शुल्कवृद्धि विरुद्ध क्रान्तिकारीले शैक्षिक हडताल गर्ने

नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीले शिक्षण संस्थाले सहमति विपरित चर्को र मनमरी रुपमा गरिएको शुल्कबृद्धिका विरुद्ध शैक्षिक हड्ताल गर्ने जनाएको छ ।
क्रान्तिकारीले प्याब्सनले सर्वोच्च अदालतको आदेश विपरित शुल्कबृद्धि गरेको र छात्रवृत्ति कोटामा अध्ययन गरिरहेका विद्यार्थीबाटसमेत शुल्क असुल गरिएको भन्दै आन्दोलनको घोषणा गरेको हो । 
 
अनामगरस्थित संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै अखिल क्रान्तिकारीले शुल्कबृद्धि विरुद्ध नयाँ संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । ‘विशुद्ध मुनाफाको दृष्टिकोणबाट प्रेरित भई गरिएको शुल्कबृद्धि र सर्वोच्च अदालतको आदेश विपरित प्याब्सनले गरेको शुल्कबृद्धि गरेकाले आन्दोलन गर्नुपरेको हो’, अखिल क्रान्तिकारीका अध्यक्ष शरद रसाइलीले भने । रसाइलीले शिक्षण संस्थाले अवैज्ञानिक र अस्वभाविक ढङ्गले प्रत्येक वर्ष गरिने शुल्कबृद्धिले विद्यार्थी तथा अभिभावकमाथि चर्को तनाव थोपरेको बताए । 
 
क्रान्तिकारीले सीटीईभीटी अन्तरगतका नर्सिङ लगायतका सबै कार्यक्रमहरुमा भएको चर्को शृल्कबृद्धि फिर्ता गरी शुल्कको वैज्ञानिक मापदण्ड तोकिनुपर्ने जनाएको छ । रसाइलीले जेठमा भएको शुल्क समायोजनको सहमति कार्यान्वयन हुनुपर्ने, उच्च मावि अध्ययनको लागि छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरुबाट लिइएको शुल्क विना शर्त फिर्ता गर्नुपर्ने बताए । 
पत्रकार सम्मेलनमा मागपत्रहरु वितरण गरेको थियो । मागपत्रमा पोखरा, पूर्वाञ्चल, त्रिभुवन विश्वविद्यालय अन्तरगतका इन्जिनियरिङ कलेजहरुले गरेको शुल्कबृद्धि खारेज गरिनुपर्ने, त्रिभुवन र काठमाडौं विश्वविद्यालयको एमविविएस तहमा तोकिएको न्यूनतम शुल्क कार्यान्वयन गरिनुपर्ने उल्लेख गरिएको छ । 
 
क्रान्तिकारीले घोषणा गरेको शैक्षिक हड्ताल अनुसार भदौ २२ गते सबै शैक्षिक निकायहरुमा चेतावनी पत्र बुझाउने जनाएको छ । त्यसैगरी भदौ २४ गते देशै भरका जिल्ला शिक्षा कार्यालय र डिन कार्यालयमा धर्ना दिने, २७ गते शुल्क समायोजनको सहमति पत्र समावेश गरी अभिभावकहरुलाई पत्रचार गर्ने, २९ गते सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गर्ने जनाएको छ । त्यस्तै भदौ ३१ गतेदेखि असोज २ गतेसम्म शिक्षण संस्थाहरुको लेखा शाखा र प्रशासनमा तालाबन्दी गर्ने जनाइएको छ ।

त्यसैगरी असोज ३ र ५ गते देशव्यापी नीजि शिक्षण संस्थाहरु हडताल गर्ने क्रान्तिकारीले जनाएको छ ।  

Loading...