राष्ट्रपति कार्यालयमा शिक्षा दिवसका अवसरमा विशेष समारोह

शिक्षा दिवसका अवसरमा विभिन्न तहमा सर्वोत्कृष्ट अंक ल्याउने २ सय ९७ विद्यार्थीलाई पुरस्कृत गरिएको छ । राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर २९७ विद्यार्थीसहित विभिन्न विद्यालयहरुलाई पनि पुरस्कृत गरिएको छ । 

‘सक्षम शिक्षक स्तरीय शिक्षा, समृद्धिका लागि साक्षरता र प्रविधि युक्त शिक्षा’ भन्ने नाराका साथ यस वर्षको शिक्षा दिवस मनाईको छ । यो ३५ औं राष्ट्रिय शिक्षा दिवस हो । शिक्षा दिवसको अवसरमार शिक्षा मन्त्रालयले राष्ट्रपति भवन शितल निवासमा एक विशेष समारोहको आयोजना गरेको थियो । सोही समारोहमा राष्ट्रपति रामवरण यादवले परस्कार वितरण गरेका हुन् । पुरस्कार पाउनेहरुमा मुलुकभित्र र बाहिरका विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि तथा विभिन्न तहमा सर्वात्कृष्ट अङ्क ल्याउने छात्र छात्रा रहेका छन् । उनीहरुलाई नेपाल विद्याभूषण पदक र नेपाल छात्रा विद्यापदक तथा प्रमाणपत्र प्रदान गरिएको छ । समारोहमा विद्यावारिधिको उपाधि पाउने १ सय ७५ जना  छात्र छात्रालाई   ‘क’ श्रेणीको नेपाल विद्याभूषण पदक र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै स्नातकोत्तर तहअन्तर्गत विभिन्न सङ्कायको परीक्षामा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने ६२ जना छात्र छात्रालाई   ‘ख’ श्रेणीको नेपाल विद्याभूषण पदक प्रदान गरिएको छ ।

त्यसैगरी स्नातक तहको वार्षिक परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने २० जना छात्र छात्रालाई राष्ट्रपति यादवले ‘ग’ श्रेणीको नेपाल भूषण पदक तथा प्रमाणपत्र प्रदान गरेका छन् । त्यस्तै स्नातक तहका विभिन्न सङ्काय अन्तर्गतका धेरै अँक ल्याउने २६ जना छात्राले नेपाल छात्रा विद्या पदक पाएका छन् । सोही अवसरमा प्रमाणपत्र तहमा विशिष्ट अङ्क ल्याउने १४ जना छात्राले नेपाल छात्रा विद्यापदक प्राप्त गरे । 

राष्ट्रपति कार्यालयमा आयोजना गरिएको विशेष समारोहमा उपराष्ट्रपति परमानन्द झा, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमानसिंह, शिक्षा मन्त्री चित्रलेखा यादव तथा नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका पदाधिकारीहरूको सहभागिता रहेको  थियो ।

Loading...