डिग्री प्रकरणमा ‘आप’को हार

प्रधानमन्त्रीसित स्नातक र स्नातकोत्तर तहको डिग्री छैन भन्ने ‘आप’को कथित आरोप र सरकारका तर्फबाट उनका सर्टिफिकेटहरू देखाइनुले हामीलाई यस्तै प्रकारको अर्को एक घटनाको पनि सम्झना दिलाउँछ । सन् २००८ मा अमेरिकी राष्ट्रपति पदको चुनावका लागि अभियान सुरु हुनासाथ बाराक ओबामामाथि उनी नैसर्गिक रूपमा अमेरिकामा जन्मेका नागरिक होइनन् भन्ने आरोप लागेको थियो । आरोप लाग्नासाथ कैयौँ रुढिवादी समूह ओबामासित जन्म प्रमाणपत्र माग गर्न थाले । ओबामाको प्रचार अभियान चलिरह्यो । उनका स्टाफले जन्म प्रमाणपत्र जारी गरे, जो हवाईको स्वास्थ्य विभागबाट प्राप्त गरिएको थियो । हवाईका सरकारी अधिकारीले पनि सो जन्म प्रमाणपत्र बकाइदा सक्कली हो भनेर पुष्टि गरे । जोसुकैलाई लागेको थियो, विवाद समाप्त भयो । तर, यस्तो भएन । मिडियाको तर्फबाट प्रमाणपत्रको सत्यता जाँच गर्ने कैयौँ स्वतन्त्र प्रयासका बाबजुद पनि विरोधीले षड्यन्त्रको स्वर उचालिरहे भने जनताले पनि खुलेआम भरोसा देखाइरहे । ओबामाको यो जन्म प्रमाणपत्र सन् २००८ मा जारी गरिएको थियो । हवाईको स्वास्थ्य विभागले मूल दस्तावेजका आधारमा यसको पुष्टि गर्‍यो । विभागले सन् २०११, अप्रिलमा ओबामाको जन्म प्रमाणपत्रको विस्तारित रूपको मूल प्रमाणीकृत पत्र जारी गरेको थियो ।
भारतमा पनि कुनै अलग विषय थिएन । ‘आप’ जो कुनै समय उच्च मूल्यको दाबी गथ्र्यो, अब गलत हल्ला फैलाउनाले बदनाम भएको छ । सामान्य चियावाला भएको मोदीको पृष्ठभूमिले यस्तो हल्ला फैलाउन सहज भयो । उच्च धनीमानी वर्ग र मोदीलाई घृणा गर्नेहरूलाई त मोदीजस्ता सामान्य चियावालासित पोस्टग्य्राजुएटको प्रमाणपत्र हुनै सक्दैन भन्ने लाग्नु ठीकै हो । ठीक यसैगरी ओबामालाई मन नपाराउनेहरूलाई पनि एक अश्वेत कहिल्यै अमेरिकी हुन सक्दैन भन्ने लागेको थियो । प्रधानमन्त्रीको शैक्षिक उपाधि चार दशकअघि जारी गरिएको थियो, जतिखेर इलेक्ट्रोनिक रेकर्डको कुनै व्यवस्था थिएन । यसले गर्दा पनि भ्रम फैलाउन सजिलो भयो । हल्ला फैलिरह्यो । मिडियाले पनि यसमा साथ दियो । जसले गर्दा प्रधानमन्त्रीसित सीधा टक्कर लिन चाहने ‘आप’का नेताहरूलाई टिभीमा प्राइम टाइममा स्थान प्राप्त भयो । यस्तो समयमा प्रधानमन्त्री कार्यालयलाई कुनै रणनीति बनाउन कठिन हुन्छ । जे–जस्ता हल्ला चल्छन्, त्यसको खण्डन गर्दै या प्रतिक्रिया दिँदै आफ्नो बचाउमा उत्रिने हो भने आरोप लगाउनेहरूलाई थप विश्वसनीयता प्राप्त हुन्छ, जसको उनीहरू अलिकति पनि हकदार हुँदैनन् । तर, हल्ला धेरै चलिसकेपछि त्यसलाई थाहा नपाएजस्तो गरेर मौन बस्न पनि कठिन हुन्छ । ओबामाले पद सम्हालिसक्दा पनि हल्ला शान्त भएको थिएन । अन्त्यमा ओबामाले क्लासिक कदम उठाउँदै आफ्नो ‘बर्थ भिडियो’ ह्वाइटहाउसमा भएको संवाददाताहरूको भोजमा देखाइदिए । जो यथार्थमा ‘लायन किङ सिम्बा’को जन्मको एनिमेटेड क्लिप थियो । उनले हास्यको उपयोग गरेर उनले छेउ न टुप्पोको दाबीलाई ध्वस्त गरिदिए ।
यता, भाजपा सरकारले प्रेस कन्फ्रेन्समार्फत प्रतिक्रिया व्यक्त गर्‍यो, जसलाई पार्टी अध्यक्ष तथा वित्तमन्त्रीजस्ता हस्तीहरूले सम्बोधन गरे । यो त केही बढी नै भयो । यसबाट ‘आप’का शीर्ष नेताहरूबाट प्रतिक्रिया हासिल गर्नुको सन्तोष प्राप्त भयो । उनीहरू यही चाहन्थे । ‘आप’लाई सीधा जवाफ दिनुको साटो हास्यको उपयोग गर्नु राम्रो हुने थियो । यथार्थमा कन्फ्रेन्समा प्रधानमन्त्रीले आफ्नो नर्सरीको रिपोर्टकार्डका साथमा डिग्री पेस गरेको भए षड्यन्त्रको गाथा रच्नेहरूको मुख बन्द हुने थियो । निश्चय नै उनीहरू छिट्टै चुप पनि लागेनन् । जब उपाधि जारी गरियो, तब ‘आप’का नेताहरूले यसलाई नक्कली भएको बताए । ‘आप’ ले यसको पुष्टिका लागि कुनै जाँच गर्नु आवश्यकसम्म ठानेन, कि सो उपाधि साँच्चै नक्कली थियो ? तार्किक ढंगले सोच्ने हो भने पदमा बसेको प्रधानमन्त्री कसैले चिच्याईचिच्याई आरोप लगायो भन्दैमा किन नक्कली प्रमाणपत्र पेस गर्दो हो ? कुनै प्रधानमन्त्री किन यस्तो जोखिम मोल्दो हो ?
सबैभन्दा राम्रो आरोप त्यो हुने थियो, जसमा सत्यको अत्यन्तै थोरै सम्भावना होस् । तर, हमलाको निसानामा परेका व्यक्तिका लागि यसलाई गलत साबित गर्न कठिन होस् । ‘आप’ले मलाई आरोप लगाउन सक्छ, यस लेख लेख्न भाजपाले मलाई पैसा दिएको छ । वास्तवमा कुनै राजनेताले कहिल्यै, कुनै पनि कामका लागि मलाई पैसा दिने प्रयास गरेको छैन । सायद हुनसक्छ म कुनै कामको लायक नै छैन । यस लेखको प्रकाशनपछि सायद सोसल मिडियामा ममाथि हमला हुनसक्छ । म धेरैको निसाना पनि बन्न सक्छु । एउटा उदाहरण पेस गरिहालुँ, इटालीका जानेमाने राजनेताहरूको अझै पनि त्यहाँको माफियासित सम्पर्क छ ? यसलाई कसैले सिद्ध गरेको छैन । तर सम्भव त छ नि । कसैमाथि हमला गर्नका लागि कुनै विषयलाई अब प्रमाणित गरिरहनु आवश्यक छैन । सम्भावनाको सामान्य आधार नै पर्याप्त हुन्छ । यदि प्रधानमन्त्रीले आफ्नो डिग्रीको थप प्रमाण पेस गरेका थिए भने ‘आप’ले उनीमाथि आक्रमण जारी नै राख्ने थियो । किनकि, उनी प्रधानमन्त्री हुन् । उनी प्रिन्टिङ प्रेसबाट जे छपाउन चाहन्छन्, त्यही छाप्ने आदेश दिन सक्दैनन् र ? के उनले युनिभर्सिटीको सम्पूर्ण कर्मचारीबाट आफूले जे चाहन्छन्, त्यही भनाउन सक्दैनन् र ?
जे होस्, यस प्रकरणले हामी सबैलाई पाठ पनि पढाएको छ । हामी नागरिक र मिडियाले यस विषयको विश्वसनीयतामाथि सावधानी अपनाउनैपर्छ । यदि हामी यस्ता विषयमा समय बर्बाद गर्छौंं भने देश सवा करोड जनतालाई बेवास्ता गरिरहेका हुनेछौँ, जसका अनेक समस्या साँच्चै सक्कली हुन् । यो प्रकरण ‘आप’ र उनका समर्थकहरूका लागि पनि एउटा पाठ हो । म उसको शुभचिन्तक (म हरेक दलको शुभचिन्तक हुँ)का रूपमा यो भन्न चाहन्छु कि ‘आप’ले आफ्नो प्रचार रणनीतिमाथि पुनर्विचार गर्नु आवश्यक छ । लोकप्रिय हुनु महत्त्वपूर्ण छ । तर, यो यति मूल्यवान् हुँदैन, जसलाई तपाईं आफ्नो विश्वसनीयता गुमाएर पनि प्राप्त गर्नुहोस् । राष्ट्रपति ओबामाले जन्म प्रमाणपत्र देखाएपछि पनि जो हमला भइरह्यो, त्यो केवल छिटफुट विक्षिप्त गुटहरूका तर्फबाट मात्र भए । त्यसैले प्रधानमन्त्रीको डिग्री प्रकरणमा आपलाई एक राम्रो सल्लाह दिन चाहन्छु, यसलाई बन्द गर्नुहोस् । यसले ‘आप’लाई तपाईंहरूको कल्पनाभन्दा बढी नोक्सानी पुर्‍याइरहेको छ ।

(भगत भारतका चर्चित युवा उपन्यासकार हुन्)

Loading...