ठेकेदार बेपत्ता, सडक अलपत्र

भारत सरकारको सहयोगमा अत्याधुनिक ग्राभेल सडक बनाउने ठेक्काको सम्झौता भएपनि कामै नगरी ठेकेदार बेपत्ता हँुदा महोत्तरीका तीन वटा प्रमुख सडक निर्माण हुन सकेन् । 

सन् २०११ मा ३० महिनाभित्र बनाइसक्ने भनि ठेक्का लगाइएका भारतको हैदराबादस्थित भिस्वा विभिएसआर जेभि कम्पनीले सडक नबनाइकनै भागेपछि महोत्तरीको भिट्ठामोड–जनकपुर, जलेश्वरदेखि हर्दि, र सम्सीदेखि माईस्थानसम्मको सडकखण्ड बन्न नसकेको हो । 

ठेकेदार कम्पनीले नेपाल सरकारले जग्गा अधिग्रहण, मुआब्जा वितरण, पोल सार्ने कार्य र रुख कटानसम्बन्धी समस्या समाधान नगरिदिएको झुठो आरोप लगाउँदै बेपत्ता भएको हो ।

यता लामो समयसम्म भारतीय ठेकेदारको भर पर्दा ती सडकहरू दिनप्रतिदिन जीर्ण बन्दै गएको, ती सडकमा चल्ने सवारीसाधन र यात्रुलाई हैरानी निकै बढेपछि नेपाल सरकारले बाध्य भएर अहिले मर्मत सम्भारमा बजेट छुट्याएको छ । 

जिल्लाका तीनवटै प्रमुख सडक ग्राभेल गर्ने ठेक्का पाएका भारतीय कम्पनीले गत कात्तिकमै काम नगरी ३० महिने ठेक्का सम्झौता अवधि गुजारेर ठेकेदार बेपत्ता छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जलेश्वर भिट्ठामोड सडकको १८ किलोमिटर सडक मर्मतका लागि रु ४२ लाख ३७ हजार १६५ रूपैयाँ बजेट छुट्याइएको छ । त्यस्तै सदरमुकाम जलेश्वर हर्दि सडकलाई रु ३३ लाख ८९ हजार ४ सय ४३ रूपैयाँ माईस्थान गौशाला सम्सी सडकलाई रु ५० लाख ८४ हजार ३१४ बजेट विनियोजन गरेको छ । 

भारतीय कम्पनीले लिएको ३० महिनाको अवधिमा जलेश्वर– भिट्ठामोड सडक खण्डमा पाँच प्रतिशत काम भए पनि अन्य सडकमा कुनैपनि काम भएको छैन । जिल्लावासीले ती सडक नबन्दा धेरै दुःख भोग्नुपरेको भन्दै राजनीतिक दल, स्थानीय प्रशासनसँग बारम्बार गुनासो गर्दै आएका थिए । 

जिल्लाका तीनवटै सडक तत्काल मर्मत नगरे आउँदो वर्षातमा तीनवटै सडक बन्द हुने अवस्था देखिएपछि सरकारले चैत तेस्रो साता बजेट निकासा गरेको हो । हुलाकी सडक आयोजना प्रमुख किशोरी रायले सडक बन्ने अन्योल देखिएको र तत्काल मर्मत गर्नु पर्ने आवश्यकता रहेकाले बजेट छुट्याइएको बताए ।

Loading...