रास्वपा केन्द्रीय समितिको बैठक बस्दै, नेतृत्वबारे निर्णय हुनसक्ने संकेत

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको भावी नेतृत्वबारे गम्भीर छलफल गर्न केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बोलाएको छ।

पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे गहिरो बहस हुने बताइएको छ। कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार सर्वोच्च अदालतले पार्टी सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश सदर गरेपछि पार्टीको नीति, कार्यक्रम र नेतृत्वबारे पुनरावलोकन आवश्यक भएको निष्कर्षमा पार्टी पुगेको छ।

स्रोतहरूका अनुसार, बैठकमा अन्तरिम नेतृत्व चयनदेखि लिएर पार्टीको आगामी राजनीतिक रणनीतिसम्मका विषयहरू छलफलमा आउनेछन्।

केही नेताहरूले नेतृत्वको बागडोर नयाँ शिराबाट अघि बढाउनुपर्ने आवाज उठाइरहेका छन् भने अर्कातर्फ केही नेताहरू लामिछानेको अनुपस्थितिमा पनि पुरानै नेतृत्व संरचना कायम राख्नुपर्ने पक्षमा छन्।

सभापति लामिछानेकै वरिपरि घुमेको रास्वपा र उनीबाहेकबाट रास्वपा समर्थक सन्तुष्ट हुन नसक्ने अवस्थाबीच आजको बैठक पार्टीको भविष्य निर्धारण गर्नेमा केन्द्रीत हुने बुझिएको छ ।

अब पार्टीले सुदृढ संगठन बनाउने दिशामा अघि बढ्ने कि नेतृत्व संकटमा अझै अल्झिने — यसको संकेत आजको बैठकले दिने एक नेताले जानकारी दिए ।