नेपालमा विद्यालय तहको अन्तिममा दिइने परीक्षालाई विद्यार्थीको सबैभन्दा ठूलो परीक्षाका रुपमा लिइन्छ । यसवर्षबाट एसईई भएको र यसअघिसम्म एसएलसी भनिएको परीक्षा विश्वविद्यालयमा विद्यार्थीले दिने परीक्षाभन्दा निकै बढी चासो, चर्चा र महत्वको मानिन्छ । निकै धेरै परीक्षार्थी सहभागी हुने र शैक्षिक योग्यताको पहिलो महत्वपूर्ण खुड्किलोका रुपमा रहेको यो परीक्षाले करिब एक सय चालीस वर्षदेखि नेपालमा अनेकौ चर्चा परिचर्चा बटुल्दै आएको थियो । यति धेरै चर्चा र महत्व पाएको आइरन गेट यसवर्ष भने भत्किएको छ ।
कक्षा १० लाई विद्यालय तहको अन्तिम कक्षा मानेर त्यो तह पास गर्दा स्कूल लिभिङ सर्टिफिकेट दिने यो परम्परा बि.सं. १९३६ सालमै सुरु भएको हो । तर, त्यतिबेला नेपालमै विद्यालय तहको अन्तिम परीक्षा दिन पाउने व्यवस्था थिएन । त्यतिबेला सेन्टअप परीक्षा दिएर एसएलसी परीक्षा दिने भारत जानुपर्दथ्यो । पछि १९८५ मा आएर नेपालमै एसएलसी परीक्षा दिने व्यवस्था गरिएको हो । त्यसयता निरन्तर आजसम्म एसएलसी झनपछि झन् बलियो र चर्चाको शिखरमै रह्यो । एसएलसी परीक्षाको ‘चार्मिङ’ उत्कर्षमा रहेका बेला यसले आइरन गेटको उपाधी समेत पायो । जुन आइरन गेट पार गर्न वर्षभरि तयारी गरेर प्रत्येक वर्ष लाखौ विद्यार्थी आइपुग्ने तर सधै गेटमा आइपुगेर करिव आधा विद्यार्थी सधै गेटबाटै फर्किदै आएका छन् । आइरन गेट पार गर्नेहरुले जीवनमा एउटा ठूलो सफलता हात पारेको गर्व गर्ने र असफल हुनेहरुले यसलाई ठूलो हिनतावोध गर्ने परिस्थिति बन्यो । आइरन गेट उत्कृष्ट ढंगले पार गर्नेहरुले त्यसको ब्याज जीवनकालभरि खाने पनि गरे र गरिरहेका छन् । प्रत्येक वर्ष कैयौ विद्यार्थी त एसएलसी परीक्षाको परिणाम आएकै दिन मृत्युपथमा लम्किने पनि गरे । दसौपटक यो गेटमा आउने र गेट पार गर्न नसकी फर्कनेहरुको संख्या पनि ठूलो छ । श्रम बजारमा कुनै रोजगारी पाउनका लागि कम्तिमा आइरन गेट पार गरेको हुनुपर्ने व्यवस्था अधिकांश ठाउँमा गरिएका कारण पनि यसले निकै ठूलो भाउ पायो । तर, करिब डेढ शताब्दीसम्म विद्यार्थीलाई रुवाउनु रुवाएको यो ‘आइरन गेट’ अहिले आएर भत्किएको छ । आइरन गेटसँगै यससँग जोडिएका थुप्रै धन्धाहरु पनि भत्किएका छन् ।
आइरन गेटले पारेका असरहरुबारे नेपालमा यो रहेसम्म धेरै बहस पनि भए । अहिले पनि ती बहस कायमै छन् । भत्काइएको आइरन गेट भेट्न अब विद्यार्थीले थप दुई वर्ष बढी हिड्नु पर्ने भएको छ । तर, दुई वर्ष हिडेर पुगिने गरी सारेर बनाइएको आइरन गेटको महत्व डेढ शताब्दीसम्म टिकेको आइरन गेटजस्तै हुन्छ भन्ने छैन । आइरन गेट भत्काइएसँगै नेपालमा विद्यालय संरचनाका बारेमा बहस पनि तीब्र बनेको छ ।
शिक्षाका संरचना बेलाबेलामा फेरबदल गर्ने काम स्वार्थका कारण हुने गरेको चर्चा बेला बेलामा उठ्ने गर्छ । के ती चर्चा परिचर्चामा केही सत्यता छ ? यो प्रश्नको प्रष्ट जवाफ कतैबाट आइसकेको छैन । तर, हावा नचली पात हल्लिदैन भन्ने चर्चित नेपाली उखान यससन्दर्भमा पनि कही न कहि लागु हुन्छ नै ।
बहस शिक्षा प्रणालीलाई कसरी राम्रो बनाउने भन्नेमा छैन । देशको आवश्यकतालाई मध्यनजर गरेर योजनाबद्ध रुपमा जनशक्ति उत्पादन गर्नेतिर पनि बहस छैन । उत्पादित जनशक्तिले त्यो आवश्यकता धानेको वा नधानेको कुरातिर पनि मतलव छैन । हामीले विकास गरेका संरचना विगतमा कति सही थिए भन्ने गहिरो समीक्षा पनि गरिएको देखिदैन । यहाँ चिन्ता, चासो र बहस त खाली डोनेशन ल्याएर परियोजना चलाउनेमा मात्र केन्द्रित देखिन्छ । एडिबीसहित अन्तराष्ट्रिय दाता संघसंस्थाहरुका परियोजना चलाइदिने भूमिकामा मन्त्रालयका अधिकारीहरु र विज्ञहरु लागेको देखिन्छ । उनीहरुले नै दिएका विभिन्न एजेन्डाहरुमा देशको आवश्यकता र प्राथमिकताहरु पछाडि पारिएको छ । जसले गर्दा हाम्रो चेतना यति परनिर्भर भएको छ कि आज सामान्य साबुनले हात धुने, आँगन बढार्ने र शौचालय बनाउने शिक्षा र त्यसको कार्ययोजना पनि तिनै दाताहरुले बनाइदिन्छन् । हाम्रा अधिकारीहरु त्यही परियोजनाका पछि दौडिन तछाडमछाड गर्छन ।
मन्त्रालयदेखि विभाग र अन्य सबै शैक्षिक संरचनामा रहेका प्राधिकारप्रदत्तहरु दाताले भन्यो भने जे पनि गर्न तयार देखिन्छन् । आँखा चिम्लेर दाताका कुरा स्वीकार गर्ने प्रवृति अभ्यासमा छ । विद्यालयका संरचनाहरु भत्काउने र बनाउनेदेखि विभिन्न तहमा दिइने शिक्षाका ’कन्टेन्ट’ दाताकै भर पर्ने प्रवृति छ । दाताको दवावमा देशको नियम, कानुन समेत रातारात बदलिन्छन् । रातारात शैक्षिक संरचनामा फेरबदल आउँछ । स्वतन्त्र राष्ट्रको स्वाभीमानी नागरिक भएर देश बनाउने दायित्व र जिम्मेवारीबोध गर्ने चेतना निर्माण गर्नु आजको चुनौती छ ।