भक्तपुर । बंगालको खाडी हुँदै दक्षिण एशियामा सक्रिय बन्दै गएको मनसुन प्रणाली अब नेपाल नजिकिँदै छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, बंगालको खाडीको उत्तर–पश्चिम र दक्षिण–पश्चिम क्षेत्रमा मनसुन प्रवेश गरिसकेको छ भने भारतको केरला राज्य, माल्दिभ्स, श्रीलङ्का लगायतका क्षेत्रहरूमा समेत मनसुन प्रभाव देखिन थालेको छ।
यही प्रणाली विस्तार हुँदै क्रमशः उत्तरतर्फ सर्ने क्रममा रहेकोले नेपालमा पनि आगामी साता मनसुन प्रवेश गर्ने सम्भावना प्रबल देखिएको छ।
सामान्यतः नेपालमा मनसुन जुन महिनाको दोस्रो सातातिर सक्रिय हुने गर्दछ, तर जलवायु परिवर्तन र मौसम प्रणालीमा भइरहेका उतारचढावले यसको समय र प्रभावमा हेरफेर गरिरहेको विज्ञहरूले बताएका छन्।
मनसुनसँगै देशभर बाढी, पहिरो, र अविरल वर्षाका सम्भावनालाई मध्यनजर गर्दै मौसम महाशाखाले नागरिकहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी पहाडी तथा हिमाली भूभागमा पहिरोको जोखिम बढ्ने भएकाले जोखिमयुक्त स्थानमा सचेत रहन तथा आपतकालीन पूर्वतयारी गर्न सुझाव दिइएको छ।
सरकारी संयन्त्र तथा स्थानीय तहलाई पनि मनसुन सुरक्षाका उपायहरू अवलम्बन गर्न महाशाखाले अनुरोध गरेको छ।
देशका अधिकांश क्षेत्रहरूमा चाँडै पानी पर्ने, आकस्मिक वर्षा हुने, र खोला–नाला बढ्ने सम्भावना रहेकाले नागरिकहरूलाई सूचना प्रणालीप्रति सजग रहन समेत भनिएको छ।
यस वर्षको मनसुन कस्तो रहनेछ भन्ने अझै प्रष्ट नदेखिए पनि, प्रारम्भिक संकेतले मौसम व्यवस्थापन र तयारीमा गम्भीर ध्यान दिनुपर्ने देखिएको छ।