काठमाडौं । सरकारको शेयर घटेको विषयलाई विवादमा तानिएका कारण काठमाडौंको बौद्धमा रहेको होटल हायातलाई देशको पर्यटन विकासमा योगदान पुर्याउन घोषणा गरेका ठूला प्रोजेक्टहरु अगाडि बढाउन बाधा पुगेको जनाएको छ । सरकार, निजी क्षेत्र र सर्वसाधारणको करोडौको शेयर रहेको मुलुककै व्यवस्थित र नमूना मानिएको होटेल हायातमा जवरजस्त विवाद तान्न खोजिएपछि निजी क्षेत्रका केही अगुवाहरु झस्किएका छन् । उनीहरु यो विवाद प्रायोजित रहेको अनुमान गर्न थालेका छन ।
२०५७ सालबाट सञ्चालन आएर सुरुका ६ वर्षसम्म घाटामा गएकाले बन्द गर्ने अवस्थामा पुगेको होटेल हायात पछिल्लो समय देशकै सबैभन्दा बढी पर्यटक भित्र्याएर र बढी कर तिरेर सरकारबाटै पुरस्कृत भइरहेको छ । नेपालमा सबैभन्दा धेरै पर्यटक भित्र्याएको र सबैभन्दा धेरै कर तिरेको भन्दै आर्थिक वर्ष २०७२–७३ र २०७४–७५ मा अर्थमन्त्रालयले हायातलाई पुरस्कृत गरेको थियो । होटलका जनसम्पर्क निर्देशक गोविन्दराम परियार यस वर्ष पनि हायातले सबैभन्दा पर्यटक भित्र्याएको र बढी कर तिरिरहेको दावी गर्छन् । देशभित्र विकासका केही नमूनाहरु देखाउनु परे वा ठूला उच्च स्तरका केही कार्यक्रमहरु गर्नु परे हायातले साथ दिइरहेको उनको भनाई छ । त्यसैले उनी यसलाई जोगाउन सबै लाग्नुपर्ने तर्क गर्छन । भन्छन्, “हायात पब्लिक प्राइभेट पार्टनरसिपको एक उच्च नमूना हो । यो कुनै व्यक्तिको मात्र नभई सिंगो राष्ट्रकै गौरव हो । त्यसैले देशका यस्ता नमूना संरचना जोगाउनु सबैको दायित्व हो ।” पछिल्लो समय केही मिडियाले गहिराईमा नगएर विवादास्पद समाचार लेखिदिएको उनको गुनासो छ । उनी भन्छन्, “हायातका बारे चाहिने सूचना हामी आफै दिन्छौ किनकि यो होटेल कुनै एक व्यक्ति, कुनै एक कम्पनीको मात्र होइन । यसमा नेपाल सरकार, अन्तराष्ट्रिय स्तरका बैंक, वित्तीय संस्था र सर्वसाधारणको करोडौ शेयर छ ।”
पाँच तारेमा राजपरिवारको एकलौटी रजाइँ तोड्दै यसरी सुरु भएको थियो हायात
होटल हायात तारागाउँ रिजेन्सी होटल्स लिमिटेड नाम पब्लिक कम्पनीले चलाइरहेको छ । कम्पनी रजिस्टार कार्यालयमा ०४९ सालमा यो कम्पनी स्थापना गरिएको थियो । जतिबेला पञ्चायति व्यवस्थाको जगजगीबाट देश मुक्त भएको थियो भने भर्खर देशमा निजी क्षेत्रका संरचनाहरु खुल्न थालेका थिए । एकातिर होटलहरुको ठूलो विकास नै नभएको, भएका ठूला होटेलहरु पनि सबै राजपरिवारबाटै चलेका बेला पब्लिक, प्राइभेट पार्टनरसीपमा व्यवस्थित पाँचतारे होटल खोल्न यो कम्पनी दर्ता भएको थियो ।
सोही लक्ष्य अनुरुप तत्कालीन मन्त्रिपरिषदले संयुक्त लगानीमा पाँचतारे होटेल खोल्न ग्लोबल टेन्डर आह्वान गर्यो । त्यसमध्ये सराफ तथा श्रेष्ठ समूहको प्रस्ताव उत्कृष्ट भएर छनौट भएपछि कम्पनी दर्ता गर्ने र अन्य सम्झौताका कामहरु अगाडि बढे । तत्कालीन मन्त्रिपरिषदले पर्यटन मन्त्रालय मातहतमा रहेको तारा गाउँ विकास समितिको स्वामित्वमा रहेको ३०४ रोपनी जग्गामा यो प्रोजेक्ट सुरु गर्न स्वीकृति दियो । तारागाउँको ३०४ रोपनी जग्गामध्ये पनि १५० रोपनी जग्गा मात्र होटल बनाउन प्रयोग भयो । बाँकी १५४ रोपनी जग्गा ४९ वर्षका लागि कम्पनीलाई भाडामा दिइयो । जुन जग्गा वापत अहिले पनि होटलले भाडा मात्र तिरिरहेको छ । होटलको सञ्चालक समितिमै रहेको भए पनि तारागाउँ विकास समितिकै कारण होटलले भाडामा लिएको त्यो जग्गालाई थप उपयोगमा ल्याउन सकेको छैन । होटल निर्माणमा लगाइएको १५० रोपनी जग्गा पनि त्यतिबेलाको मुल्याङ्कन गरी तारागाउँ विकास समितिले प्रति रोपनी १० लाखका दरले हुन आउने १५ करोड र सो जग्गामा रहेका केही पुराना घरहरु हटाउन थप २ करोड लाग्ने मुल्याङ्कन गरी १७ करोडको शेयर तारागाउँ रिजेन्सी होटल्स लिमिटेड कम्पनीमा तारागाउँले कायम गरेको थियो । कूल १ सय ५० करोड पुँजी तय गरिएको कम्पनीमा त्यतिबेला ७५ करोड शेयर लगानीबाट र ७५ करोड लोनबाट होटल निर्माण गर्ने निर्णय गरिएको थियो । यसरी सुरुमा तारागाउँको १७ करोड (२२.६७ प्रतिशत), संयुक्त लगानी साझेदार (श्रेष्ठ–सर्राफ परिवार)को २५ करोड ७५ लाख (३४.३३ प्रतिशत), सर्वसाधारण तथा अन्य गरी ३२ करोड २५ लाख (४३ प्रतिशत) शेयर जम्मा भएको थियो ।
देशमा पञ्चायति व्यवस्था फालेर प्रजातन्त्रको पुनस्र्थापना भए पनि २०४९ मा राजपरिवार शक्तिशाली नै थियो । ठूला पाँचतारे होटेलहरु प्राय राजपरिवारकै स्वामित्वमा थिए । त्यस्तो अवस्था २०४९ सालमा सुरु भए पनि २०५७ सालमा मात्र सञ्चालमा आउन सक्यो । एकातिर राजपरिवारको स्वामित्वमा रहेका पाँचतारे होटलसँग प्रतिस्पर्धा गर्नुपर्ने, अर्कोतिर देशभित्र सशस्त्र द्वन्द्वले पर्यटन आवागमन निकै कमी आएपछि होटल केही वर्ष चर्को घाटामा रह्यो । त्यस्तो बेला कम्पनीको शेयर बढाएर होटल जोगाउन पटक पटक प्रयत्न भए तर, सञ्चालक समितिमै रहेको सरकारको प्रतिनिधि संस्था तारा गाउँ विकास समिति भने पछि हट्यो ।
आखिर के हो शेयरको विवाद ?
होटलका जनसम्पर्क निर्देशक गोविन्दराम परियार विवाद भनेर प्रचारमा आएका कुराहरु सत्य नभएको बताउँछन् । निजी क्षेत्रलाई हतोत्साही बनाउन र जवरजस्त विवादमा तान्न यस्तो विवाद निकालिएको हुनसक्ने उनी आशंका गर्छन । उनी होटल सुरु गर्नेबेलादेखि अहिलेसम्म कसको कति कति शेयर छ र कसरी घटबढ भयो भन्नेबारेमा सबै पारदर्शी रहेको उनी बताउँछन् । त्यसका बारेमा चाहिने सूचना जतिबेला पनि दिन होटल तयार रहेको उनको भनाई छ । साथै उनी होटलमा तारागाउँ विकास समितिको शेयर कसरी घटेको हो भन्ने बारे यदि आवश्यक नै हो भने पर्यटन मन्त्रालयले छानविन गर्दा पनि हुने बताउँछन् ।
सुरु भएदेखि लगातार ६ वर्षसम्म व्यापार ठप्प भएको होटल शान्तिप्रक्रियापछि मात्र नाफामा गएको निर्देशक परियारको भनाई छ । उनी भन्छन्, “त्यति नै बेला अर्बौ लगानीमा निर्माण भएको पोखराको फूलबारी होटल बन्द अवस्थामा छ । त्यस्तै द्वन्द्वका कारण होटल नारायणी, शेर्पा होटल र ब्लुवर्ड होटल बन्द भए । ब्लू वर्ड, शेर्पा र नारायणी अहिले सपिङ कम्प्लेक्स्मा परिणत भएका छन् । तर सोही समयमा सुरुवात भएको हायात बैंकहरुलाई जुटाउन सकिएका कारण अहिले नाफामा पुग्न सफल भयो ।”
शेयर अनुपात तारागाउँको मात्र घटेको होइन श्रेष्ठ र सराफको पनि घट्यो, बैंक र सर्वसाधारणको बढ्यो
हायातमा अहिले सबैभन्दा बढी शेयर एशियाली विकास बैंक (एडिबी)सहित विदेशी र स्वदेशकै बैंकहरुको छ । त्यस्तै सर्वसाधारणको शेयर पनि बढेको छ । २०६४ बैशाख १० गते अग्राधिकार शेयरलाई २०७१ असार ३० गते साधारण शेयरमा परिणत गरेपछि हायातमा बैंक तथा वित्तीय संस्थाहरुको शेयर सुरुको ४३ प्रतिशतबाट बढेर ५४.७३ प्रतिशत पुगेको छ । बैंकको शेयर पनि आखिर सर्वसाधारणकै शेयर हो । तर, तारागाउँ विकास समितिको शेयर सुरुको २२.६७ प्रतिशतबाट घटेर ९.०१ प्रतिशतमा आएको छ भने श्रेष्ठ र सराफ समूहको शेयर पनि शुरुको ३४.३३ प्रतिशतबाट घटेर अहिले २६.०८ प्रतिशत हुन आएको छ । तर, यो अरुले शेयर बढाएपछि तारागाउँ र संयुक्त लगानी साझेदारको शेयर अनुपात मात्र घटेको हो ।
तारागाउँ र श्रेष्ठ–सराफ समूहको शेयर किन घटेको हो ?
होटल हायात व्यवस्थापनका अनुसार ऋण पुनर्तालिकिकरणको व्यवस्थाअनुसार २०६४ मा जारी अग्राधिकार शेयरलाई २०७१ मा सञ्चालक समितिले साधारण शेयरमा परिवर्तन गरेको थियो । जसबाट बैंक तथा वित्तिय संस्थाहरुको शेयर प्रतिशत बढ्न गयो भने संस्थापक र साधारण शेयरधनीहरुको शेयर प्रतिशत घट्न गएको हो ।
सुरुका ६ वर्ष होटल चर्को घाटामा गएका बेला होटलले बैंकहरुबाट ऋण थपेको थियो । होटलका जनसम्पर्क निर्देशक परियार भन्छन्, “त्यो ऋण र त्यसको ब्याजको असर पछिसम्म पर्यो । जब कम्पनी घाटामा चल्छ तब हकप्रद शेयरबाट पुँजी वृद्धि गर्नुपर्ने हुन्छ कि ऋण लिनुपर्ने हुन्छ । सोही अनुसार २०६३ सालमा हकप्रद शेयर खुल्ला गरियो । सञ्चालक समितिले २०६३ मा हकप्रद शेयर खुल्ला गर्दा तारागाउँ विकास समितिले शेयर किनेन । त्यतिबेला तारागाउँले १० करोड २० लाख बराबरको हकपद शेयर किन्नु पर्ने थियो । त्यसैगरी अरु पक्ष सबैले सोही अनुपातमा शेयर थप्नुपर्ने थियो । अरुले शेयर थपे पनि तारागाउँ भने पछि हट्यो । त्यतिबेला आआफ्नो दायित्वमा परेको शेयर किन्ने बैंक तथा वित्तीय संस्था र सर्वसाधारणको शेयर अनुपात बढ्यो भने नकिन्नेको स्वतः घट्यो । होटल लगातार घाटामा गइरहेका बेला आइसीटीसी र सराफ समूहले भने शेयर किनेर लगानी थपे । अरुले लगानी बढाउँदा त्यतिबेला तारागाउँले शेयर नकिनेका हुनाले उसको शेयर अनुपात २२.६७ प्रतिशतबाट घटेर १५ प्रतिशत आयो ।
२०६४ सालमा एशियाली विकास बैंक र कोरियन बैंकबाट लिएको ५८.६० करोड ऋण साधारण शेयर र ब्याज रकम मध्येको २१.२० करोड रकम अग्राधिकार शेयरमा परिवर्तन गरिएपछि बैंक तथा वित्तीय संस्थाहरुको शेयर अनुपात अझ बढ्यो ।
त्यतिबेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरूको सुझावअनुसार लगानी जुटाउन होटल सञ्चालक समिति हकप्रद सेयर निष्कासनको निर्णयमा पुगेको थियो । हकप्रद सेयर निष्कासनको प्रस्ताव तारागाउँ विकास समिति समेत रहेको सञ्चालक समितिले पारित गरेर पास गरेको हो । त्यहीबेला होटल सञ्चालन हुन नसक्ने अवस्थामा पुगेर गुज्रिरहेको अवस्थामा बैकहरूले हकप्रदमार्फत पुँजी थप्ने भएमात्र कर्जाको पुनरर्संरचना गरिदिने दवाव दिएको होटल व्यवस्थापनको भनाई छ । सोही अनुसार कम्पनीको चौथो वार्षिक साधारणसभाले ५ बराबर ३ अनुपातमा हकप्रद सेयर निष्कासन गरेर पुँजी ७४ करोड ४० लाख ८७ हजार ५ सय रुपैयाँबाट बढाएर १ अर्ब १९ करोड रुपैयाँ पु¥याउने प्रस्ताव पारित गर्यो । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले २०६२ माघ २५ गते साविकका सेयरधनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको थियो ।
सभाको निर्णयअनुसार होटलले २०६२ फागुन २२ गते संस्थापक सेयरधनी तारागाउँ विकास समितिलाई ५ बराबर ३ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएकाले २२।६७ प्रतिशत स्वामित्व अर्थात १० करोड २० लाख रुपैयाँ बराबरको १० लाख २० हजार कित्ता हकप्रद सेयर खरिद गर्न समितिलाई पत्राचार गर्यो । कम्पनीले २०६३ असार २२ गतेदेखि साविकका सेयरधनीलाई हकप्रद सेयर निष्कासन गरेको थियो । हकप्रद सेयर २०६९÷०७० सम्म खुला गरिएको थियो । तर, तारागाउँले हकप्रद सेयर लिन मञ्जुर गरेन । तारागाउँ विकास समितिले आफ्नो भागको हकप्रद सेयर लिएको भए संस्थापक समूह बीच ९तारागाउँ र निजी क्षेत्र० को सेयर लगानी अनुपात यथावत नै रहने थियो ।
त्यतिबेला संस्थापक सेयरधनी तारागाउँले १० करोड २० लाख, सराफ परिवारले ११ करोड ७ लाख, श्रेष्ठ परिवारले ७ करोड ३८ लाख, हायत रिजेन्सीले १ करोड १४ लाख, एडीबीले ४ करोड २५ लाख, एसियन फाइनान्स एण्ड इन्भेष्टमेन्ट कर्पोरेशनले ३ करोड ४० लाख र सर्वसाधारणबाट ७ करोड २० लाख रुपैयाँ संकलन गर्ने निर्णय पारित भएको थियो ।
तारागाउँ विकास समितिलाई हकप्रद सेयर खरिदका लागि कम्पनीले २०६३ माघ १५, २०६३ चैत ८, २०६४ असार ८, २०६४ साउन २, २०६४ साउन १६, २०६५ भदौ ४ र २०६६ चैत चैत ६ गते समितिलाई पत्र पठाएरै हकप्रद सेयर खरिदका लागि अनुरोध गरेको थियो । तर समितिले त्यति गर्दा पनि शेयर खरिद गरेन ।
होटलका जनसम्पर्क निर्देशक परियार हकप्रद सेयर जारीपछि कम्पनीको पुँजीको आकार ७४ करोड ४० लाखबाट बढेर १ अर्ब ८ करोड ९० लाख रुपैयाँ पुगेको बताउँछन । तारागाउँले हकप्रद सेयर खरिद नगरेपछि कम्पनीमा उसको स्वामित्व २२।८५ बाट घटेर १५।६२ प्रतिशतमा झरेको थियो । हकप्रद सेयर भरेपछि सराफ र श्रेष्ठ परिवारको स्वामित्व ४१।३३ बाट बढेर ४५।२०, सर्वसाधारणको १६।१३ बाट बढेर १७।६४ र बैंक तथा वित्तीय संस्थाको १९।७० बाट बढेर २१।५५ प्रतिशत पुगेको थियो ।
हकप्रद सेयर निष्कासन भइसकेपछि नियम अनुसार कर्जाको पुर्नतालिकीकरण गरियो । कर्जाको पुर्नरतालिकीकरणमा भएको व्यवस्था अनुसार २०६४ बैशाख १० गते ५८ करोड ६० लाख रुपैयाँ ऋण र ब्याज मध्येको केही रकम २१ करोड २० लाख रुपैयाँ सेयरको रुपमा बैंकले सकारेपछि कम्पनीमा बैंक तथा वित्तीय संस्थाको स्वामित्व बढन गयो र सर्वसाधारण समेत जम्मै सेयर धनीहरूको अंश घट्न गयो । त्यसपछि तारागाउँको स्वामित्व १५।६२ बाट घटेर १०।१५ प्रतिशत, सराफ र श्रेष्ठ परिवारको ४५।२० बाट घटेर २९, सर्वसाधारणको १७।६४ बाट घटेर ११।४७ र बैंक तथा वित्तीय संस्थाको २१।५५ बाट बढेर ४९ प्रतिशत पुगेको होटलका निर्देशक परियारको भनाई छ ।
त्यसपछि २०६४ वैशाख १० गते जारी गरिएको अग्राधिकार सेयरलाई २०७१ असार ३० गते साधारण सेयरमा परिणत गरिएपछि तारागाउँको शेयर अनुपात १०।१५ बाट घटेर ९ प्रतिशत कायम भयो । त्यस्तै त्यसपछि संयुक्त साझेदार आइसीटीसी र सराफ परिवारको शेयर अनुपात घटेर २६।८ कायम भयो । त्यस्तै सर्वसाधारणको शेयर १०।१८ कायम भयो भने बैंक तथा वित्तीय संस्थाको शेयर अनुपात बढेर ५४।७३ प्रतिशत कायम भयो । यो सबै गर्दा कम्पनीको पुँजी बढेर १ अर्ब ८८ करोड ६६ लाख रुपैयाँ पुगेको छ । जसमा बैंक तथा वित्तीय संस्थाको स्वामित्व बढेर १ अर्ब ३ करोड २६ लाख रुपैयाँ पुगेको छ । श्रेष्ठ र सराफ परिवारको ४९ करोड २० लाख, सर्वसाधारणको १९ करोड २० लाख, तारागाउँको १७ करोड रुपैयाँ बराबरको स्वामित्व कायम भएको छ ।