परिषदमा हिस्टानको तालावन्दी

भक्तपुर । सामुदायिक उच्च माध्यमिक विद्यालयमा दरवन्दीको व्यवस्था गर्नुपर्ने लगायतका माग राखी आन्दोलनमा उत्रिएको उमाविका शिक्षकहरुको संगठन हिस्टानले उच्च माध्यमिक शिक्षा परिषदको परीक्षा शाखामा तालावन्दी गरेको छ । ११ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएको हिस्टानले सरोकारवालाहरुले यसबाट पनि आफ्ना मागको सुनुवाई नभएमा कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । हिस्टानका महासचिव पुष्प न्यौपानेले सरकार र परिषद नेतृत्वले आफ्ना मागप्रति संवेदनशील नभएको भन्दै आक्रोश व्यक्त गरेका छन् । 

यसअघि हिस्टानले आफ्ना मागहरु सहितको ज्ञापनपत्र प्रधानमन्त्री, शिक्षामन्त्री, अर्थमन्त्री, शिक्षा विभाग र उच्च माध्यमिक शिक्षा परिषदमा बुझाइसकेको छ । देशव्यापी रुपमा आन्दोलनमा उत्रिएका उमावि शिक्षकहरुले अब कक्षा ११ र १२ को वार्षिक परीक्षाको भद्र अवाज्ञा गर्ने तथा उत्तरपुस्तिका परीक्षण कार्य पुर्ण रुपमा बन्द गर्ने जस्ता कार्यक्रम समेत गर्ने बताएका छन् । 

उमावि तहमा कार्यरत शिक्षकमाथि विभेदकारी नीति तथा व्यवहार अन्त्य गरिएको हिस्टानको भनाई छ । साथै हिस्टानले उमावि तहमा राज्यले पुर्ण रुपमा लगानी गर्नुपर्ने माग पनि गरेको छ । हिस्टानले अगाडि सारेका मागहरुमा प्रत्येक सामुदायिक उमाविमा विषयगत रुपमा कम्तिमा पँँच वटा दरबन्दी उपलब्ध गराउनुपर्ने, निजी तथा संस्थागत उमाविहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको सेवा, सर्त सुविधा एवम् वृत्ति विकासका लागि स्पष्ट रुपमा एक निर्देशिका जारी गरी सोहीअनुसार कार्यान्वयन गरिनुपर्ने, सामुदायिक क्याम्पसका +२ तहमा कार्यरत शिक्षकहरुलाई विश्वविद्यालयले उपलब्ध गराएको सुविधासरहको सुविधा उपलब्ध गराइनुपर्ने लगायतका छन् । 

त्यस्तै हिस्टानले उमावि तहका शिक्षक तथा कर्मचारी दरबन्दी र त्यसको स्थायित्वका लागि मौजुदा ऐन तथा   नियमहरुमा आवश्यक संशोधन गरिनुपर्ने माग पनि राखेको छ । देशभरका  सबै उमाविहरुलाई प्रक्रिया पुर्याई अविलम्ब स्थायी सम्बन्धन दिइनुपर्ने, उमावि तहमा कार्यरत शिक्षकहरुलाई स्थायी गर्ने सन्दर्भमा कम्तीमा एक शैक्षिक सत्र पूरा गरेका शिक्षकहरुलाई आवश्यक प्रक्रिया पुर्याई स्थायी गरिनुपर्ने, उमावि शिक्षालाई सर्वसुलभ, गुणस्तरीय, व्यावसायिक तथा सिपमूलक बनाइनुपर्ने, दुर्गम जिल्लाहरुमा कार्यरत उमावि शिक्षकहरुका लागि दुर्गम भत्ताको व्यवस्था गरिनुपर्ने माग पनि हिस्टानले अगाडि सारेको छ । 

त्यसैगरी हिस्टानले उच्च माध्यमिक शिक्षा परिषदको नेतृत्व असक्षम रहेको आरोप लगाउँदै तत्काल बर्खास्त गर्नुपर्ने राजनीतिक माग पनि अगाडि सारेको छ । त्यसैगरी उमाशिपमा संस्थागत, योजनाबद्ध र नीतिगत भ्रष्टाचार एवम् ठगी भइरहेको भन्दै त्यसको अविलम्व छानविन गर्नुपर्ने माग पनि गरिएको छ ।

उच्च माध्यमिक तहका आम शिक्षकहरुले यसरी चरणवद्ध आन्दोलन गरिरहँदा पनि सरोकारवालाहरुले कुनै सुनुवाई नगरिएका कारण उनीहरु झन्झन् आक्रोशित बन्दै गएका छन् । विद्यार्थीको परीक्षा जस्तो कार्यमा समेत उमाशिपको नेतृत्व संवेदनशील नभएको उनीहरुले बताएका छन् ।

Loading...