सातै प्रदेशमा एष्ट्रोनोमिकल ओलम्पियाड प्रतियोगिता

काठमाडौँ, १२ माघ । खगोल विज्ञानमा रुचि राख्ने माध्यमिक तहमा अध्ययनरत विद्यार्थीको प्रतिभा पहिचानका लागि आयोजना गरिएको छैटौँ राष्ट्रिय एष्ट्रोनोमिकल ओलम्पियाड प्रतियोगिता सातवटै प्रदेशमा सम्पन्न भएको छ ।

नेपाल एष्ट्रोनोमिकल सोसाइटीले आयोजना गरेको प्रतियोगितामा १११ जना विद्यार्थीले भाग लिएका थिए । कक्षा ९ र १० एवं कक्षा ११ र १२ मा अध्ययनरत गरी दुई चरणम सातै प्रदेशमा प्रतियोगिता सम्पन्न गरिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिए ।

कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीबाट छानिएका पाँच विद्यार्थीले हँगेरीमा आगामी अगष्ट महीनामा आयोजना हुने अन्तर्राष्ट्रिय एष्ट्रोनोमिकल ओलम्पियाडमा भाग लिन पाउनेछन् । अर्को अन्तर्राष्ट्रिय एष्ट्रोनोमिकल ओलम्पियाडमा दुई जना विद्यार्थीले भाग लिन पाउने जनाइएको छ । चार जना विद्यार्थीले भने एशिया प्यासिफिक एष्ट्रोनोमिकल ओलम्पियाडमा भाग लिन पाउँछन् । यी दुवै प्रतियोगिताको मिति र स्थान निश्चित भएको छैन ।

कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीबाट छानिने तीन जनाले रोमानियामा आयोजना हुने अन्तर्राष्ट्रिय एष्ट्रोनोमिकल ओलम्पियाडमा र चार जनाले एशिया प्यासिफिक ओलम्पियाडमा भाग लिन पाउने अध्यक्ष भट्टराईले बताए । पहिलो चरणको परीक्षामा छानिएका विद्यार्थीको प्रस्तुति हेरेर दोस्रो चरणमा सहभागी गराइने जनाइएको छ ।

सहभागी विद्यार्थीलाई खगोल र भौतिक विज्ञानसँग सम्बन्धित प्रश्न सोधिएको थियो । दोस्रो चरणको परीक्षामा दुवै विज्ञानसँग सम्बन्धित प्रश्नका साथै विज्ञानसँग सम्बन्धित प्रस्तुतिसमेत हेरिनेछ । अन्तर्राष्ट्रिय प्रतियोगितामा छानिएका विद्यार्थीले विश्वमा नाम चलेका विश्वविद्यालयमा खगोल एवं भौतिक विज्ञान पढ्ने अवसर पाउने जनाइएको छ ।

प्रतियोगितामा प्रदेश नं १ बाट ३३, प्रदेश नं २ बाट २०, प्रदेश नं ३ बाट ६०, कण्डकी प्रदेशबाट छ, प्रदेश नं ५ बाट छ, कर्णाली प्रदेशबाट एक र सुदूरपश्चिम प्रदेशबाट तीन विद्यार्थी सहभागी भएको सोसाइटीले जनाएको छ ।

Loading...