काठमाडौ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गरेका छन् ।
उनले नेपालको संविधानको धारा ११९ बमोजिम आव २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान पेस गर्ने कार्यसूची रहे अनुरुप बजेट सार्वजनिक गरेका हुन् ।
बजेट १९ खर्ब बढीको बनेको छ । सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको हो।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद्मा बजेट प्रस्तुत गर्दै आर्थिक पुनःउत्थान र समुचित विकासका लागि स्रोतको सन्तुलित वितरणमार्फत बजेट ल्याइएको जानकारी गराएका छन् ।
बजेट चालु खर्च: ११ खर्ब ८० अर्ब रुपैयाँ, पूँजीगत खर्च: ४ खर्ब ७ अर्ब रुपैयाँ, वित्तीय व्यवस्थापन (ऋण भुक्तानी लगायत): ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ अनुमान गरिएको छ ।
स्रोत व्यवस्थापनमा सरकारले १३ खर्ब १५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ।
बाँकी बजेट घाटा घरेलु तथा बाह्य ऋण, साथै वैदेशिक अनुदानबाट व्यहोर्ने योजना उल्लेख छ।
बजेटका प्राथमिकता क्षेत्रहरूमा पूर्वाधार विकास, सामाजिक सुरक्षा, ऊर्जा र कृषि क्षेत्रको सुदृढीकरण, वित्तीय क्षेत्र सुधार, राजस्व अनुशासन र सेवा प्रवाह सुधार लगायतमा जोड दिएको छ ।
बजेटले आर्थिक समृद्धिका लागि नीतिगत स्पष्टता, खर्चमा अनुशासन र विकास प्रभावकारितामा जोड दिएको उल्लेख गरिएको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिले सदनमा बजेट प्रस्तुत गरिरहेका छन् । हेर्नुस् बजेट बक्तब्य ।