बढ्यो अझै चिसो, काठमाडौँको तापक्रम ०।५ डिग्रीमा झर्‍यो

काठमाडौँ, १६ पुस । काठमाडौँको तापक्रम शून्यको आसपासमा पुगेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ०.५ डिग्री मापन भएको छ ।

मौसमविद राजु प्रधानाङ्गका अनुसार ठ्याक्कै कति बेला ताफक्रम ०.५ डिग्री पुग्यो भन्न नसकिए पनि बिहान ५ देखि पौने ९ बजेको बिचमा न्यूनतम तापक्रम शून्यको आसपासमा पुगेको हो । केही दिनदेखि एक डिग्रीको पेरिफेरिमा रहेको तापक्रम अझ घटेको हो ।

सोमबार बिहान मापन भएको तापक्रम यो वर्षकै कम हो । तर तापक्रम अझै कम हुने सम्भावना रहेको मौसमविद प्रधानाङ्गले बताए । यस्तै सोमबार दिनभर मौसम सफा रहनेछ ।

दिउँसो तापक्रम १६ देखि १८ डिग्रीसम्म पुग्ने सम्भावना छ । तर मंगलबार बेलुकादेखि भने मौसममा बदलाव आउने छ । बुधबार बदली भई देशका केही ठाउँमा पानी पर्ने र उच्च पहाडी क्षेत्रमा हिउँ पर्ने सम्भावना रहेको विभागले जनाएको छ ।

Loading...