पहिरोले पुरिएको सिन्धुपाल्चोक मांखा माविको भवन बनाउन एनआरएनले ६५ लाख दिने

सिन्धुपाल्चोक । मांखा जुरे पहिरोमा परी पुरिएको सिन्धुपाल्चोकको वनसाँघु माध्यमिक विद्यालय मांखाको भवन निर्माणका लागि गैरआवासीय नेपाली संघ (एनआरएन) र हेल्प नेपाल नेटवर्कले ६५ लाख सहयोग प्रदान गर्ने घोषणा गरेका छन् । 
पुरिएको विद्यालयकै प्रांगणमा एक कार्यक्रमको आयोजना गरी दुई संस्थाका प्रतिनिधिले सो घोषणा गरेका हुन् । कार्यक्रममा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो,  एनआरएनका महासचिव कुमार पन्त, हेल्प नेपाल नेटवर्कका अध्यक्ष अरुणसिंह बस्नेत र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम श्रेष्ठका बीच सहयोग पत्रमा हस्ताक्षर समेत भएको छ । जसमध्ये एनआरएनले ५० लाख प्रदान गर्ने प्रतिवद्धता जनाएको छ भने हेल्प नेपाल नेटवर्कले १५ लाख दिने घोषणा गरेको छ । 
गत साउन १७ मा गएको पहिरोले माङ्खा १ ड्यामसाइटस्थित विद्यालयका तीन वटा भवन पुरिएका थिए । विद्यालयका भवन पहिरोले नष्ट गरेपछि अहिले भाडामा लिएको खेतमा विद्यार्थीलाई पढाउने गरिएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा भाडाका खेतमा छाप्रो बनाइएको छ । स्मरणीय छ पहिरामा परीे सोही विद्यालयमा अध्ययन गर्ने  ३१ जना बालबालिकाको मृत्यु भएको थियो । तीमध्ये अधिकांशको शव अझै फेला परेको छैन । 
पहिरो अवलोकन गरेर फर्केपछि आयोजित कार्यक्रममा बोल्दै एनआरएनका संस्थापक अध्यक्ष डा. उपन्द्र महतोले कठिन परिस्थितिका बीचबाट नयाँ नयाँ सिर्जना जन्मने गरेको बताए । सो क्रममा उनले  दोस्रो विश्वयुद्धमा हरेक परिवारका कुनै न कुनै सदस्य गुमाएको सोभियत संघको उदाहरण पनि दिएका थिए । साथै उनले मुलुक समृद्ध नभएसम्म सरकारले पनि केही गर्न नसक्ने बताए । 

त्यस्तै एनआरएनका पूर्वअध्यक्ष जीवा लामिछानेले नेपालीले विदेशमा ५० डिग्री तापक्रममा पसिना बगाएको रकम सहयोगस्वरूप दिन लागेको जानकारी गराएका थिए । संघका प्रमुख संरक्षक राम थापाले विद्यालयलाई पुस्तकालय स्थापना र छात्रवृत्तिका लागि थप सहयोग गर्ने बताए ।  

Loading...