भियतनाम-अमेरिका : पहिले शत्रु, अहिले मित्र

सिनेटर जोन म्याक्केनसँग केही वर्षअघि भियतनामको भ्रमण गर्दा मैले दुईवटा पूर्वशत्रुबीचको सम्बन्ध कति वर आइपुगेको छ भन्ने अनुभूति गरेको थिएँ । त्यहाँको होऊ लो जेलका अँध्यारा कक्षहरूले लामो र तितो युद्धका स्मृतिहरू ल्याइदिएको थियो ।
तर, भियतनामीको ठूलो हिस्सा तथा भियतनाम सरकारको दृष्टिकोण बितेका कालतिर होइन, भविष्यतिर थियो । अहिले राष्ट्रपति बाराक ओबामा एक दशकयता भियतनामको भ्रमण गर्ने पहिलो राष्ट्रपति बनेका छन् । उनले तीव्र रूपमा परिवर्तन भइरहेको र अमेरिकासँग अभूतपूर्व सम्बन्ध विस्तार गर्न खोजिरहेको देशको सामना गनुपर्नेछ ।
भियतनाममा भइरहेको परिवर्तनको गतिले केही ऐतिहासिक विडम्बनाहरू प्रस्तुत गर्छ । पहिलो, एक वर्षअघि भएको थियो, जब भियतनामको सत्ताधारी पार्टीका महासचिव ग्युएन फु ट्रोङले अमेरिकाको भ्रमण गरेका थिए । उनले अमेरिकाको चेम्बर अफ कमर्समा दिएको सम्बोधनमा मैले पनि भाग लिएको थिएँ । सोभियत संघमा अध्ययन गरेका र आफ्नो देशको कम्युनिस्ट समीक्षाको सम्पादन गरेका कम्युनिस्ट पार्टीको महासचिवले बजार पुँजीवादको जगमा स्वतन्त्र व्यापारको वकालत गरेका थिए ।
नयाँ भियतनाम यस्तै छ । ट्रान्स–प्यासिफिक पार्टनरसिपको एउटा सदस्य भियतनामको आर्थिक वृद्धिदर ७ प्रतिशत छ । यसको निर्यातको वृद्धिदर पनि बढिरहेको छ । यससँग ठूलो र बढिरहेको युवा जनसंख्या छ । र, बढ्दो क्षेत्रीय तनावबीच भियतनामको नेतृत्व अमेरिकाको जस्तै छ जो चीनको आक्रमकतालाई चासोका साथ हेरिरहेको छ ।
त्यसकारण ओबामाको भ्रमणले ठूलो अर्थ राख्छ, र यसले युद्धबाट बाहिर आएको अर्को कदम तथा साझेदारीको प्रतिनिधित्व गर्छ । तर, राष्ट्रपति भियतनामबाट प्रस्थान गरेपछि के हुन्छ भन्ने विषय महत्त्वपूर्ण हुन्छ ।
ओबामा प्रशासनले भियतनामलाई घातक हतियार बेच्न लगाएको प्रतिबन्ध हटाउने अपेक्षा गरिएको छ । रुसी प्रणालीमा रहेको भियतनामको विरासत र सीमित रक्षा बजेटका कारण वासिङ्टनले उसको रक्षा क्षमता विस्तार गर्न सहयोग गर्नुपर्छ । अमेरिकाले सामुद्रिक सुरक्षा पहलकदमीअन्तर्गत ४.२५ अर्ब अमेरिकी डलर खर्च गर्ने घोषणा गरेको छ । २०१४ मा चिनियाँ तेल निकाल्ने जहाज भियतनामको आर्थिक क्षेत्रभित्र छिरेको पृष्ठभूमि हेर्दा भियतनामलाई समुद्रसँग सम्बन्धित सहयोग चाहिने देखिन्छ ।
तेल निकाल्ने जहाज फिर्ता हुनुअघि चिनियाँ जहाजको गतिविधिमाथि भियतनामले गर्न खोजेको कारबाहीलाई चिनियाँ जहाजले असफल बनाइदियो । भियतनामी डुंगामाथि आक्रमण गर्‍यो र एउटा त डुबाइदियो । आवातजावतमा चीनको धम्की तथा उसको दक्षिण चिनियाँ सागरको अधिकांश क्षेत्रमा रहेको दाबीलाई मध्यनजर राख्दा नयाँ आक्रामकताको सामना गर्न अमेरिकालाई भियतनामजस्ता पार्टनरलाई सहयोग गर्ने इच्छा छ ।
राष्ट्रपतिको भ्रमणका क्रममा अमेरिकी जलसेनाले भियतनामका बन्दरगाहहरूमा पहुँच स्थापित गर्ने विषयमाथि छलफल हुने सम्भावना छ । त्यसपछि वासिङ्टनले यी बन्दरगाहहरू अमेरिकी पोतहरूलाई मात्र होइन, अन्य मित्र सैन्यहरूलाई पनि प्रयोग गर्न दिन प्रोत्साहित गर्नुपर्छ । भियतनामले क्याम रान्ह खाडीमा रहेको दक्षिणपूर्वी एसियाकै उत्कृष्ट तथा युद्धका वेला अमेरिकी सेनाको केन्द्र रहेको बन्दरगाहमा अन्तर्राष्ट्रिय सुविधा स्थापित गरेको छ ।
एसियामा पेन्टागनको पछिल्लो सुरक्षा जालोमा भियतनामको ठूलो भूमिका छ । त्यसो त एक वर्षभित्र हनोईले जापान, अस्ट्रेलिया, सिंगापुर र फिलिपिन्ससँग रक्षा सम्बन्धलाई बढाएको छ । चीनले यस क्षेत्रमा बढाइरहेको अस्थिरताको चुनौती सामना गर्न यी विकासक्रमको ठूलो महत्त्व छ । यसका अतिरिक्त अन्य केही द्विपक्षीय एजेन्डा पनि छन् । अमेरिकी कंग्रेसले या त ट्रान्स–प्यासिफिक पार्टनरसिप सम्झौता पारित गर्नुपर्छ या एसियामा अमेरिकाको रणनीतिक स्थानमा ठूलो धक्का सामना गर्न तयार हुनुपर्छ ।
भियतनामी नेताहरूले पनि बुझ्नुपर्छ, उनीहरूको एकतन्त्रले अमेरिकासँग अझ निकट सम्बन्ध बनाउन बाधा गर्नेछ । र, अमेरिकाले शब्द र व्यवहार दुवैमा एसियामा आफ्नो उपस्थिति स्थायी हो भन्ने प्रदर्शन गर्नुपर्छ । यस सन्दर्भमा अमेरिका र भियतनामबीच बढिरहेको न्यानोपनले विशेष प्रभाव पार्न सक्छ । राष्ट्रपति ओबामाको भ्रमणले नयाँ अध्याय लेख्ने अवसर दिएको छ ।
(फोन्टेइन वासिङ्टनस्थित सेन्टर फर न्यु अमेरिकन सेक्युरिटीका अध्यक्ष हुन्)

Loading...