा हुनसक्छ । हामीले कहिलेकाही यो पाटोबाट पनि हेर्ने कि ? परिवार, प्रेम, यौन र सम्पत्ती महिला-पुरुष दुबैको बराबरी चाहना र आवश्यकता हुन। महिला अधिकारकर्मी कमला भासिन अनुसार : हो अहिले पितृसत्ता छ । हामी मध्ये धेरैले त्यसकाे बदलामा मातृसत्ता चाहिरहेका हुनसक्छौ । जुन कुरा गलत हो । महिलाको चाहाना र प्रयास समान सत्तातर्फ हुनुपर्छ।
कहिलेकाही महिला स्वयं आफुलाई सशक्त देखाउन पुरुष झै कार्य गर्ने वा पुरुष जस्तो देखिने प्रयास पनि हुन्छ । तर, यसो गर्नाले महिलाको आफ्नो स्वतन्त्र पहिचानको अस्तित्व धरापमा पर्न जान्छ । जस्तै कुनै महिलाले बिग्रेका पुरुष जस्तै रक्सी, बियर पिएर मात्न सक्छिन वा पुरुषले जस्तै समाजमा डाङ्डुङ पनि गर्न सक्लिन तर यसबाट उनी सशक्त बन्न सक्दिनन । उनको स्वतन्त्र पहिचान समेत धरापमा पर्न जान्छ । महिलाहरु बच्चा पाउने मेसिन जस्तो होइनन तर पनि बच्चा पाउनु उनीहरुको सृष्टिकै अहँ जिम्मेवारी हो । विषय वस्तुहरुको बुझाईमा द्वन्द्वात्मक सम्बन्ध हुनेगर्दछ, कुनै पनि बिषयलाई एकोहोरो मुल्याङ्कन गर्नु गलत हुन जान्छ । त्यसकारण स्वतन्त्र पहिचान समेतको समान सत्ता नै आजका महिलाको आवश्यकता र अधिकार हुन्छ कि ? त्यसकारण महिला-पुरुष दुबैको बराबरी आत्मसम्मान र अधिकारको निम्ति यी तत्वहरु अपरिहार्य छन:-
– अन्धबिश्वास, कुरीति विरुद्ध अभियानमा
– बलात्कार लगायतका यौन हिंसाप्रति शुन्य सहनसिलता ।
– नेपाल जस्तो देशमा महिला स्वास्थ्य/सीप/शिक्षा र रोजगारीमा बिशेष जोड ।
– दुबै आत्मनिर्भर अनि आर्थिक/व्यवहारिक काममा साझेदारी ।
– प्रत्येक नागरिक र विशेष रुपमा जेष्ठ नागरिकहरुको सम्पूर्ण सामाजिक सुरक्षाको ग्यारेन्टी सहितको जिम्मेवार राज्य ।
यो सबैका निम्ति पूर्ण समाजवादी व्यवस्था चाहिन्छ। पुँजीवादी व्यवस्थाले महिलालाई एउटा वस्तु वा उपयोगी सामान बनाउँछ भन्ने चेत अहिलेका शिक्षित महिलामा आउनु पर्छ । ब्युटी कन्टेस्ट, सुन्दरी प्रतियोगिता र विभिन्न वस्तुको विज्ञापनमा महिला सशक्तिकरण देख्ने सोच र व्यवहार चाहिँ सर्वप्रथम महिलाहरुले नै त्याग्नुपर्छ । आजका दिनमा पढेलेखेका महिलाहरुको बिचमा पनि यो बहस लैजान बहुत गाह्रो परिरहेको छ भने अर्कोतिर शहरिया सभ्रान्त वर्ग मात्र होइन, मध्यम वर्गीय महिलाहरु समेतलाई फेसन, गहना र भोज भतेरको अति चाहनाले दिन प्रतिदिन आधुनिक दासी बनाइरहेको छ। यो विषयवस्तुलाई आफ्नो समूहको हितमा अनुसन्धानात्मक चिरफार गर्न सक्नुभएन भने पढेलेखेका शिक्षित महिलाहरु हो तपाईहरु पुरुष बिरोधी त मज्जाले बन्न सक्नुहुन्छ तर सकारात्मक परिवर्तनको सम्वाहक चाहिँ असम्भव नै छ ।